काठमाडौँ । विदेशमा रहेका आफ्नै श्रीमानको नाममा नक्कली व्यक्ति खडा गरी बैंकबाट लाखौं रुपैयाँ कर्जा निकालेको आरोपमा कास्कीकी एक महिलासहित ६ जनाविरुद्ध कास्की जिल्ला अदालतमा ठगी र किर्तेसम्बन्धी मुद्दा दायर भएको छ।
पोखरा महानगरपालिका(३० शिशुवा ढुङ्गेपाटनकी ४१ वर्षीया बन्ती शाही, भद्र थापा भनिने भद्रबहादुर सिंजाली थापा मगर, संगम शाही, चन्द्रबहादुर वंशी, विवेक लामिछाने र पिताम्बर बसौलाविरुद्ध अभियोग दर्ता गरिएको हो। केही प्रतिवादी फरार रहेको अभियोगपत्रमा उल्लेख छ।
अभियोग अनुसार मोहनबहादुर शाही वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका बेला उनकी श्रीमती बन्ती शाहीले भद्र थापालाई मोहनबहादुर शाही भनि बैंकमा उपस्थित गराएकी थिइन् । त्यसपछि विभिन्न किर्ते कागजात तयार गरी मोहनबहादुर शाहीको नाममा रहेको पोखरा–३० स्थित जग्गा धितो राखेर सिद्धार्थ बैंकबाट शैक्षिक कर्जा लिइएको आरोप छ।
प्रतिवादी भद्र थापाले अनुसन्धानका क्रममा दिएको बयानमा आफूले मोहनबहादुर शाही बनेर हस्ताक्षर तथा औँठाछाप गरेको, झुट्टा आम्दानीका कागजात तयार गरिएको तथा बैंकिङ प्रक्रिया पूरा गरी कर्जा लिइएको स्वीकार गरेका छन्।
अभियोगपत्रअनुसार पहिलो चरणमा २०८० सालमा १५ लाख रुपैयाँ र दोस्रो चरणमा २०८२ सालमा ३० लाख रुपैयाँ गरी कुल ४५ लाख रुपैयाँ कर्जा निकासा गरिएको थियो। उक्त रकम शैक्षिक कर्जाका नाममा प्राप्त गरिएको दाबी गरिएको छ।
मोहनबहादुर शाहीले विदेशबाट नेपाल फर्किएपछि आफ्नो नामको जग्गा बैंकमा धितो रहेको थाहा पाएर मालपोत कार्यालय र बैंकमा बुझ्दा घटनाको खुलासा भएको भन्दै जाहेरी दिएका थिए। त्यसपछि अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा अभियोगपत्र दायर गरेको हो।
अभियोजन पक्षले प्रतिवादीहरूले योजनाबद्ध रूपमा किर्ते कागजात खडा गरी बैंक तथा जग्गाधनीलाई झुक्याएर ठगी गरेको दाबी गर्दै कानुनबमोजिम सजाय र क्षतिपूर्तिको माग गरेको छ।