हत्या सुपारीको मिडिया ट्रायल : बयानको ७ दिनअघि नै अन्नपूर्ण पोस्टमा छापियो ‘आरोप स्वीकारेको’ समाचार !

दियोपोस्ट संवाददाता  

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जनालाई ज्यान मार्ने धम्की दिएको अभियोग लागेका प्रकाश पाठकमाथिको अनुसन्धानमा काठमाडौं प्रहरीले ‘मिडिया ट्रायल’ गरेको भेटिएको छ। अनुसन्धान अधिकारीहरूले अभियुक्तको बयान लिनुअघि नै आफूनिकट सञ्चारमाध्यम प्रयोग गरेर ‘आरोप स्वीकार गरिसकेको’ भाष्य निर्माण गरेको पाइएको हो।

राईसहित १० उच्च अधिकारीको ज्यान लिने धम्की दिने उग्रवादी संगठन ‘नेपाल (ईजिएन)’ का प्रमुख पाठकमाथिको अनुसन्धानका क्रममा काठमाडौंबाट प्रकाशित हुने अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकले आरोपितको बयान हुनुभन्दा ७ दिनअगावै ‘आरोप स्वीकार गरेको’ भन्दै भ्रमपूर्ण समाचार लेखेको भेटिएको छ।

भक्तपुरको नालिञ्चोक हेलिप्याड निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा पुर्पक्षका लागि हाल डिल्लीबजार कारागारकाे थुनामा रहेका नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीले बयान दिनुअघि नै अभियोग स्वीकार गरेको दाबीसहित समाचार प्रकाशन भएको देखिएको हो।

अख्तियार प्रमुख राईसहित १० व्यक्तिको हत्या गर्ने धम्की दिएको अभियोगमा पक्राउ परेका प्रकाश पाठकसँगै मुछिएको भन्दै डिल्लीबजार कारागारमा रहेका अधिकारीलाई बयानका लागि उपस्थित गराइदिन प्रहरीले विशेष अदालतसँग अनुमति मागेको थियो। २०८२ चैत २ गते परिसरमा कार्यरत प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले विशेष अदालतलाई सम्बोधन गर्दै कारागारमा रहेका थुनुवा अधिकारीलाई झिकाएर बयान लिनुपर्ने भन्दै अनुमतिका लागि अनुरोध गरेका थिए।

बयानका लागि थुनुवा झिकाउने आदेशमा अदालतले लेख्ने व्यहोरासमेत प्रहरी आफैँले लेखेर बुझाएको देखिन्छ। तर, विशेष अदालतले प्रहरीले लेखेर पठाएको व्यहोरामा छाप लगाएन। विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले सोही दिन पेसी तोकेर अनुमति दिने आदेश जारी गरेको थियो। चैत २ गते नै विशेष अदालतले कारागार कार्यालय डिल्लीबजारलाई पत्र लेख्दै अधिकारीलाई बयानका लागि झिकाउन लिखित अनुरोध गरेको थियो।

काठमाडौं प्रहरीले २०८२ चैत ६ गते प्रदीप अधिकारीलाई बयानका लागि कारागार कार्यालय डिल्लीबजारमा पत्र पठाएको रेकर्डबाट देखिन्छ। तर, बयानका लागि पत्र पठाउनु दुई दिनअघि नै अन्नपूर्ण पोस्ट दैनिकको पहिलो पृष्ठमा प्रदीप अधिकारीले हत्या गर्न २ करोड रुपैयाँको सुपारी दिएको र आरोप स्वीकार गरेको खबर छापिएको थियो।

अजबी पौडेलको बाइलाइनमा छापिएको उक्त समाचारमा ‘क्यानका पूर्वडिजी अधिकारीले स्वीकारे आरोप’ भन्दै उपशीर्षक (सब-हेडिङ) समेत राखिएको थियो। समाचारको ‘लिड लाइन’ मै अधिकारीले १० जना विशिष्ट व्यक्तिको हत्या गर्ने योजनाका लागि रकम दिएको स्वीकार गरेको उल्लेख थियो।

जब कि, अधिकारीको बयान भने चैत ७ गतेदेखि मात्र निरन्तर रूपमा भएको देखिन्छ। चैत ११ गते बन्दी अधिकारीको बयान सकिएको थियो। कारागार कार्यालय डिल्लीबजारले ११ गतेकै मिति अनुसार थुनुवा अधिकारीलाई कारागारमा फिर्ता पठाइदिन भन्दै लिखित पत्र पठाएको थियो। चैत ११ गते सम्पन्न अधिकारीको बयानमा उनले आरोप अस्वीकार मात्र गरेका छैनन्, अभियुक्त प्रकाश पाठकलाई आफूले कहिल्यै नचिनेको र नभेटेको समेत स्पष्ट पारेका छन्।

बयान लिने अनुसन्धान अधिकारीहरूले ‘प्रकाश पाठकलाई तपाईंले ८० लाख फिलिपिन्स पेसो नगद रकम दिएको विषयमा’ प्रदीप अधिकारीलाई प्रश्न गरेका थिए। तर, अधिकारीले पाठकलाई आफूले चिन्दै नचिनेको र पैसा दिने कुनै सन्दर्भ नै नआउने जवाफ दिएका छन्। अधिकारीलाई सोधिएका ६९ वटा प्रश्नमध्ये कुनै पनि स्थानमा उनले आरोप स्वीकार गरेका छैनन्। त्यसमध्ये १७ ठाउँमा उनले प्रकाश पाठकलाई नचिनेको बयान दिएको कागजातबाट पुष्टि हुन्छ।

यहाँ स्मरणीय के छ भने, हाल सरुवा भइसकेका काठमाडौं प्रहरी प्रमुख रमेश थापा अन्नपूर्ण पोस्टका मालिक रामेश्वर थापाका भाइ हुन्। रामेश्वर थापा र अधिकारीबीच कुनै समय ठूलो द्वन्द्व रहेको विषय सञ्चारमाध्यमहरूमा आइसकेकै हो। यस्तो अवस्थामा थापाले आफ्ना दाइ मालिक रहेको मिडिया उपयोग गरी बयान अगावै ‘मिडिया ट्रायल’ गराएका हुन् कि भन्ने विषय आफैँमा अनुसन्धानको घेरामा तानिएको छ।

त्यति मात्र होइन, उक्त पत्रिकाका प्रधानसम्पादक प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष हुन्, जो कुनै समय सञ्चारमाध्यमहरूलाई आचारसंहिता पालना नगरेको भन्दै कारबाहीको डन्डा बर्साउने गर्थे। उनै पूर्वअध्यक्ष सम्पादक रहेको मिडियाले कुनै मुद्दाको अभियोजन हुनुपूर्व नै जनमानसमा भ्रम छर्ने गरी मिडिया ट्रायल गरेको देखिएको छ।

२०८२ मंसिर १३ गते आयोगका प्रमुख आयुक्त राईसहित १० व्यक्तिको हत्या गर्ने धम्की दिएर अख्तियारकै ईमेलमा पठाइएको पत्र ‘दियोपोस्ट डटकम’ ले पहिलो पटक खुलासा गरेको थियो। समाचार प्रकाशित भएपछि प्रहरीले धम्कीमा उल्लेखित १० व्यक्तिको सुरक्षाका लागि सर्कुलर जारी गरेको थियो।

यता, घटनाका मुख्य व्यक्ति प्रकाश पाठक फिलिपिन्समा लुकेर बसेको खुलेपछि प्रहरीले इन्टरपोलको सहायतामा उनलाई पक्राउ गरी नेपाल ल्याएको थियो। संगठित अपराधसहितको एकीकृत कसुरमा उनलाई ९० दिन हिरासतमा राखिएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहँदा उनले दिएको बयानमा राईलाई धम्की दिने समूहमा तत्कालीन नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको पनि संलग्नता रहेको दाबी गरेका थिए। मुख्य अभियुक्त पाठकलाई भने जिल्ला अदालतले पूर्पक्षका लागि कारागार चलान गरिसकेको छ।

अख्तियारको प्रहरी दुरुपयोग भएको खुलाशा : करकापमा पारेर बयान लिएको प्रकाश पाठकको आरोप