काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्ति राष्ट्रघाती, आत्मसमर्पणवादी तथा कायरतापूर्ण भएको छ वटा वामपन्थी किसान संगठनहरूले आरोप लगाएका छन् । किसान संगठनहरू संयुक्त विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीले आमजनतासमक्ष माफी माग्न र पदबाट राजीनामा दिन माग गरेका हुन्।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र),अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (अप्फा), क्रान्तिकारी किसान महासंघ नेपाल, अखिल नेपाल प्रगतिशील किसान संघ तथा नेपाल प्रगतिशील किसान संघद्वारा जारी संयुक्त प्रेस वक्तव्यमा प्रधानमन्त्री साहको अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतामाथि गम्भीर आँच पुर्याएको आरोप लगाइएको छ।
वक्तव्यमा भारतीय शासक वर्गले दशकौंदेखि नेपालको पशुपतिनगर, सुस्ता, महेशपुर, लक्ष्मणपुर, मानेभञ्ज्याङ, कुनौली, कालापानी, लिपुलेक र लिम्पियाधुरासहित ७३ स्थानमा सीमा अतिक्रमण गरेको तथा कालापानी क्षेत्रमा नेपाली भूमि कब्जा गरेर सैन्य उपस्थिति कायम राखेको दाबी गरिएको छ। सीमावर्ती क्षेत्रमा नेपाली किसानहरूले विभिन्न समस्या झेल्दै आएको र सीमा रक्षाका क्रममा कञ्चनपुरका गोविन्द गौतमसहित कैयौं नेपालीले ज्यान गुमाएको तथा धेरैले भारतमा झुटा मुद्दासमेत खेप्नुपरेको वक्तव्यमा उल्लेख छ।
संगठनहरूले प्रधानमन्त्री साहले संसदमा “नेपालले पनि धेरै ठाउँमा भारतको सीमा मिचेको” भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसलाई आधारहीन, कपोलकल्पित र भारतीय विस्तारवादलाई सहयोग पुग्ने खालको भनाइ भएको बताएका छन्। उक्त अभिव्यक्तिले भारतद्वारा नेपालमाथि हुँदै आएको सीमा अतिक्रमण र दबाबलाई ढाकछोप गर्न बल पुगेको उनीहरूको आरोप छ।
संयुक्त वक्तव्यमा नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको रक्षाका लागि आवश्यक परे जुनसुकै प्रकारको संघर्ष गर्न नेपाली जनता तयार रहेको चेतावनीसमेत दिइएको छ।
