बतास ‘एमएडब्लु’ कमर्सियल भेहिकल्सको तेस्रो वार्षिकोत्सव सामाजिक सेवामूलक कार्यक्रमसहित सम्पन्न

दियोपोस्ट संवाददाता  

काठमाडौं । बतास अर्गनाइजेशन र एमएडब्लु इन्टरप्राइजेजबीचको सहकार्यमा सञ्चालन भइरहेको बतास एमएडब्लु कमर्सियल भेहिकल्स (एमएडब्लु)ले आफ्नो तेस्रो वार्षिकोत्सव देशभर विविध सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत मनाएको छ। कम्पनीले तीन वर्षको सफल यात्रालाई समुदायप्रतिको योगदानसँग जोड्दै सामाजिक हितलाई प्राथमिकतामा राखेको जनाएको छ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले रक्तदान कार्यक्रम आयोजना गरेको थियो, जसमा कर्मचारी तथा स्वयंसेवकहरूको सक्रिय सहभागिता देखिएको थियो। उक्त कार्यक्रमबाट ५१ युनिट रगत संकलन भएको छ, जसले स्वास्थ्य सेवामा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। साथै, निःशुल्क स्वास्थ्य शिविरमार्फत ८७ जना लाभान्वित भएका छन्। यी कार्यक्रमहरू व्यक्तिगत स्वास्थ्यप्रति सचेतना बढाउने र स्थानीय समुदायलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको कम्पनीले जनाएको छ।

पर्यावरण संरक्षणतर्फ पनि कम्पनीले विशेष पहल गरेको छ। देशभरका १४ शाखामार्फत वृक्षारोपण कार्यक्रम सञ्चालन गरी दिगो विकास र स्वच्छ वातावरणको सन्देश प्रवाह गरिएको छ। यस कदमले वातावरणीय प्रभाव न्यूनीकरण गर्दै भविष्यका पुस्ताका लागि हरित वातावरण निर्माणमा योगदान गर्ने विश्वास लिइएको छ।

त्यसैगरी, सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले मातातीर्थस्थित वृद्धाश्रममा खाद्यान्न वितरण कार्यक्रम पनि आयोजना गरिएको थियो। कम्पनीका प्रतिनिधिहरूले ज्येष्ठ नागरिकहरूसँग समय बिताउनुका साथै सँगै भोजन गरेर आत्मीयता साटासाट गरेका थिए। यस कार्यक्रमले वृद्धाश्रममा बसोबास गर्ने व्यक्तिहरूलाई साथ र सहयोग प्रदान गर्ने उद्देश्य पूरा गरेको जनाइएको छ।

कम्पनीले आफ्नो तीन वर्षे यात्रालाई स्मरण गर्दै व्यावसायिक विस्तारसँगै सामाजिक उत्तरदायित्वलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। यस प्रकारका कार्यक्रमहरूले कम्पनीको लक्ष्य केवल व्यापारिक सफलता नभई समाजमा सकारात्मक परिवर्तन ल्याउने दिशामा केन्द्रित रहेको स्पष्ट पार्छ।