काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले दियोपोस्ट डटकममा प्रकाशित समाचारलाई समेत तोडमोड र छेडखानी गरेर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको पाइएको छ । सोही छेडखानीपूर्ण अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला अदालत काठमाडौँमा सरकारी वकिल कार्यालयले अभियोग पत्र समेत पेश गरेको पाइएको हो ।
२०८२ मंसिर ९ गते कथित उग्रवादी समूह नेपाल (ईजिएन)का प्रमुख प्रकाश पाठकले अख्तियार प्रमुख प्रेमकुमार राईसहित १० उच्च अधिकारीको हत्या गर्ने धम्की दिएका थिए । अख्तियारकै ईमेलमा आएको धम्कीको ईमेल स्क्रिनसटसहित दियोपोस्ट डटकमले चार दिनपछि अर्थात् २०८२ मंसिर १३ गते समाचार सार्वजनिक गरेको थियो ।
‘अख्तियारका प्रमुख आयुक्तले १० दिनमा राजीनामा नदिए हत्या गर्ने’ उग्रवादी संगठनको धम्की (पत्रसहित)’ शीर्षकमा प्रकाशित समाचारको लिंक राखेर काठमाडौँ प्रहरीले भने उक्त समाचारमा उल्लेख नभएको हतियारसहितको तस्विर समेत प्रकाशित भएको भन्दै झूटो व्यहोराको अनुसन्धान प्रतिवेदन खडा गरेको पाइएको छ ।
प्रहरीले अदालतमा बुझाएको अभियोग पत्रमा उल्लेखित लिंकमा मुख्य अभियुक्त भनिएका उग्रवादी समूहका प्रमुख बताउने प्रकाश पाठकले पठाएको धम्कीपूर्ण पत्र मात्रै छ । तर, सोही समाचारको विषयमा काठमाडौँ प्रहरीले बनाएको अभियोग पत्रमा हतियार जस्तो देखिने वस्तु बोकेर दियोपोस्ट मार्फत राईलाई धम्काएको भन्दै गलत भाष्य निर्माण गरिएको छ ।
अभियोग पत्रमा भनिएको छ— ‘प्रतिवादी प्रकाश पाठकले अनलाइन मिडिया मार्फत हतियार जस्तो देखिने वस्तु बोकी सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त प्रेम कुमार राईलाई मार्ने सुपारी लिई सुटर लगाई मार्नेसम्मको धम्की दिई दियोपोस्ट नाम गरेको अनलाइन मिडिया मार्फत ज्यान मार्ने धम्की सहितको गैरकानुनी भिडियो….. लिंक सम्प्रेषण गरी विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ मा परिभाषित गरेको कसुर गरेको देखिन आएको’ भन्दै सजाय माग गरिएको छ ।

जबकी उक्त समाचारमा दियोपोस्टले भिडियो प्रसारण नै गरेको छैन । त्यस्तै प्रहरीले पाठकलाई बयानका क्रममा एउटा ईमेल आईडीबाट दियोपोस्टसहित विभिन्न मिडियालाई समाचार पठाएको भन्दै प्रश्न गरेको छ । तर, उक्त आरोप समेत झूटो ठहरिन्छ । उनले बयानका क्रममा आफूले कुनै पनि ईमेलबाट सञ्चार माध्यमलाई खबर नपठाएको बताएका छन् । दियोपोस्टकर्मीलाई उनले ह्वाट्सएप (WhatsApp) नम्बरबाट समाचार छापिदिन भन्दै अख्तियारमा परेको उजुरीको स्क्रिनसटसहितको प्रमाण पठाएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जाहेरीको आधारमा काठमाडौँ प्रहरीले यो मुद्दा अनुसन्धान गरेको थियो ।
काठमाडौँ प्रहरीले अनुसन्धानका क्रममा इन्टरपोलमार्फत पाठकलाई फिलिपिन्सबाट पक्राउ गरी काठमाडौँ ल्याएको थियो । अदालत समक्षको बयानमा पाठकले आफूलाई अख्तियारको प्रहरीले करकापमा पारेर बयान गराएको बताएका छन् ।

‘मैले उक्त व्यहोरा नपढी सहीछाप गरेको हुँ । अख्तियारको प्रहरी समेत सोही ठाउँमा रहेकाले करकापमा परी मैले उक्त बयान व्यहोरामा सहीछाप गरेको हुँ,’ पाठकले अदालतको बयानमा भनेका छन् । त्यस्तै दियोपोस्टमा प्रकाशित समाचारलाई समेत प्रहरीले सम्पादन गरी अदालतमा बुझाएको पाठकको आरोप छ ।
अख्तियारका ‘प्रमुख आयुक्तले १० दिनमा राजिनामा नदिए हत्या गर्ने’ उग्रवादी संगठनको धम्की (पत्रसहित)
प्रेम राईलाई धम्की दिने उग्रवादीको सुचीमा लोकमानदेखि दुर्गा प्रसाइँसम्म (सुचीसहित)
कन्सल्टेन्सी चलाउँथे कथित उग्रवादी नेता प्रकाश : विद्यार्थीलाई तिरेका छैनन् २ करोड !
प्रेम राईको सफाय गर्ने धम्की दिने पाठकसँग प्रहरीको फिलिपिन्समा जम्काभेट : भारतीय राहदानी भेटियो
प्रेम राईको हत्या गर्ने धम्की दिने उग्रवादी संगठन प्रमुख प्रकाश पाठक पक्राउ
अख्तियारको प्रहरी दुरुपयोग भएको खुलाशा : करकापमा पारेर बयान लिएको प्रकाश पाठकको आरोप