काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले सभामुखको अनुमति र कार्यसूची बिना आफैँ समय तोकेर प्रतिनिधि सभा बैठकमा मौनधारण गरेका गरेका छ । सांसदहरुले शहीदहरूको सम्झनामा पाँच मिनेट मौनधारण गरेका हुन् ।
बैठक चलिरहेका बेला नेपाली कांग्रेसका सांसद निष्कल राईले आकस्मिक रूपमा शहीदहरूको सम्मानमा पाँच मिनेट मौनधारण गर्न आह्वान गरेका थिए। उनको आह्वानसँगै संसद्मा उपस्थित अन्य विपक्षी दलका सांसदहरू पनि आफ्नो आसनबाट उठेर मौनधारणमा सहभागी भएका थिए।
सांसदहरूले शहीदहरूको सम्झना र सम्मान व्यक्त गर्ने उद्देश्यले मौनधारण गरे पनि उक्त कार्यक्रम सभामुखको पूर्वस्वीकृति र निर्धारित कार्यसूचीबिना सञ्चालन गरिएको थियो। यही कारणले संसद् सञ्चालनको प्रक्रिया र परम्पराबारे बहस सुरु भएको छ।
घटनाप्रति प्रतिक्रिया जनाउँदै सभामुख डीपी अर्यालले गम्भीर आपत्ति जनाएका छन्। उनले संसद्का सबै गतिविधि कार्यसूची, नियम र सभामुखको निर्देशनअनुसार सञ्चालन हुनुपर्ने उल्लेख गर्दै विपक्षी सांसदहरूले स्वेच्छाले समय निर्धारण गरेर मौनधारण गर्नु संसदीय अभ्यासविपरीत भएको बताए।
सभामुख अर्यालले सांसदहरूको यस्तो कदमले सार्वभौम संसद् र सदनको गरिमामाथि प्रश्न उठाएको टिप्पणी गर्दै यसले संसद्को कार्यव्यवस्थामा समेत अवरोध सिर्जना गरेको बताए।