राष्ट्रपति कार्यालय अगाडि जेनजी थुनुवाका अभिभावकद्वारा प्रदर्शन

दियोपोस्ट संवाददाता  

काठमाडौं । जेनजी आन्दोलनसँग सम्बन्धित थुनुवाहरूलाई झुटो मुद्दा लगाएर हिरासतमा राखिएको आरोप लगाउँदै उनीहरूका अभिभावकहरूले मंगलबार राष्ट्रपति कार्यालय शीतल निवास अगाडि प्रदर्शन गरेका छन्।

प्रदर्शनमा सहभागी अभिभावकहरूले आफ्ना छोराछोरीमाथि राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा दर्ता गरिएको दाबी गर्दै तत्काल रिहाइको माग गरेका थिए। उनीहरूले थुनामा रहेका युवाहरू निर्दोष रहेको र राज्यले अन्यायपूर्ण व्यवहार गरेको आरोप लगाए।

अभिभावकहरुले यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा धर्ना दिन पुगेका थिए। तर त्यहाँ प्रहरी हस्तक्षेप भएपछि उनीहरू शीतल निवासतर्फ गएको बताइएको छ।

प्रदर्शनकारीहरूले राष्ट्रपति कार्यालयमार्फत सरकारको ध्यानाकर्षण गराउँदै थुनामा रहेका युवाहरूको अवस्थाबारे निष्पक्ष छानबिन गर्न र उनीहरूलाई न्याय दिलाउन माग गरेका छन्।

प्रदर्शनको क्रममा शीतल निवास क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको थियो। घटनाबारे प्रहरी तथा सरकारी निकायबाट औपचारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन।

सिफारिस