धादिङमा ईभी माइक्रो दुर्घटना, १२ जना घाइते

दियोपोस्ट संवाददाता  

काठमाडौं । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ईभी माइक्रोबस धादिङमा दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बा १३ च २९४१ नम्बरको माइक्रोबस पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका-६ आदमघाट नजिकै दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार माइक्रोबस अनियन्त्रित भई सडकबाट चिप्लिँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनापछि स्थानीयवासी र प्रहरीको टोलीले तत्काल उद्धार गरी घाइतेहरूलाई नजिकका स्वास्थ्य संस्थामा पुर्‍याएका थिए।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूको उपचार धादिङकै अस्पतालमा भइरहेको बताइएको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।