गृहमन्त्रीको निर्देशन र अदालतकै आदेश मान्दैनन् भक्तपुरका एसपी श्रेष्ठ : बर्दीकै दाउ !

दियो पोस्ट  

काठमाडौं, २९ चैत्र । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष तथा भक्तपुर जिल्ला पूर्व अध्यक्ष कृष्ण प्रसाद ताम्राकारको ठगी धन्दामा भक्तपुर प्रहरीले संरक्षण गरेको फेला परेको छ ।
शुक्रबारको आर्थिक दैनिकमा खबर छ–भक्तपुर प्रहरी प्रमुख उपरिक्षक हिमालय कुमार श्रेष्ठले गृहमन्त्री राम बहादुर थापा बादलको लिखित निर्देशनलाई समेत पालना नगरेपछि विवाद सतहमा आएको छ ।


एसपी श्रेष्ठले उच्च अदालत पाटनको आदेशलाई समेत लत्याएको पाइएको छ ।
भक्तपुरकै स्थायी बासिन्दा सरु महत र उनका पति मनसुन विक्रम शाहबाट ताम्राकारले १ करोड १५ लाख ४७ हजार ३ सय ६३ रुपैयाँ ठगी गरेपछि ताम्राकार विरुद्ध पीडितले प्रहरी प्रशासन गुहारेका थिए ।
भक्तपुरको कमल बिनायकमा सञ्चालित ‘होटल यातु’ मा शेयर लगानी गराएर शाह र उनकी पत्नि महतलाई एक करोड १५ लाख रुपैयाँ ठगी गरेको पाइएका थियो । होटल सञ्चालनमा आउनु अघि नै व्यवस्थापनमा गुण्डा नाइके गणेश लामाका मान्छे भनेर चिनिएिका कुन्साङ लामालाई ल्याएर आफूलाई त्यहाँबाट योजना बद्ध रुपमा बाहिर निकालेको र आफूनो लगानी गरेको १ करोड १५ लाख रुपैयाँ ठगिएको भन्दै उनीहरुले प्रहरी प्रशासन गुहारेका थिए ।

ताम्राकारले ठगी गरेकाे हाेटल यातुकाे संरचना

महतले आफूलाई ठगी गरिएको भन्दै ताम्राकार विरुद्ध २०७४ चैत्र ६ गते ठगीको जाहेरी दिएकी थिइन् । जाहेरी दिएको केही दिनमा पक्राउ परेका ताम्राकार आफूले ठगी गरेको रकम एक हप्ताभित्र फिर्ता गर्ने मौखिक बचन दिएर छुटेका थिए । तर, सम्पर्कमा आउनुको सट्टा ताम्राकार फरार भएपछि सिआइबीले उनलाई पुन पक्राउ गरेको थियो ।
दोस्रो पटक पक्राउ परेका ताम्रकारलाई मुलुकी ऐनको फौजदारी मुद्दा चलाउन भन्दै सिआइबीले भक्तपुर प्रहरी परिसर पठाएको थियो ।
तर भक्तपुर प्रहरी परिसरकी तत्कालिन एसपी किरण राणाले ताम्राकारलाई मुद्दा चलाउनुको सट्टा ‘उहाँलाई म इन्सपेक्टर हुँदादेखि नै चिन्छु । केपी दाई त्यस्तो मान्छे होइन’ भन्दै भन्दै छाडिदिएकी थिइन् ।
भक्तपुर प्रहरीकै सहयोगमा उम्कीएका ताम्राकार आफूलाई गैरकानुनी रुपमा धरपकड गर्न खोजेको भन्दै उच्च अदालत पाटनको शरणमा पुगेका थिए । ठगी मुद्दालाई देवानी प्रकृतिको मुद्दाको रुपमा बङ्ग्याउन ताम्राकारले उच्च अदालत पाटनमा निशेषाधाज्ञा जारी गरिपाउँ भन्दै मुद्दा हालेका थिए ।
२०७५ वैशाख २५ गते पाटन उच्च अदालतमा निषेधाज्ञा जारी गरिपाउँ भन्दै पुगेका ताम्राकारले जेठ २८ गते नै निषेधाज्ञा लिएका थिए । उच्च अदालत पाटनका न्यायाधीशहरु रेवन्त बहादुर कुँवर र राम प्रसाद अधिकारीको संयुक्त इजलाशले देवानी मुद्दा नभई फौजदारी ठगी महल अन्तर्र्गत प्रहरीले कारबाही गरेको र प्रहरी अनुसन्धान र कारबाही नरोक्नु’ भन्दै जेठ १४ गते निषेधाज्ञा नै खारेज गरिदिएको थियो ।
प्रहरीलाई कारबाही गर्न अदालतले समेत आदेश दिएपनि भक्तपुर प्रहरीले कारबाही नगरेपछि पीडित परिवार महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा टेकु पुगेको थियो ।
अपराध महासाखाका एसएसपी धिरज प्रताप सिंहको निर्देशनमा गत जेठ २३ गते ताम्राकारलाई भक्तपुरबाट पक्राउ गरेको थियो । पक्राउपछि मुद्दा चलाउनका लागि भक्तपुर प्रहरीमा कागजात र ठगीको प्रमाण सहित पठाइएको थियो । पीडित शरु महतका अनुसार त्यतिबेला भक्तपुर प्रहरी कार्यालयमा नेकपाका सांसद तथा पूर्व उद्योग मन्त्री महेश बस्नेत प्रहरी परिसरमै पुगेका थिए । भक्तपुर प्रहरीका तत्कालिन एसपी हिमालय श्रेष्ठले बस्नेतकै दबावमा मुद्दा चलाउन दर्ता गर्न अस्विकार गरेका थिए । पीडित परिवारका अनुसार त्यतिबेला प्रहरी प्रमुख श्रेष्ठले उल्टै जाहेरकर्तालाई ‘चलिरहेको होटल कोटियार्डमा समेत’ गाँजा राखेर उल्टै जेलमा सडाइदिने धम्की दिएका थिए ।

२ दिनसम्म प्रहरी हिरासतमा बसेका ताम्राकारलाई मुद्दा चलाउन नसकेका भक्तपुर प्रहरी प्रमुख हिमालय कुमार श्रेष्ठले जेठ २५ गते पुन ताम्राकारलाई महानगरीय प्रहरी अपराध अनुशन्धान महासाखा टेकु नै फिर्ता गरेका थिए । प्रहरी बरिष्ठ उपरिक्षक धिरज प्रताप सिंहलाई सांसद बस्नेतले ‘जागिर खाइदिने’ धम्की दिएको र धम्कीपछि सोही राती एक हप्ता भित्र उपस्थिति हुने र रकम बुझाउने शर्तमा छाडिएको थियो ।
तर, प्रहरी कार्यालय हाजिर हुने लिखित कबोल गरेर छुटेका ताम्राकारले फेरी पीडित परिवार र प्रहरीलाई छक्याएका थिए ।

प्रहरीले जाहेरी समेत दर्ता नगरेपछि पीडित परिवारले गृहमन्त्री राम बहादुर थापालाई समेत भेटेका थिए । ४५ मिनेट लगाएर घटना सुनेका गृहमन्त्री थापाले तुरुन्त प्रहरी प्रमुख सर्वेन्द्र खनाल, भक्तपुरका सिडिओ, तत्कालिन उपत्यका हेर्ने डिआइजी मनोज नेउपाने र भक्तपुरका एसपी हिमालय श्रेष्ठलाई गृहमन्त्रालयमा बोलाएका थिए । गृहमन्त्रीकै अगाडी प्रहरी प्रमुख खनालले ‘यस्तो विषय मन्त्रालयमा कसरी आइपुग्यो ?’ भन्दै डिआइजी मनोज नेउपानेलाई हप्काएका थिए ।
गृहमन्त्री थापाले समेत निर्देशन दिएपछि पीडित परिवार गृहमन्त्तालयबाट न्याय पाउने आसमा बाहिरिएका थिए ।
गत असार ३ गते गृहमन्त्रालयले मन्त्री थापाको प्रत्यक्ष निर्देशन अनुसार ताम्राकारलाई कारबाही गर्नु भन्दै प्रहरी प्रधान कार्यालयलाई पत्र काटेको थियो । तर, भक्तपुर प्रहरी प्रमुख एसपी श्रेष्ठले पीडित परिवारलाई उल्टै धम्की र तनाव दिएको उनीहरुको आरोप छ ।
‘हामीलाई केही बेरमा एसपी हिमालय कुमार श्रेष्ठको फोन आयो । ‘मेरो कम्प्लेन गृहमन्त्रालयमा पुर्याउने ? तिमीहरु बोलाउँदा परिसर नआउने ? माथिको पावर लगाउने ?’ यस्तै यस्तै शब्दले मलाई थर्काउनु भयो ,’ पीडित शाह भन्छन् ।

गृहमन्त्रालयले ताकेता गरेको झन्डै २३ दिनपछि मात्रै एसपी श्रेष्ठले जाहेरी दर्ता गरेका थिए । गत असार २४ गते जाहेरी दर्ता भएपनि ठगी गर्ने ताम्राकार खुलमखुल्ला हिँडी रहेका छन् । भक्तपुरका विभिन्न कार्यक्रममा प्रहरी एसपी श्रेष्ठसँगै उनी भेटिएपनि कुनै कारबाही भएको छैन ।
स्रोतका अनुसार भक्तपुर प्रहरी प्रमुख श्रेष्ठलाई ठगी आरोपी ताम्राकारले आर्थिक प्रभावमा पारेका थिए ।
विश्वस्त स्रोत भन्छ्,‘भक्तपुरका सांसद तथा पूर्व मन्त्री महेश बस्नेतले समेत ताम्राकारबाट मोटो रकम लिएका थिए ।
ठगी मुद्दामा प्रहरीले कारबाही अघि बढाए ताम्राकारलाई तीन वर्षदेखि ७ वर्षसम्म सजाय हुने कानुनी व्यवस्था छ । सोही कानुनी छिद्रबाट तर्सिएका ताम्राकार मोटो आर्थिक रकम ठूला नेता र प्रहरी प्रशासनलाई खर्च गरेर प्रशासनको आँखा छल्दै आएका छन् ।

बुटिक होटलको रुपमा परिचित होटल यतुमा मनसुनका श्रीमती शरु महतको २४ प्रतिशत र उनीहरुकै अर्को होटल कोटियार्डको २४ प्रतिशत गरी जम्मा ४८ प्रतिशत शेयर रहेको छ । महत र होटल कोटियार्डको तर्फबाट ९६ लाख शेयरमै लगानी गरेको कागजमा उल्लेख छ । त्यस्तै होटल निर्माणमा आफूले ३० लाख भन्दा धेरै लगानी गरेको शाहको भनाई रहेको छ । होटल सञ्चालनमा नआउँदै गुण्डार्दी शैलीमा शेयर कब्जा गरेका ताम्राकारले अहिले आफ्नो श्रीमतीको नाममा होटल याचु नाम राखेर सोही भौतिक संरचनामा नयाँ होटल सञ्चालन गर्दै आएका छन् ।