शनिबारको सूर्योदय, थापाथलीस्थित बागमती किनारका सुकुम्बासीहरूका लागि कुनै नयाँ आशा लिएर आएन। बरु, बिहानैदेखि एउटा नमीठो कोलाहलले बस्तीलाई घेर्यो।
सरकारको डोजरले वर्षौंदेखि ओत दिएका छाप्राहरू छिनभरमै भग्नावशेषमा बदल्दै गर्दा त्यहाँको वातावरण हताशा र अन्योलले भरिएको थियो।

केहि स्थानीयहरू सामान जोगाउन व्यस्त थिए, केहि सामान लोड गर्ने तयारिमा थिए भने केहि अब कहाँ जाने भन्ने पीरले स्तब्ध थिए।
यस्तो चटारोको बीच पनि, केहि आमाहरू भत्किरहेको टहरासामू कोक्रोमा नानीलाई सुताएर खाना बनाइरहेका पनि देखिन्थे। उनीहरूको अनुहारमा न त सरकारको आश्वासनको चमक थियो, न त भविष्यको कुनै भरोसा। बस्, खाना पकाउने समय घर्किन लागिसकेको थियो र पेटमा भोक थियो।

कतिपय आमाहरूका हातहरू चामल निफन्न होइन, भग्नावशेषको धुलोबाट नानीको दूधको बट्टा खोज्न व्यस्त थिए। चुल्होबाट निस्किएको धूवाँ र डोजरले उडाएको धूलोको मिश्रणले पिरो भइरहेका ती आमाहरूको आँखामा, कोक्रोमा निदाइरहेको नानी ब्युझिन्छ कि भन्ने एउटा मसिनो त्रास पनि देखिन्थ्यो।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगर प्रहरीको ठूलो दलबलले बस्ती घेरेको थियो। मानिसहरू मात्र होइन, त्यहाँ पालिएका पशुचौपायाहरू पनि डोजरको गर्जनले तितरबितर भइरहेका थिए। सुरक्षा घेरा यति कडा थियो कि मिडियालाई समेत भत्किरहेका घरटहराको नजिक पुग्न र स्थानीयको पीडा सुन्न सहज थिएन। सहजरुपमा दिइएको थिइएन।

एक फरक दृश्य:
थापाथलीको हृदयविदारक भागदौड र चटारोको बीच एउटा दृश्य यस्तो पनि देखियो, जसले त्यहाँको कठोर सैन्य र प्रशासनिक बललाई समेत गिज्याइरहेझैँ लाग्थ्यो।
एउटा रातो कपडाको पोको (जसमा त्यो परिवारको सारा जायजेथा र स्मृतिहरू अटाएको थियो), त्यसैमा अडेसिएर बसेकी थिइन् एउटी बालिका।
उनको वरिपरि भीमकाय डोजरहरूको गर्जन थियो, सुरक्षाकर्मीहरूको बुटको आवाज थियो, मिडियाकर्मीहरूको झल्याकझुलुक थियो, रमितेहरूको बाक्लो उपस्थिति थियो। र मुख्य कुरा, एउटा सिङ्गो बस्ती तासको महलझैँ भत्किँदै थियो। तर, ती बालिका भने यो सारा प्रलयबाट अलग, आफ्नै एउटा सानो र काल्पनिक संसारमा हराइरहेकी जस्ती देखिन्थिन्।
उनका कलिला हातहरू आफ्नै खुट्टामा बाँधिएका चाँदीका पाउजुसँग खेलिरहेका थिए। उनलाई न त ‘घरबारविहीन’ हुनुको अर्थ थाहा थियो, न त भोलि बिहानको गाँस र बासको चिन्ता।
उनका लागि यो उथलपुथलको क्षणमा पनि ती पाउजु र त्यसबाट निस्कने मधुर धुन नै संसारको सबैभन्दा सुरक्षित र मूल्यवान् वस्तु भए जस्तो देखिन्थ्यो।
उनी वरिपरी कसैलाई हेरिरहेकी थिइनन्, कसैको कुरा सुनिरहेको जस्तो पनि देखिदैन थिइन। बस्, आफ्ना खुट्टाहरू पालै-पालो हावामा उचाल्थिन र पाउजुको झुम्कासँग झुमिरहेकी थिइन्।

उनको खुट्टा रहेको त्यो सानो पाउजुको ‘छमछम’ आवाज भीमकाय डोजरको फलामे दाँतहरूले ढुङ्गा-माटो-जस्ता चपाउँदा निस्कने कर्कश ध्वनिभन्दा कता हो कता बलियो सुनिन्थ्यो। मानौँ, त्यो सानो संगीतले एउटा विशाल विनासलाई चुनौती दिइरहेको थियो।
पाउजुका झुम्काहरू चलाउँदै गर्दा उनको अनुहारमा देखिएको त्यो ‘मौनतामिश्रित बेफ्रिकीपन’ वास्तवमा बाहिरी कठोर वास्तविकताबाट बच्ने एउटा मानसिक रक्षात्मक कवच जस्तो देखिन्थ्यो।

मनोवैज्ञानिकहरूका अनुसार, बाल्यकालमा डोजरको आवाज, प्रहरीको दलबल र अभिभावकको रोदन देख्दा बच्चाको मस्तिष्कमा ‘पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर’ (PTSD) सिर्जना हुन सक्छ। ती बालिकाले जुन बेवास्ताका साथ पाउजुसँग खेलिरहेकी थिइन्, त्यो सायद यो भयानक दृश्यलाई नकार्न खोज्ने एउटा अबोध प्रयास थियो कि ?
यी प्रश्नहरूको उत्तर ठ्याक्कै थाहा नभए पनि, एउटा कुरा पक्का थियो- “आज उनले आफ्नो खेलौना र खेल्ने ठाउँ मात्र होइन, आफ्नो बाल्यकालको ठेगाना पनि सधैँको लागि गुमाएकी छिन्।”
उनका ती अबोध आँखाहरूले गिज्याइरहेको यो विकासको मूल्य कति हो? र, त्यो पाउजुको छमछमभित्र दबिएको त्रासले भोलि कुन रूप लिने हो? यो भने अहिलेसम्म यस सरकारले भन्न सकेको छैन।
यो नभनिकन सरकार अहिले सिनामंगल र गैह्रीगौं डोजर लिएर पुगिसकेको छ।

विगतमा भूमि आयोगहरू राजनीतिक अस्थिरताका कारण विघटन भइरहे। बालेन शाहले मेयर हुँदा लगत संकलन गर्ने सम्झौता गरे पनि काम अघि बढाएनन्। अहिले प्रधानमन्त्रीका रूपमा उनी विधि र प्रक्रिया मिचेर पहिले बस्ती खाली गराउने र त्यसपछि मात्र लगत संकलन गर्ने नीतिमा देखिन्छन्।

त्रिपुरेश्वरमा विवरण संकलन गर्नेहरूको सूचीमा ती बालिकाको नाम एउटा ‘संख्या’ मात्र बन्ला, तर उनको त्यो अबोध आँखाहरूले उब्जाएको प्रश्नको उत्तर राज्यसँग हालसम्म छैन। बागमतीको किनारबाट सामानको एउटा पोको र खुट्टामा झुम्किरहेको पाउजुको आवाज बोकेर निस्कँदै गर्दा, उनलाई थाहा छैन, आजको रात कुन नयाँ खुला आकाशमुनि उनको निद्राले ओत खोज्नेछ।
भोलि बागमती पनि सफा होला, सहर पनि ‘सभ्य’ देखिन थाल्ला। तर, भौतिक लाभ र सहरी सौन्दर्यको हिसाबकिताब गर्ने राज्यले ती अबोध बालिकाको मानसपटलमा परेको यो अन्योलको डोबको मूल्य कहिले र कसरी चुकाउला? यो प्रश्न प्रदूषित बागमतीको धमिलो पानीसँगै बगिरहेको छ।

फोटो: प्रकाश बिसी/दियोपोस्ट