प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध विपक्षी दलहरू आक्रामक, माफी नमागेसम्म संसद् अवरोध जारी रहने

दियोपोस्ट संवाददाता  

काठमाडौँ । प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसद् अवरोधलाई निरन्तरता दिएका छन्। विपक्षीको विरोधका कारण बुधबार बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधिसभा बैठक निर्धारित समयमा बस्न सकेन। संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएका छन्।

संसद्को अवरोध अन्त्य गर्ने प्रयासस्वरूप राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विपक्षी दलहरूसँग छलफलमा जुटेका छन्।

यसैबीच, सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकमा कांग्रेस, एमाले,नेपाली कम्युनिष्ट पार्टी (नेकपा)  र राप्रपाका प्रतिनिधिहरू सहभागी भएका थिए। श्रम संस्कृति पार्टीलाई पनि बैठकमा आमन्त्रण गरिए पनि त्यस पार्टीका तर्फबाट कुनै प्रतिनिधि उपस्थित भएनन्।

विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई गम्भीर विषयका रूपमा लिँदै त्यसको कडा भर्त्सना गरेका छन्। बैठकले प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर आफ्नो भनाइबारे स्पष्टिकरण दिनुका साथै संसद्समक्ष माफी माग्नुपर्ने निष्कर्ष निकालेको कांग्रेस सांसद निश्कल राइले बताए।

यत, एमालेले पनि प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमा चोट पुगेको भन्दै विपक्षी दलहरूको विरोध जारी रहने बताएको छ ।

प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभामा नेपाल-भारत सीमा विवादका विषयमा दिएको अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा व्यापक चर्चा र आलोचना भइरहेको छ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी सम्बन्धी सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले नेपालले पनि केही स्थानमा भारतीय भूमि अतिक्रमण गरेको आशयको अभिव्यक्ति दिएका थिए । यसलाई लिएर विपक्षी दलहरूले आपत्ति जनाएका छन्।

सिफारिस