काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित १० उच्च अधिकारीको हत्या गर्ने धम्की दिने कथित उग्रवादी समुह नेपाल (इजिएन)का प्रमुख बताउने प्रकाश पाठकलाई प्रहरीले व्यापक खोजी गरिरहेको छ । उनी पछिल्लो समय फिलिपिन्समा रहेको प्रहरीको अनुमान छ । तर, उनी आइटीका जानकार भएका कारण भिपिएनबाट विभिन्न मुलुकको लोकेशन देखाउँदै प्रहरीलाई छक्याउँदै आएका छन् ।

यसरी उच्च अधिकारीलाई उग्रवादी समुह देखाएर धम्की दिने प्रकाश कुनै समय कन्सल्टेन्सी क्षेत्रमा कार्यरत थिए । उनले एआईएसडी नेपाल नामक कन्सल्टेन्सी चलाएका थिए । विभिन्न अपराधमा समेत मुछिएका उनले ह्याप्पी पाठक ईन्टरटेन्मेन्ट नामक कम्पनि समेत चलाएका थिए । उनले काठमाडौँ मेडिकल कलेज र कान्तिपुर डेन्टल कलेज समेत अध्ययन गरेका थिए । बसुन्धराको हेराल्ड कलेजबाट स्नातक र बसुन्धराको एक्टिभ कलेजबाट राजनीतिशास्त्रमा स्नातकोत्तर पूरा गरेका छन् । कुनै समय नेकपा एमाले निकट युवा संघमा आवद्ध भएपनि उनले भने आफू कुनै पनि संस्थासँग आवद्ध नभएको बताएका छन् ।
उनले युरोप न्युजिल्याण्ड लगायतको देश पठाउँछु भन्दै विभिन्न विद्यार्थीबाट ४ करोड रुपैयाँ उठाएका छन् । केही भ्रष्ट अध्यागनमका कर्मचारीलाई आफूले चिनेको र उनीहरुबाट आफ्ना विद्यार्थीको आवेदन रद्ध भएको उनको आरोप छ । उनले विद्यार्थीलाई २ करोड रुपैयाँ तिर्नुपर्ने रहेको समेत बताएका छन् ।

आफूले हतियार र शार्पसुटरहरु खरिदमा लगानी गरेको उनको दाबी छ । उनले कतिपय नगदमा समेत पैसा लिएको र फिर्ता गर्ने प्रक्रियामा रहेको बताएका छन् ।
कुनै समय ड्रिमल्याण्ड नेपाल नामक चलचित्र निर्माण कम्पनि समेत चलाएका उनले पत्रकार सम्मेलन समेत गरेका थिए । तर, कोभिड महामारीका कारण अघि बढ्न नसकेको उनको स्विकारोक्ती छ ।
आफूले विदेशमा पैसा पठाउनका लागि अवैध रुपमा क्रिप्टोको काम गरेको बताएका छन् । आफूलाई प्रहरीले खोजी गरिरहेकाले बैंक र ईसेवा मार्फत क्रिप्टोको काम गरेको उनको स्विकार छ । प्रहरीले अनुसन्धान गर्दा यी विषय खुल्ने भएकाले आफूले पहिले नै यो विषयमा जानकारी दिएको उनको भनाई छ । ‘मलाई सरकारले दर्जनौँ मुद्दा दायर गर्न वा सुट गर्न सक्छ,’ उनी भन्छन्,‘नेपालमा सुशासन स्थापित नभएसम्म हामी भ्रष्ट मानिस विरुद्ध लागि रहन्छौँ ।’

काभ्रेको तिमाल घर भएका प्रकाश पाठकले पत्रमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईदेखि नेपाल आयल निगमका पूर्वप्रमुख गोपाल खड्का, अख्तियारकै पूर्वप्रमुख आयुक्त लोकमान सिंह कार्की, मेडिकल व्यवसायी दुर्गा प्रसाईं, पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पूर्वआईजीपी ओमविक्रम राना, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी, पूर्वपरराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ आरजु राणा देउवा, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणको नाम उल्लेख गर्दै धम्की दिइएको छ ।