सिआईबीको ‘डीएसपी हुँ’ भन्दै ठगी गर्ने युवक पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौँ । आफूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा कार्यरत डीएसपी भएको भन्दै ठगी गर्ने एक युवक पक्राउ परेका छन्। जिल्ला गुल्मी रुरु गाउँपालिका-२ ग्वादीका अन्दाजी २७ वर्षीय रिजन भनिने राजेश विश्वकर्मा पाल्पाको अर्गली क्षेत्रबाट पक्राउ परेका हुन् ।

उनले फेसबुकमार्फत एक महिलासँग चिनजान बढाई विश्वासमा पारेर नगद ठगी गरेको प्रहरीले जनाएको छ। ती महिलाले आफ्नो श्रीमानलाई वैदेशिक रोजगारीमा पठाउनका लागि काठमाडौंमा रकम अड्किएको बताएको अवस्थामा विश्वकर्माले आफू प्रहरी अधिकृत भएको दाबी गर्दै रकम निकालिदिने आश्वासन दिएका थिए।

विश्वकर्माले विभिन्न बहाना बनाउँदै ‘छोरालाई इन्जिनियर पढाउन अमेरिका पठाउन लागेको छु’ भन्दै तत्काल नगद अभाव रहेको उल्लेख गरी ती महिलाबाट पाल्पाको तिनाउ गाउँपालिका अन्तर्गत सिद्धबाबा मन्दिर नजिक भेटेर १ लाख ७० हजार रुपैयाँ लिएका थिए। रकम लिएपछि उनले सम्पर्क विहिन भएका थिए।

पीडित महिलाले २०७३ साल वैशाख ८ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिएपछि घटनाबारे अनुसन्धान सुरु गरिएको थियो। अनुसन्धानका क्रममा आरोपित व्यक्ति नेपाल प्रहरीमा कार्यरत नभएको पुष्टि भएपछि खोजतलास तीव्र पारिएको थियो।

अन्ततः २०८३ साल वैशाख १० गते तानसेन नगरपालिका-१४ अर्गली क्षेत्रमा फोटोको आधारमा पहिचान गरी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। हाल उनलाई पाल्पा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीका अनुसार सामाजिक सञ्जालमार्फत हुने यस्ता ठगी घटनाप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरिएको छ।