वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै लाखौँ रुपैँया ठगी गर्ने तीन जना पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा आकर्षक तलबको प्रलोभन देखाई रकम ठगी गर्ने तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ।

बेरोजगार युवायुवतीलाई विभिन्न देशमा रोजगारीमा पठाइदिने भन्दै ठूलो रकम असुली सम्पर्कविहीन बनेपछि पीडितहरूले दिएको उजुरीका आधारमा अनुसन्धान गर्दा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा स्याङ्जा वालिङ नगरपालिका-१४ घर भई हाल काठमाडौं महानगरपालिका-१२ बस्ने हुमबहादुर कुँवर (६३) रहेका छन्। उनले युके पठाइदिने भन्दै दुई जनाबाट रु ७५ लाख ९० हजार ठगी गरेको आरोप छ।

यस्तै, सोलुखुम्बु सोताङ गाउँपालिका-३ घर भई हाल काठमाडौं महानगरपालिका-७ बस्ने लोकेन्द्र बस्नेत (३१) लाई पनि प्रहरीले पक्राउ गरेको छ। उनले हङकङ पठाइदिने प्रलोभनमा एक जनाबाट रु ३ लाख ३० हजार असुलेको अनुसन्धानबाट खुलेको छ।

त्यसैगरी, सुनसरी बराहक्षेत्र नगरपालिका-१ घर भई हाल ललितपुर महानगरपालिका-३ बस्ने तारणकुमार कार्की (४९) लाई पनि पक्राउ गरिएको छ। उनले माल्दिभ्स पठाइदिने भन्दै दुई जनाबाट रु ६ लाख ठगी गरेको आरोप लागेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको जनाएको छ।

प्रहरीले वैदेशिक रोजगारीका नाममा हुने ठगीप्रति सचेत रहन तथा वैधानिक प्रक्रिया अपनाएर मात्रै विदेश जान सर्वसाधारणलाई आग्रह गरेको छ।