गणेश खड्काको नियात्रा कृति ‘नक्शामा नभएको देश’: अफ्रिकाको सेसेल्समा लोकार्पण

दियोपोस्ट संवाददाता  

काठमाडौँ । साहित्यकार तथा अनेसास केन्द्रीय उपाध्यक्ष गणेश खड्काको नियात्रा-निबन्ध सङ्ग्रह ‘नक्शामा नभएको देश’ पूर्वी अफ्रिकी मुलुक सेसेल्समा लोकार्पण गरिएको छ। साहित्यकार तथा सम्पादक रमेश दाहालद्वारा सम्पादित उक्त कृति मिलाप पब्लिकेशन प्रालि, काठमाडौँले प्रकाशन गरेको हो।

सेसेल्सको राजधानी माहे आइल्याण्डस्थित भिक्टोरियामा ७ जुन २०२६ मा आयोजित कार्यक्रममा पुस्तकको अफ्रिका लोकार्पण सम्पन्न भएको हो। कार्यक्रमको सभापतित्व एनआरएनए सेसेल्सका उपाध्यक्ष प्रेमबहादुर चन्दले गरेका थिए भने प्रमुख अतिथि एनआरएनए अफ्रिका क्षेत्रीय संयोजक मनोज बि.क. तथा विशेष अतिथि एनआरएनए अफ्रिका क्षेत्रीय महिला संयोजक खेसेना लिङ्देन रहेका थिए। कार्यक्रममा एनआरएनए सेसेल्सकी महिला उपाध्यक्ष पवित्रा भट्टराईले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।

प्रमुख अतिथि मनोज बि।क।ले नेपालीहरूका लागि कम परिचित तथा विश्व मानचित्रमा समेत सहजै नदेखिने सेसेल्सजस्तो देशबारे लेखकले आफ्ना अनुभव र अवलोकनलाई साहित्यिक रूप दिएर महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए। उनले उक्त कृतिलाई केवल पुस्तक मात्र नभई ऐतिहासिक दस्तावेजका रूपमा समेत लिन सकिने धारणा व्यक्त गर्दै प्रत्येक नेपालीले पढ्नुपर्ने पुस्तक भएको उल्लेख गरे।

लेखक गणेश खड्काले पुस्तक लेखन यात्राका अनुभव सुनाउँदै आफू सेसेल्स रोजगारीका लागि जान लागेको कुरा गर्दा धेरैले त्यस्तो देशको अस्तित्वबारे नै प्रश्न उठाएको स्मरण गरे। सेसेल्सबारे पर्याप्त जानकारी र सामग्रीको अभाव देखेपछि त्यस देशको खोज, अध्ययन र अनुसन्धानमा जुटेको तथा त्यसकै परिणामस्वरूप ‘नक्शामा नभएको देश’ प्रकाशन गर्न सफल भएको उनले बताए।

पुस्तकका सम्पादक रमेश दाहालले आफ्नो आमुखमार्फत उक्त कृतिलाई नेपाली पाठकका लागि केवल पठन सामग्री मात्र नभई आत्मनिरीक्षणको सशक्त माध्यमका रूपमा चित्रण गरेका छन्। उनका अनुसार यसले समाज, सपना र यथार्थलाई नयाँ दृष्टिकोणबाट बुझ्न प्रेरित गर्दै समकालीन नेपाली नियात्रा-निबन्ध साहित्यमा महत्त्वपूर्ण स्थान ओगट्नेछ।

मिलाप पब्लिकेशन प्रालिका अध्यक्ष कृष्ण भुसालले लेखक नेपाल फर्किएपछि पुस्तकमाथि बृहत् अन्तर्क्रिया कार्यक्रम आयोजना गरिने जानकारी दिए।

एनआरएनए सेसेल्स र अनेसास अफ्रिका महादेशीय च्याप्टरको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा च्याप्टरका सदस्य तथा कवि महेन्द्र भट्टराईले पुस्तकको समीक्षात्मक परिचर्चा गरेका थिए। कार्यक्रमको सहजीकरण अनेसास अफ्रिका च्याप्टरका महासचिव कवि आर.सी. राई तथा सदस्य कवि गायत्री कुलुङले गरेका थिए।