जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

राजेन्द्र भट्ट  

काठमाडौँ: नेपालले जर्मनीको हाइडलबर्ग विश्वविद्यालयस्थित साउथ एसिया इन्टिच्युटमा रहेका नेपालका १३औँ शताब्ददेखि सन् १९५० सम्मका ऐतिहासिक पाण्डुलिपिहरूको महत्त्वपूर्ण सङ्ग्रह नेपाल फर्काउने भएको छ। 

बर्लिनस्थित नेपाली दूतावास हाइडेलबर्ग विश्वविद्यालयबीच  गत बिहिबार (वैशाख १० गते विशेष समारोहकाबीच उक्त ऐतिहासिक महत्वको सामग्री नेपाललाई हस्तान्तरण गर्ने महत्वपूर्ण सम्झौता भएको हो।  

नेपाली राजदूतावास, बर्लिनका कार्यवाहक राजदूत सागरप्रसाद फुयाल र इन्टिच्युटका संस्कृतिविद् प्रा.डा. आक्सेल मिखाइल्स

सम्झौतामा नेपाली राजदूतावास, बर्लिनका कार्यवाहक राजदूत सागरप्रसाद फुयाल र इन्टिच्युटका संस्कृतिविद् प्रा.डा. आक्सेल मिखाइल्सले हस्ताक्षर गरे। यस महत्त्वपूर्ण सम्झौतासँगै, नेपालले जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ ऐतिहासिक पाण्डुलिपिहरू प्राप्त गर्ने भएको हो।

सम्झौता समारोहमा, दक्षिण एशियाली संस्थानका प्रमुख प्रोफेसर डा. हान्स हार्डर र प्रोफेसर डा. क्रिस्टियान ब्रोसियसले  विशेष गरी २०१५ को भूकम्प पछिको सन्दर्भमा, अभिलेखहरू अर्काइभ गर्ने र संरक्षण गर्ने प्रयासहरूको प्रशंसा समेत गरे।

समारोहमा हाइडेलबर्ग विश्वविद्यालयको दक्षिण एसियाली संस्थानका अनुसन्धानकर्ताहरू डा. मणिक बज्राचार्य र डा. राजन खतिवडाले रिन्डफ्लीश सङ्ग्रह प्राप्त गर्ने, सूचीकरण गर्ने, संरक्षण गर्ने र पुनर्स्थापना गर्ने कार्य प्रक्रियाबारे जानकारी गराएका थिए।

दूतावास र हाइडेलबर्ग विश्वविद्यालयले शैक्षिक र सांस्कृतिक सहयोगलाई थप सुदृढ बनाउने साझा प्रतिबद्धता व्यक्त गरेका छन्। दुवै पक्षले सांस्कृतिक सम्पदाको संरक्षण र नेपाल र जर्मनीबीचको जनता-जनताबीचको सम्बन्ध अभिवृद्धि गर्ने महत्त्वलाई दोहोर्‍याएका छन्।

समारोहमा हाइडेलबर्ग विश्वविद्यालयका प्रतिनिधिहरू, विद्वानहरू, विद्यार्थीहरू र सञ्चारकर्मीहरूको उपस्थिति थियो। समारोहमा प्रथम सचिव श्री रञ्जन यादव र तृतीय सचिव श्री दिपेन्द्र प्रसाद साहको पनि उपस्थिति रहेको थियो।

वाल्टर रिन्डफ्लीश सङ्ग्रहमा केके रहेका छन् ?

यस संग्रहलाई ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’ (Walter Rindfleisch Collection) रूपमा चिनिने  यी सामग्रीहरूमा ८०० भन्दा बढी दुर्लभ वस्तुहरू रहेका छन्, जसमा संस्कृत र नेपाल भाषा (नेवारी) मा भुजिमोल लिपि प्रयोग गरी लेखिएका ४६५ वटा अत्यन्तै नाजुक ताडपत्रका पाण्डुलिपिहरू समेत समावेश छन्। ताडपत्रका यी मुठाहरूमा १३ औं शताब्दीका नमुनाहरू पनि समावेश छन् ।  यी नेपालको प्रारम्भिक रेकर्ड गरिएको पाण्डुलिपि परम्पराका हुन्। 

यस सम्झौतापछि नेपाललाई १३औँ देखि १८औँ शताब्दीसम्मका भूजिमोल लिपिमा संस्कृत तथा नेवारी भाषामा लेखिएका ४६५ वटा ताडपत्रका साथसाथै, सन् १८५० देखि १९५० सम्मका शाह तथा राणा शासनकालका ३१७ वाटा अभिलेख, राणा प्रधानमन्त्रीहरूको शासनकालमा पर्यावरण सम्बन्धमा हातले लेखिएका कृतिहरू, कानुनसम्बन्धी ५ वटा पाण्डुलिपि तथा औषधि, तन्त्र, राजनीतिक नैतिकता तथा हात्ती प्रजननसम्बन्धी ४ वटा पाण्डुलिपि हस्तान्तरण हुनेछ।

यस सङ्ग्रहमा शाही कागजातहरू, अदालतका अभिलेखहरू, संस्कृत पाण्डुलिपिहरू (उदाहरणका लागि, जङ्गली हात्तीहरूलाई तह लगाउने सम्बन्धी ग्रन्थ) साथै, धेरै शताब्दीका व्यक्तिगत प्रमाणहरू पनि छन्।  यसमा नेपाली शासकहरूका डायरी र यात्रा पुस्तकहरू समावेश छन्; जसमा अहिलेसम्म अप्रकाशित धेरै पत्रहरू, तस्बिरहरू र कागजातहरू रहेका छन्।

वाल्टर रिन्डफ्लीश सङ्ग्रह के हो ?

सन् १९८० र ९० को दशकमा जर्मन व्यावसायी तथा फिलाटेलिस्ट जोसेफ पिटर रिन्डफ्लाइचले यी सामग्री संकलन गरेका थिए। नेपालका यी ऐतिहासिक सामग्री निजको सन् २००२ मा मृत्यु भएपछि उनको छोराले नेपाल फर्काउने इच्छा देखाएकोले सोही प्रयोजनका लागि सन् २०१८ मा ती सामग्री प्रोफेसर मिखाइल्सको संरक्षकत्वमा आएका थिए। 

आफ्नो संरक्षकत्वमा नेपालका ऐतिहासिक हस्तलिखित सामग्री आएपछि नेपाल फर्काउन प्रोफेसर मिखाइल्सले निरन्तर प्रयास गरेका थिए। सोही क्रममा इन्टिच्युटमा अनुसन्धानकर्ताको काम गर्दै आएका डा. राजन खतिवडाले नेपाली राजदूतावास जर्मनीका तत्कालीन नियोग उपप्रमुख सागर फुयालसँग करिब अढाई वर्षअघि सम्पर्क स्थापित गरेपछि उक्त सामग्री नेपाल फर्काउने प्रक्रियाले गति लिएको थियो।

फुयालकै सक्रियतामा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डे तथा जर्मनीका लागि नेपालका तत्कालीन राजदूत डा. शैल रुपाखेतीले नेपालका ती ऐतिहासिक सम्पदाको अवलोकन गरेका थिए।

हस्तान्तरण सम्झौतामा हस्ताक्षरको लागि प्रोफेसर मिखाइल्सबाट प्रस्ताव आएपछि नेपालको परराष्ट्र मन्त्रालय तथा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबाट उक्त सम्झौतामा हस्ताक्षर गर्न कार्यवाहक राजदूत फुयाललाई अधिकार दिइएको थियो। 

विभिन्न मुलुकमा रहेका नेपालका मूर्ति लगायत पुरातात्विक महत्त्वका सामानहरू विभिन्न समयमा नेपालमा फर्काइएको भए पनि यति ठूलो संख्यामा नेपालका ऐतिहासिक हस्तलिखित सामाग्री नेपाल फर्काउन लागिएको यो पहिलो भएको दाबी गरिएको छ।

यस कदमले नेपालको सांस्कृतिक सम्पदाप्रति गहिरो सम्मान झल्काएको र देशको ऐतिहासिक सम्पत्तिहरू पुनःप्राप्त गर्ने र सुरक्षित गर्ने जारी प्रयासहरूमा योगदान पुर्याएको कार्यवाहक राजदूत फुयाँल बताउँछन्। ‘लामो समयदेखि पटक पटकको पहलपछि आज यो ऐतिहासिक सम्झौता भएको छ, अत्यन्त हर्षित र भावुक पनि भएको छु,’ सम्झौतापछि कार्यवाहक राजदूत फुयालले भने।

दूतावासले यस सम्बन्धमा शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालका ८ सय वर्षसम्मका पुराना हस्तलिखित सम्पदालाई संरक्षण गरी नेपाललाई हस्तान्तरण गरेकामा नेपाल सरकारको तर्फबाट प्रोफेसर डा. मिखाइल्सलाई हार्दिक धन्यवाद दिएको छ। 

प्रा.डा. आक्सेल मिखाइल्स: संरक्षण र फिर्तीका मुख्य सारथी

सन् १९९६ देखि हाइडेलबर्ग विश्वविद्यालयमा प्राध्यापन र अनुसन्धानमा संलग्न  प्रा.डा. आक्सेल मिखाइल्सले लागि यो सङ्ग्रहको हस्तान्तरण एक महत्वपूर्ण उपलब्धि रहेको बताएका छन्। 

सन् २०१४ देखि ‘हाइडेलबर्ग एकेडेमी अफ साइन्सेज एन्ड ह्युमानिटिज’ मा “प्रि-मोर्डन नेपालको धर्म र कानूनको इतिहासमा कागजातहरू” नामक विशेष अनुसन्धान परियोजनाको नेतृत्व गरिरहेका मिखाइल्सले यस सङ्ग्रहको महत्वलाई यसरी प्रस्ट्याए: “यो सम्भवतः नेपाल बाहिर रहेको नेपाली ताडपत्रका मुठाहरूको सबैभन्दा ठूलो सङ्ग्रह हो। यसको सांस्कृतिक र ऐतिहासिक मूल्य अतुलनीय छ।”

प्रोफेसर मिखाइल्सका अनुसार, जब यो सङ्ग्रह उनको सम्पर्कमा आयो, यसको वैधानिक प्राप्ति र निकासीका बारेमा कुनै भरपर्दो कागजात थिएनन्। मूल सङ्कलक वाल्टर रिन्डफ्लीशको सन् २००२ मा निधन भइसकेको थियो। तथापि, पाण्डुलिपिहरू नेपाल नै फर्काइनुपर्छ भन्ने सङ्कलकको अन्तिम इच्छालाई सम्मान गर्दै मिखाइल्सले यसको संरक्षण र फिर्तीको जिम्मेवारी काँधमा लिए। 

प्रा.डा. मिखाइल्स भन्छन्, ““पाण्डुलिपिहरू नेपाल नै फिर्ता गरियोस् भन्ने सङ्कलकको स्पष्ट इच्छा थियो। तर, तिनलाई स्वदेश फर्काउने कल्पना गर्नुअघि अत्यन्तै नाजुक अवस्थामा रहेका कतिपय सामग्रीहरूलाई संरक्षणका उपायहरू अपनाएर सुरक्षित तुल्याउनु अनिवार्य थियो।”

लामो समयको अन्तराल र असुरक्षित भण्डारणका कारण धेरै सामग्रीहरू गम्भीर जोखिममा थिए। विशेष गरी बहुमुल्य ताडपत्रका मुठाहरूमा ढुसी, पुराना ग्लुका अवशेष र कीराहरूको संक्रमणले क्षति पुर्‍याएको थियो। पाण्डुलिपिहरूलाई नेपाल पठाउनुअघि ती सामग्रीलाई जोगाउनु नै मुख्य चुनौती थियो। 

“प्रत्येक मुठालाई खोलियो, रासायनिक सामग्रीहरू सहित सिसाको मुनि सफा गरियो र त्यसपछि स्थिर (stabilized) गरियो। अन्तमा, सबै सामग्रीहरूलाई डिजिटलाइज गरियो र ‘मेटाडेटा’ सहित अनुक्रमणिका  गरियो”, प्रोफेसर अगाडि भन्छन्, “डिजिटलीकरणको उद्देश्य विश्वव्यापी पहुँच सक्षम पार्नु हो ताकि यी स्रोतहरू विश्वव्यापी सांस्कृतिक स्मृतिको हिस्सा बन्न सकून्। भौतिक रूपमा तिनलाई फिर्ता गरेर, हामी एकै समयमा ऐतिहासिक जिम्मेवारीलाई दृश्य र प्रभावकारी बनाउन चाहन्छौं।”

ऐतिहासिक हस्तलिखित सामाग्रीको यति ठूलो परिमाण हस्तान्तरण भएपछि अब जर्मनीकै अन्य विश्वविद्यालय तथा संसारका विभिन्न भागमा रहेका नेपालका ऐतिहासिक हस्तलिखित सामाग्री नेपाल फर्काउन सकिने रहेछ भन्ने उदाहरण स्थापित भएको छ।