विद्यार्थीलाई सार्वजनिक यातायातमा ४५ प्रतिशत भाडा छुट दिन यातायात विभागको निर्देशन

दियोपोस्ट संवाददाता  

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनमा विद्यार्थीहरूलाई दिइँदै आएको ४५ प्रतिशत भाडा छुट अनिवार्य रूपमा लागू गर्न पुनः निर्देशन दिएको छ। विभागले यातायात व्यवसायी तथा सरोकारवाला निकायहरूलाई परिपत्र जारी गर्दै उक्त सहुलियतको पूर्ण पालना गर्न आग्रह गरेको हो।

यस सन्दर्भमा विभागले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र साझा यातायात सहकारी संस्था लिमिटेडलाई पत्राचार गर्दै विद्यार्थीहरूको कानुनी अधिकार सुनिश्चित गर्न सचेत गराएको जनाएको छ।

इन्धनको मूल्य वृद्धि पछि केही सार्वजनिक सवारीहरूले विद्यार्थीहरूलाई तोकिएको छुट नदिएको गुनासो बढ्दै गएको छ। ‘हेलो सरकार’ र गुनासो पेटिकामार्फत विद्यार्थीहरूले छुट नपाएको विषयमा उजुरी दिने क्रम निरन्तर रहेको विभागले जनाएको छ।

यस्तै, परिचयपत्र देखाउँदा पनि चालक तथा सहचालकहरूले छुट दिन अस्वीकार गर्ने तथा दुर्व्यवहार गर्ने घटनाहरू सार्वजनिक भएपछि विभागले पुनः ध्यानाकर्षण गराएको हो।

विभागले २०६५ फागुन २० गते सरकार र यातायात व्यवसायीबीच भएको सहमति सम्झाउँदै सोही आधारमा विद्यार्थीहरूले ४५ प्रतिशत छुट पाउँदै आएको स्पष्ट पारेको छ।

यदि कुनै सवारीसाधनले परिचयपत्र भएका विद्यार्थीलाई छुट दिन अस्वीकार गरेमा सम्बन्धित पक्षविरुद्ध कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत विभागले दिएको छ।

सिफारिस