प्रेम राईको सफाय गर्ने धम्की दिने पाठकसँग प्रहरीको फिलिपिन्समा जम्काभेट : भारतीय राहदानी भेटियो

दियोपोस्ट संवाददाता  

 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित १० व्यक्तिको हत्या गर्ने धम्की दिने व्यक्तिसँग भारतीय राहदानी लगायतका कागजात रहेको पाइएको छ ।

उनले भारतको आयकर विभागको कार्ड, राहदानी, आधारकार्ड लगायतको कागजात रहेको बताएका छन् । उनले आफ्नो कागजातबारे सामाजिक सञ्जालमै खुलाएका छन् ।

उनले नेपाली राहदानी त्याग गरेको समेत बताएका छन् । फिलिपिन्सको मनिला मलमा फिपिनी समय अनुसार विहान १० बजेर ३५ मिनेटमा आफूलाई प्रहरीले झण्डै पक्राउ गरेको उनको दाबी छ ।

‘म मेरो मोबाइलमा अपराध र राजनीति सम्बन्धी भिडियो हेरिरहेको थिएँ । किनकी मेरो थेसिस नै त्यही थियो । फिलिपिन्सको मनिला मलमा म झण्डै पक्राउ परेको थिएँ । मैले पोलिटिकल साइन्समा मास्टर्स गरेको छु । तर, थेसिस पेन्डिङ छ,’ उनले भनेका छन्,‘मलमा पुलिस आयो र सेक्युरिटि गार्डसँग कुरा गर्न लागे । म माथिल्लो तलामा कफि पिउँदै थिएँ । उनीहरुले सेक्युरिटी गार्डलाई कुनै पेपर्स देखाए । त्यहाँ एक सेक्युरिटी गार्डले मलाई निकै राम्रोसँग चिनेका थिए । प्रहरी टप फ्लोरमा जानुभन्दा अघि नै म दोस्रो सिढिको बाटो हुँदै ग्राउन्ड फ्लोरबाट भागेँ ।’ आफूलाई त्यहाँबाट भाग्नका लागि गार्डले नै सहयोग गरेको उनको भनाई छ । आफूलाई पक्राउ गर्न आउनेहरुले तस्विर देखाएको उनले बताएका छन् । आफूलाई त्यहाँ गार्डले निकै सहयोग गरेको उनको भनाई छ ।

आफूलाई फिलिपिन्समा पक्राउ गरिएपनि नेपाल भने डिपोर्ट गर्न नसक्ने उनको दाबी छ ।

उनले फिलिपिन्समै अपराध समेत गरेको बताएका छन् । ‘मैले केही दिन अघि नै फिलिपिन्समा अपराध गरेको थिएँ । उसलाई आक्रमण गरेर रक्ताम्य बनाएँ । उसलाई मेरो विरुद्ध उजुरी गर्न भनेको छु । उक्त नाटकका लागि मैले १० हजार रुपैयाँ दिएँ । मेरो मुद्दा अहिले पनि पेन्डिङमा छ । त्यस्तै मैले मेरो भिषा पनि रिन्यु गरेको छैन,’ उनले भनेका छन्,‘किनकी म यहाँ गैरकानुनी तरिकाले बस्न सकौँ ।’


उनले फिलिपिन्समै बसेर राई लगायतका व्यक्तिहरुको हत्या गर्ने योजना बनाउने धम्की समेत दिएका छन् ।

आफूलाई पक्राउ गरिएपछि नेपाली राहदानी त्याग गरेको हुनाले भारत डिपोर्ट गर्नुपर्ने समेत उनको भनाई छ । आफूले भारतीय जेलमै बसेर नक्कली राहदानी लगायतको मुद्दा झेल्नुपर्ने समेत उनको भनाई छ ।

आफूलाई उग्रवादी समुहको प्रमुख बताउने प्रकाश पाठकले गत २९ डिसेम्बरमा अख्तियारका प्रमुख आयुक्त प्रेम राई लगायतलाई पक्राउ गर्ने धम्की दिएका थिए । उनले अख्तियारमै धम्कीपूर्ण पत्र पठाएको विषयमा दियोपोस्टले पहिलो पटक खुलाशा गरेको थियो । यो खबरसँगै प्रहरीले यो घटनाबारे अनुसन्धान गरिरहेको छ ।

 

सिफारिस