काठमाडौँ । जुम्लाको कनकासुन्दरी गाउँपालिका-१ स्थित न्याउरीगाडमा निर्माणाधीन आरसिसी पुल तोकिएको समयसीमाभित्र सम्पन्न नहुने देखिएको छ। पुल निर्माण सम्झौताको अवधि सकिन करिब एक महिना मात्र बाँकी रहँदा निर्माण प्रगति अत्यन्त न्यून रहेको पाइएको छ।
२०८१ जेठ १३ गते भएको सम्झौताअनुसार पुल निर्माण कार्य २०८३ असार ३० गतेभित्र सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म पुलको दक्षिणतर्फको एउटा मात्र पिलर निर्माण सम्पन्न भएको छ। उत्तरतर्फको पिलरका लागि फाउन्डेसन तयार गरी सरिया सिधा गर्ने काम भइरहेको छ।
जुम्ला विमानस्थल हुँदै मुगुको रारा ताल पुग्ने छोटो दूरीको मार्गमा पर्ने उक्त पुल निर्माण सुरु भएको झण्डै तीन वर्ष पुग्न लाग्दा पनि अपेक्षित प्रगति हुन नसकेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्। सदरमुकामबाट रारा ताल जाने महत्त्वपूर्ण मार्गमा पर्ने भएकाले पुलको रणनीतिक तथा पर्यटनसम्बन्धी महत्त्व रहेको उनीहरूको भनाइ छ।
पुल निर्माण सम्पन्न नहुँदा विशेषगरी वर्षायाममा स्थानीयवासी, यात्रु तथा पर्यटकले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। स्थानीयवासी लोकेन्द्र बुढाका अनुसार पुल अभावले आवतजावतमा कठिनाइ हुनुका साथै पर्यटन प्रवर्द्धनमा समेत प्रत्यक्ष असर परेको छ।
उनले निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न बारम्बार दबाब दिइए पनि कामको गति सन्तोषजनक नरहेको बताए । न्याउरीगाड क्षेत्रमा वर्षाका बेला सडक चिप्लो हुने, उकालो बाटोमा सवारी सञ्चालन कठिन हुने तथा यात्रुले सास्ती खेप्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।
पुल निर्माणका लागि भ्याटसहित ७ करोड १८ लाख ५४ हजार ४१६ रुपैयाँ लागत अनुमान गरिएको थियो। तर, ५ करोड ५४ लाख ८६ हजार २४७ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। आयोजना पूर्वाधार विकास कार्यालय जुम्लामार्फत कार्यान्वयन भइरहेको छ।
पूर्वाधार विकास कार्यालय जुम्लाका सिनियर डिभिजनल अधिकृत रुपक रावलले निर्माण कार्यमा ढिलाइ भएको स्वीकार गर्दै जुम्लाको चिसो मौसमका कारण चैत महिनासम्म सिमेन्टसम्बन्धी काम गर्न नसकिँदा निर्माण प्रभावित भएको बताए ।
उनका अनुसार हिमाली र तराईका जिल्लाका लागि एउटै समयसीमा र लागत संरचना लागू हुँदा हिमाली क्षेत्रमा तोकिएकै अवधिमा आयोजना सम्पन्न गर्न चुनौती हुने गरेको छ। ठेकेदार कम्पनीले भने २०८४ असारभित्र पुल निर्माण सम्पन्न गर्ने लिखित प्रतिबद्धता जनाएको रावलले जानकारी दिए ।
उक्त पुल निर्माणको जिम्मा एमएसएनसी-एमएनएसजेएनएस जेभी, काठमाडौंले पाएको छ भने स्थानीय निर्माण व्यवसायी तुल्सी रावतले निर्माण व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आएका छन्। निर्माण कार्य जारी रहेको जनाइएको छ।
यस्तै प्रकृतिको अर्को पुल पातारासी गाउँपालिका-४, लुममा पनि निर्माणाधीन अवस्थामा रहेको छ। स्थानीयवासीले निर्माण व्यवसायीको ढिलासुस्ती र सम्बन्धित निकायको कमजोर अनुगमनका कारण विकास आयोजनाहरू समयमै सम्पन्न हुन नसकेको गुनासो गरेका छन्।