काठमाडौं । जेन-जी आन्दोलनमा सहभागी भएको आरोपमा पक्राउ परेका सयौँ युवालाई रिहा गर्न माग गर्दै थुनुवाका अभिभावकहरूले पछिल्लो ३२ दिनदेखि माइतीघर मण्डलामा निरन्तर धर्ना दिँदै आएका छन्। सोही क्रममा उनीहरूले राष्ट्रपति कार्यालय शीतल निवास अगाडि समेत धर्ना दिएका छन्।
धर्नाका क्रममा सहभागी अभिभावक र सुरक्षाकर्मीबीच केही समय तनाव सिर्जना भएको छ । जेन-जी अभियन्ता सरिस्मा थापाले प्रधानमन्त्री र गृहमन्त्रीको सवारी हुने भन्दै सुरक्षाकर्मीले प्रदर्शनकारीलाई धकेलेर प्रहरी तालिम केन्द्रतर्फ लगिएको र लछारपछार गर्दै बाहिर निकालेका बताइन् ।
धकेलाधकेलको क्रममा अन्जली श्रेष्ठ र देवसरा भण्डारी बेहोस भएको र उनीहरूलाई उपचारका लागि टिचिङ अस्पताल पठाइएको अभिभावक पक्षले जनाएको छ।
प्रदर्शनकारीहरूले जेनजी आन्दोलनपछि भएको १० बुँदे सम्झौता कार्यान्वयन हुनुपर्ने, पक्राउ परेकामाथि निष्पक्ष छानबिन गरी कानुनी प्रक्रिया अघि बढाइनुपर्ने माग राखेका छन्। जेनजी आन्दोलन सम्बन्धी छानबिन आयोगले दोषी नठहर्याएका व्यक्तिहरूलाई समेत झुटा मुद्दा लगाएर थुनामा राखिएको उनीहरुको आरोप छ । निर्दोष ब्यक्तिलाई थुनामा राखेर सम्झौता विपरीत कार्य गरिएको अभिभावकहरुले बताए ।
राष्ट्रपति कार्यालय अगाडि धर्ना दिने क्रममा सहभागीहरूले पक्राउ परेका युवामाथि लगाइएका अभियोगको निष्पक्ष पुनरावलोकन र रिहाइको माग गरेका छन्। उनीहरूले आफ्ना सन्तान राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखिएको दाबी गर्दै न्याय सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्।
धर्नाका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको तनावपछि पनि अभिभावकहरूले आफ्नो माग सम्बोधन नभए आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी दिएका छन्।