थापाथलीस्थित सुकुमबासी बस्तीमा आज पनि डोजर लगाइदै, व्यवस्थापन अझै अन्योलमा

दियोपोस्ट संवाददाता  

काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुमबासी बस्तीमा सुरु गरिएको टहरा भत्काउने अभियान आइतबार पनि जारी रहेको छ। शनिबार बिहानदेखि काठमाडौं महानगरपालिकाको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरी अनधिकृत संरचना हटाउने कार्य तीव्र बनाइएको हो।

अहिलेसम्म प्राप्त विवरणअनुसार उक्त क्षेत्रमा रहेका घरटहरामध्ये करिब ४० प्रतिशतभन्दा बढी संरचना भत्काइसकिएको छ। थापाथली क्षेत्रमा कुल करिब १४३ घरधुरी रहेको अनुमान गरिएकामा धेरैजसो बस्ती खाली भइसकेको र बाँकी संरचना हटाउने काम जारी रहेको अधिकारीहरूले जनाएका छन्।

महानगरपालिकाले नदी किनार अतिक्रमण हटाउने अभियान अन्तर्गत बस्ती खाली गराएको जनाएको छ। अभियानका क्रममा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको भए पनि हालसम्म अवस्था सामान्य रहेको बताइएको छ।

बस्ती हटाइएपछि प्रभावित सुकुमबासीहरूको व्यवस्थापन भने चुनौतीपूर्ण बनेको छ। केही परिवारलाई अस्थायी रूपमा दशरथ रंगशालामा राखिएको छ भने २७ परिवारका ८९ जनालाई सुन्दरीघाटस्थित अस्थायी शिविरमा सारिएको छ। त्यहाँ आधारभूत आवास, स्वास्थ्य सेवा र मनोसामाजिक परामर्श उपलब्ध गराइएको सम्बन्धित निकायले जनाएको छ।

सरकारले ‘वास्तविक सुकुमबासी’ पहिचान गरी वैकल्पिक बसोबासको व्यवस्था गर्ने बताएको छ। यसका लागि नागार्जुन (इचंगु), कीर्तिपुर, बोडे, खरीपाटी र चाँदबाग लगायतका स्थान प्रस्ताव गरिएको छ।

तर, ती स्थानमा तत्काल बसोबासको व्यवस्था हुन नसक्दा धेरै सुकुमबासी आफैं डेरा खोज्न बाध्य भएका छन्। केहीले आफन्तकहाँ सरेको र केहीले कुपण्डोल लगायतका क्षेत्रमा कोठा खोजिरहेको बताएका छन्।

सरकारले सुकुमबासी समस्या समाधानका लागि वास्तविक र अवास्तविक छुट्याएर मात्र व्यवस्थापन गर्ने नीति लिएको भए पनि तत्काल आवास, रोजगारी र जीविकोपार्जनको समस्या देखिएको छ।

थापाथली बस्ती हटाउने अभियानले शहरी व्यवस्थापनको प्रयासलाई तीव्रता दिएको भए पनि सुकुमबासीहरूको दीर्घकालीन पुनर्वास स्पष्ट नहुँदा प्रभावित परिवारहरू अन्योलमा परेका छन्।