वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी एक उच्चस्तरीय कार्यक्रममा आक्रमण प्रयास भएको छ। उक्त घटना वासिङ्टनस्थित वार्षिक ह्वाइट हाउस संवाददाता डिनरका क्रममा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
ट्रम्प सहभागी भएको उक्त कार्यक्रममा अचानक गोली चलेको आवाज सुनिएपछि सुरक्षा निकायहरू सक्रिय भएका थिए। त्यसपछि राष्ट्रपति ट्रम्प, प्रथम महिला मेलानिया ट्रम्प तथा अन्य उच्च अधिकारीहरूलाई तत्काल सुरक्षित स्थानमा सारिएको थियो।
प्राथमिक विवरण अनुसार एक सशस्त्र व्यक्ति कार्यक्रम स्थल नजिकै प्रवेश गर्ने प्रयास गरेको थियो। सुरक्षाकर्मीहरूले तुरुन्तै हस्तक्षेप गर्दै संदिग्धलाई नियन्त्रणमा लिएका छन्। घटनामा कुनै ठूला मानवीय क्षति नभएको र राष्ट्रपति ट्रम्प पूर्ण रूपमा सुरक्षित रहेको पुष्टि गरिएको छ।
प्रत्यक्षदर्शीहरूले बताए अनुसार गोलीजस्तो आवाज आएपछि कार्यक्रममा सहभागीहरू त्रसित बनेका थिए र धेरैजना टेबलमुनि लुकेका थिए। सुरक्षाकर्मीहरूले स्थललाई घेरा हालेर नियन्त्रणमा लिएपछि अवस्था सामान्य बनाइएको थियो।
यस घटनालाई अमेरिकी सुरक्षा निकायहरूले गम्भीर रूपमा लिएको जनाइएको छ। यो घटना अमेरिकी राष्ट्रपतिको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाउने खालको मानिएको छ। यद्यपि तत्काल प्रतिक्रिया र कडा सुरक्षा व्यवस्थाका कारण सम्भावित ठूलो दुर्घटना टरेको विश्लेषण गरिएको छ।