प्रकाश पाठकसँग जोडेर जेनजीमाथि ‘अपराधीकरण’ को प्रयास : अख्तियार र काठमाडौं प्रहरीको गम्भिर लापरबाही !

दियोपोस्ट संवाददाता  

काठमाडौँ । काठमाडौँ प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गेटमा प्रदर्शन गर्न पुगेका ‘जेनजी’ (Gen Z) प्रदर्शनकारीहरूलाई ‘अपराधीकरण’ गर्ने गरी मिसिल खडा गरेको पाइएको छ । अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जना उच्च अधिकारीहरूलाई ज्यान मार्ने धम्की दिने कथित उग्रवादी समूह ‘नेपाल (ईजिएन)’ का प्रमुख बताउने प्रकाश पाठकसँग कुनै सम्बन्ध नै नभएका जेनजी प्रदर्शनकारीहरूलाई अख्तियार र काठमाडौँ प्रहरीका तत्कालीन प्रमुख (पूर्वप्रमुख) एसएसपी रमेश थापाको नेतृत्वले जबरजस्ती सोही मिसिलमा मुछेको पाइएको हो ।

जिल्ला अदालत काठमाडौँमा प्रहरीले पाठकसहित नागरिक उड्डयन प्राधिकरणका पूर्वमहाप्रबन्धक प्रदीप अधिकारी र अर्का फरार प्रतिवादी ताराप्रसाद खरेलविरुद्ध २०८३ वैशाख २९ गते आपराधिक षड्यन्त्र, आपराधिक लाभ (एक्सटर्सन), हुन्डी, विद्युतीय कारोबार र संगठित अपराधसमेतको एकीकृत कसुरमा अभियोगपत्र दायर गरेको थियो । सोही अभियोगपत्रमा अख्तियारको परिसरमा प्रमुख आयुक्त राईले राजीनामा दिनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरू सम्मिलित ‘जेनजी मुभमेन्ट एलाइन्स’ का प्रतिनिधिलाई समेत आपराधिक घटनामा संलग्न रहेको भाष्य निर्माण हुने गरी मिसिलमा समावेश गरिएको छ ।

वाइडबडी घोटालाविरुद्धको प्रदर्शन र मिसिलको खेल

२०८२ असोज २१ गते अख्तियारका पदाधिकारीको राजीनामा माग गर्दै एलाइन्सले आयोग परिसरमा धर्नासहितको प्रदर्शन गरेको थियो । प्रदर्शनकारीहरूले आयोगमै पुगेर प्रमुख आयुक्त राईलाई सम्बोधन गर्दै राजीनामा मागेका थिए । ३१ जिल्लाको प्रतिनिधित्व गर्ने १२ वटा जेनजी समूहले राईमाथि वाइडबडी घोटाला लगायतका धेरै घटनामा मुछिएको भन्दै विशेष अदालतले स्पष्ट रूपमा प्रश्न उठाएकाले राजीनामा माग गरेका थिए । यसरी राजीनामा माग गर्नेहरूमध्ये रिजन राना मगरले सञ्चारमाध्यमका अगाडि खरो रूपमा आफ्ना धारणा राखेका थिए । सोही फोटोलाई अख्तियार र काठमाडौँ प्रहरीले मिसिलमा संलग्न राखी उनीहरू आपराधिक योजना अनुसार नै सामेल भएको भाष्य निर्माण गर्ने प्रयास गरेका हुन् ।

जेनजी मुभमेन्ट एलाइन्सले प्रदर्शन गरेको ६ दिनपछि, अर्थात् २०८२ असोज २७ गते अर्जुन शाहीको नेतृत्वमा रहेको अर्को समूहले प्रदीप अधिकारीलाई भेटेर प्राधिकरणभित्रको भ्रष्टाचार अन्त्यको माग गरेको थियो । सार्वजनिक भएको भिडियोमा अधिकारीलाई ‘राजीनामा दिनुस्, तपाईंको ठाउँमा अर्को मान्छे आउँछ’ भन्दै दबाब दिएकै कारण शाही चर्चामा आएका थिए । सोही दिन उनीसहितको समूहले अख्तियारमा पुगेर प्रमुख आयुक्त प्रेमकुमार राईलाई भेट्ने कोसिस गरे पनि कर्मचारीले समय नदिएपछि त्यहाँ विवाद भएको थियो ।

५ लाखको लेनदेन र संगठित अपराधको परिभाषा

अख्तियार प्रमुख राईलाई भेट्न पुगेका शाहीले नागरिक उड्डयन प्राधिकरणकै कर्मचारी चाँदमाला श्रेष्ठमार्फत प्रदीप अधिकारीको निर्देशनमा ५ लाख रुपैयाँ लिएर त्यहाँ पुगी धम्की दिएको उल्लेख गरिएको छ । यो घटनालाई फिलिपिन्सबाट पक्राउ गरी ल्याइएका ईजिएन समूहका प्रमुख प्रकाश पाठकसँगैको संगठित अपराधको रूपमा प्रहरी र सरकारी वकिल कार्यालयले परिभाषित गरेको छ । तर, मिसिलमा अधिकारी, पाठक र शाहीबीच आपसी सम्पर्क भएको कुनै ठोस तथ्य देखिँदैन ।

प्राधिकरणकै कर्मचारी चाँदमाला श्रेष्ठ र अधिकारीबीचको संवादमा ‘अर्जुनबहादुर शाहीले ५ लाख रुपैयाँ लिएर गएको’ भन्ने संवादलाई मात्र आधार बनाएर प्रहरीले यसलाई संगठित अपराधका रूपमा व्याख्या गरेको छ । प्रहरीसँगको बयानमा मुख्य अभियुक्त पाठकले प्रदीप अधिकारीले नै जेनजी अभियन्ताहरूको प्रदर्शनबारे जानकारी दिएको उल्लेख गरेका छन् ।

प्रहरीको प्रश्न र मुख्य अभियुक्त पाठकको बयान

प्रहरीले पाठकलाई सोधेको थियो:

“नेपालमा एक्कासि जेनजी आन्दोलनबाट आएको आमूल परिवर्तनपछि प्रदीप अधिकारीले जेनजी निकटका अर्जुन शाही लगायतका केही युवाहरूलाई परिचालन गरी अख्तियारका प्रमुख आयुक्त प्रेम राईको राजीनामा माग गर्दै प्रदर्शन तथा धर्ना दिन लगाएको, तर निज अर्जुन शाही लगायतको समूहबाट प्रदीप अधिकारीले चाहेको काम पूरा हुन नसकेको भनी खुलाइदिनुभयो । निज अर्जुन शाही र प्रदीप अधिकारीबीचको सम्बन्ध के हो ? उनीहरूको योजना र संलग्नता के थियो ? निजहरूको तीन पुस्ते विवरण खुलाइदिनुहोस् ।”

जवाफमा पाठकले भनेका छन्:

“अर्जुन शाही र प्रदीप अधिकारीबीच सुरुदेखि नै चिनजान रहेको कुरा मैले प्रदीप अधिकारीबाट नै पछि थाहा पाएको हुँ । सुरुमा निजले अर्जुन शाही लगायतको समूह प्रयोग गरी आफूलाई नै धम्की दिएको जस्तो पारी अख्तियारको कार्यालय अगाडि प्रदर्शन गर्न लगाएको र प्रमुख आयुक्त प्रेम राईको राजीनामा माग गर्न लगाएको कुरा पछि प्रदीप अधिकारीले मलाई बताएका हुन् । प्रमुख आयुक्तलाई राजीनामा दिन लगाउने र राजीनामा नदिए निजलाई मार्नेसम्मको धम्की दिई आपराधिक षड्यन्त्र रची प्रदीप अधिकारीसँग मिलेर योजना बनाउने मुख्य व्यक्तिमध्ये अर्जुन शाही पनि एक हुन् । निज र निजको समूहमा रहेका व्यक्तिहरूको तीन पुस्ते विवरण मलाई थाहा छैन । निज अर्जुन शाहीलाई बैंकिङ कसुर मुद्दा चलेको भनी विभिन्न सामाजिक सञ्जालहरूबाट सुनेर थाहा पाएको हुँ ।”

एउटा समूहको आन्दोलन, अर्को समूहकाे तस्विर र तथ्य

यसरी अर्जुन शाहीको समूहमाथि आक्षेप लगाइए पनि अख्तियार र प्रहरीले मिसिलमा भने रिजन राना मगर लगायतको समूहलाई अर्जुन शाहीकै समूहका रूपमा व्याख्या गरी उनीहरूको तस्बिर सामेल गरेको छ । अर्जुन शाही अख्तियारको कार्यालय पुग्नुभन्दा ६ दिनअघि नै अख्तियारको गेटमा प्रदर्शन गर्न पुगेका वास्तविक जेनजी अभियन्ताहरूको समूहलाई शाहीकै समूहमा गाभेर, उनीहरूले पनि ५ लाख रुपैयाँ लिएर आन्दोलन गरेको भाष्य निर्माण गरी मुद्दा अभियोजन गरिएको छ ।

दियोपोस्टको कार्यालयमा आएका सो दिनका आन्दोलनकारी उर्जा अमितले आफूहरूले अर्जुन शाही लगायतको समूहलाई कहिल्यै नचिनेको बताएका छन् । अख्तियार र प्रहरीले खडा गरेको यस्तो कपोलकल्पित मिसिल देखेर आफू चकित परेको उनको प्रतिक्रिया छ ।

यता प्रहरीसमक्षको बयानमा अख्तियार पुगेर धम्की दिएको आरोप लागेका अर्जुनबहादुर शाहीले आफूसहित सुधन गुरुङ र दिवाकर दंगालको सल्लाहमा मुद्दा दर्ता गर्नका लागि मात्र अख्तियार पुगेको बताएका छन् । उनले आफ्नो बयानमा ‘जेनजी एलाइन्स’ को नाम समेत लिएका छैनन् । तर, अख्तियारले भने जेनजी एलाइन्सले अख्तियारमै दर्ता गराएको वैधानिक निवेदनलाई समेत आपराधिक घटनाको रूपमा काठमाडौँ प्रहरीकहाँ पठाएर मिसिलको हिस्सा बनाएको छ ।

 अख्तियारका प्रमुख आयुक्त लगायत १० जना उच्च अधिकारीको हत्या गर्ने धम्की दिने प्रकाश पाठकलाई जेनजी एलाइन्सले नचिनेको र सञ्चारमाध्यममा आएपछि मात्र थाहा पाएको बताएको छ । जेनजीले प्रदर्शन गरेको करिब २ महिनापछि, ईजिएन समूहका तर्फबाट २०८२ मंसिर ९ गते अख्तियार प्रमुख राईसहित १० उच्च अधिकारीको हत्या गर्ने धम्की दिइएको थियो । अख्तियारकै ईमेलमा आएको धम्कीको ईमेल स्क्रिनसटसहित दियोपोस्ट डटकममा चार दिनपछि अर्थात् २०८२ मंसिर १३ गते समाचार सार्वजनिक भएको थियो ।

त्यसपछि अख्तियारले २०८२ मंसिर १६ गते जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दरखास्त दिएको थियो । अख्तियारको जाहेरीका आधारमा काठमाडौँ प्रहरीले अनुसन्धानका क्रममा ईन्टरपोलमार्फत पाठकलाई फिलिपिन्सबाट पक्राउ गरी काठमाडौँ ल्याएको थियो । पाठकलाई अहिले जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि कारागार चलान गरिसकेको छ ।

“अख्तियारको प्रहरीद्वारा करकापमा बयान लिइयो” : प्रकाश पाठक

मुख्य अभियुक्त प्रकाश पाठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रहरीसमेतले आफूलाई गम्भीर करकापमा पारी बयान दिन लगाएको दाबी गरेका छन् । जिल्ला अदालत काठमाडौँमा दिएको बयानमा उनले प्रहरीले बुझाएको अभियोगपत्रको बयान करकापमा तयार पारिएको भन्दै आफूमाथि लागेका आरोपहरू अस्वीकार गरेका छन् ।

सिफारिस