बालबालिका कि गुम्बाले लान्छन्, कि चर्चले

दियो पोस्ट  

जन्मिनेबित्तिकै नाम टिप्दै ‘स्पोन्सर’ आउँछन्, गाउँका स्कुल भटाभट बन्द

गोरखा ,वैशाख ५ । गोरखाको चुमनुब्री गाउँपालिका पुग्नुभयो भने तपाईंलाई सोध्न मन लाग्छ— के यहाँ बालबालिका छैनन् ? प्रश्न खस्न नपाउँदै यहाँका बासिन्दा भनिदिन्छन्— छन्, तर सहरमा। अथवा गुम्बामा। अथवा चर्चमा ।

किनभने धर्मगुरुहरूले कसको घरमा बच्चा हुर्किंदै छ भन्ने पहिला अध्ययन गर्छन्। बच्चाको नाम टिप्छन्। अनि हुर्किएपछि उनीहरूलाई काठमाडौंका थानकोट, गागलफेदी, फर्पिङ, चोभार आदि स्थान अथवा भारतसम्मै पनि पुर्‍याउँछन्। गुम्बा र चर्चका एजेन्टले हुर्केका गाउँका बालबालिका सहर लगिदिएकैले चुमनुब्रीका विद्यालय धमाधम बन्द हुन थालेका छन्। विद्यार्थी नपाएपछि गाउँपालिकाका पाँच विद्यालय बन्द भएका छन्।

मनास्लु इन्द्रेणी प्रावि नाम्रुङ, पेमाथाङ प्रावि लोक्पा, छुलेनिले आधारभूत विद्यालय निले, जनज्योति प्रावि स्यो, क्वाक आधारभूत विद्यालय क्वाक र क्य्राक प्रावि क्य्राक बन्द भएको गाउँपालिकाको शिक्षा शाखाले जानकारी दिएको छ। विद्यार्थीविहीन भएपछि बिहीस्थित गुम्बा हिमाली प्रावि बन्द भएको थियो। विद्यालय भवन भत्काएर त्यस ठाउँमा हेलिप्याड निर्माण भएको थियो। एक वर्षअघि फेरि प्रारम्भिक बालविकास (ईसीडी) कक्षा सञ्चालन गर्न थालिएको वडाध्यक्ष सोनाम ग्याल्जेनले बताए।

विद्यार्थी कम भएपछि छाक गाउँको हिमचुली आधारभूत विद्यालयमा कक्षा घटुवा गरेर ईसीडी मात्र सञ्चालन गरिएको स्थानीय धावा लामाको भनाइ छ। बुद्ध प्रावि, साम्दो आधारभूत विद्यालय, प्रोक आधारभूत विद्यालय र सिप्चेत प्राविमा पनि कक्षा घटुवा गरेर ईसीडीसम्म मात्र सञ्चालन गरिएको स्रोतव्यक्ति रोहिणीप्रसाद खनालले बताए। पाँच कक्षासम्म चलेको छेकम प्रावि र छुलेनिले प्राविमा पनि घटुवा गरेर तीन कक्षासम्म मात्र पढाइ हुन्छ। तिनमा पनि विद्यार्थी मुस्किलले १०–१२ जना मात्र हुने स्थानीय ङवाङ सोनामले जानकारी दिए।बन्द र घटुवा गरिएका विद्यालयका शिक्षक ल्हो आवासीय विद्यालय, नुब्री आवासीय विद्यालय, सेराङ आवासीय विद्यालय, बुद्ध आवासीय विद्यालय र बुद्ध आवासीय माविमा समायोजन गरिएको खनालले बताए।

‘विद्यार्थी र शिक्षक नभएपछि स्कुल पनि चलेको छैन’, नाम्रुङका स्थानीय छिरिङ याङ्गुङ लामा भन्छन्, ‘यहाँका बालबालिका काठमाडौंको चोभार र फर्पिङका गुम्बामा पुर्‍याइएको छ।’ लामा गुरुहरूले दातृ निकाय खोजेर फर्पिङ, चोभारमा गुम्बा खोलेका छन्। त्यहाँ बोर्डिङ पनि चलाएका छन्। ‘घर छोड्न सक्ने जति सबै त्यतै गएका छन्। बच्चा जन्मिनेबित्तिकै गुरुहरू नाम लेख्न आउँछन्’, लामाले भने, ‘यहाँ बच्चा नभएपछि तल्लो भेग आरुघाटतिर पनि कोही बच्चा छन् भने सम्पर्क गराइदिनू, हामी लगिदिन्छौं भनेर खोज्छन्।’

कसको घरमा बच्चा हुर्किंदै छ भन्ने अध्ययन गरेर धर्मगुरुहरूले बच्चाको नाम टिप्ने स्थानीय धावा लामा बताउँछन्। ‘बच्चा हुर्किनेबित्तिकै गुम्बा र चर्चका प्रतिनिधि घरघरै नाम दर्ता गर्न आउँछन्’, लामा भन्छन्, ‘उनीहरूले खान, बस्न, ड्रेस, औषधोपचार सबै व्यवस्था हुन्छ भनेपछि सबैले उतै लान्छन्।’ खाने बस्नेलगायतको सुविधा पाउने भनेपछि अभिभावकले लोभिएर बच्चा पठाउने गरेको उनको भनाइ छ।

तर यहाँ पहिले यस्तो थिएन। केही वर्षयता धर्मगुरुहरूले सानै उमेरका बच्चालाई सहरमा पढाइदिने प्रलोभनमा लैजाने गरेको उनले बताए। ‘चर्चका मान्छे आएर गाउँका बालबालिका पढाइदिने भन्दै लैजान थालेपछि मानिआएको धर्म जोगाउन लामा गुरुहरूले पनि त्यसै गर्न थाले’, उनी भन्छन्, ‘अहिले कोही गुम्बाको स्पोन्सर र कोही चर्चको स्पोन्सरमा सहरका स्कुलमा पुगेका छन्।’

केही स्कुल भने बाहिरको विद्यार्थीका भरमा टिकेका छन्। गाउँका बालबालिका सहरतिर गएपछि बाहिरबाट काम गर्न आउने कामदारका छोराछोरी र धेरै टाढाका गाउँबाट आएका बालबालिकामात्र विद्यालयमा पढिरहेको उनले बताए। ‘हाम्रो आसपासमा करिब दुई सय घरधुरी छन्। तर गाउँको नुब्री आवासीय स्कुलमा ८० विद्यार्थी छन्। उनीहरू पनि धेरैजसो बाहिरबाट आएका हुन्’, उनले भने।

शिक्षक अनुपस्थित र पढाइ अनियमित भएपछि अभिभावकले बालबालिका जिम्मा लगाउन बाध्य भएको स्थानीयको भनाइ छ। ‘गाउँको स्कुलमा सरमिस छैनन्, पढाइ पनि हुन्न। त्यही भएर बुबाआमाले बच्चा जति स्पोन्सर खोज्दै काठमाडौं पठाएका हुन्’, स्थानीय लाक्पाडुन्डुप लामा भन्छन्, ‘बालबच्चा नभएपछि सरकारले स्कुलको दरबन्दी काटेर कोही गप, कोही सेराङको स्कुलमा पठाएको छ।’

सातआठ वर्षमाथिका बालबालिका गाउँमा नरहेको साम्दोका वडा सदस्य निमा दोर्जे बताउँछन्। ‘छसात वर्ष लागेपछि सबै काठमाडौं जान्छन्’, उनले भने, ‘कोही काठमाडौंका गुम्बामा पढ्छन्, कोही अभिभावकले स्पोन्सर खोजेर लामाले चलाएको बोर्डिङमा पढाउँछन्।’ बालबालिका गाउँमा नरहनुमा सरकार बढी दोषी रहेको उनको भनाइ छ। ‘हाम्रोतिर त सरकार छैन’, उनी भन्छन्, ‘स्रोतव्यक्ति र विद्यालय निरीक्षकले बेलाबेला अनुगमन गर्ने, शिक्षक नभेटिए त्यसको कारण पत्ता लगाएर एकदुईपटक कारबाही गर्‍यो भने शिक्षक, विद्यार्थी नियमित हुन्थे।’ दुर्गममा सरकारको नजर नपुगेको उनको भनाइ छ।

विद्यार्थी संख्या धेरै देखाएर छात्रवृत्ति, पाठ्यपुस्तक, पीसीएफबापतको रकम आइरहने भएकाले भूपूविद्यार्थीको पनि नाम नकाटिने स्थानीय एक युवाको टिप्पणी छ। विद्यार्थी नभए पनि निरन्तर आउने सुविधा कसले लिइरहेको छ भन्नेबारे खोजी हुनुपर्ने उनी बताउँछन्।

मनास्लु पर्यटकीय क्षेत्रभित्र पर्ने भएकाले सोही क्षेत्रमा घर भएका शिक्षक होटल व्यवसायमा व्यस्त हुन्छन् भने बाहिर घर भएका शिक्षक विद्यालय नआउने स्थानीय बासिन्दा बताउँछन्। ‘शिक्षकहरू होटलमा व्यस्त हुन्छन्’, स्थानीय सोनाम लामा भन्छन्, ‘वैशाखमा स्कुल खोले जस्तो गर्छन्। जेठअसारमा यार्सागुम्बा टिप्न जान्छन्। साउन, भदौ, असोज, कात्तिक र मंसिरसम्म पर्यटकको भीड लाग्छ। उनीहरूलाई होटलमा भ्याइनभ्याइ हुन्छ। पुस लागेपछि स्कुल बन्द गरेर एकैपटक वैशाखमा खोल्छन्। बाहिर घर भएका शिक्षक आउँदैनन्।’ विद्यार्थीको त्रैमासिक तथा वार्षिक परीक्षाबारे पनि कसैले थाहा नपाएको उनको भनाइ छ।

छेकम्पारका विद्यालयमा सट्टा (खेताला) शिक्षकको प्रचलन रहेको स्थानीय दोर्जे लामा बताउँछन्। सरकारी विद्यालयमा पढेका बालबालिकाको तुलनामा विभिन्न धार्मिक संस्थाले पढाएका विद्यार्थीले अवसर पाउने भएकाले यस्तो भएको शिक्षा शाखा प्रमुख नारायण अधिकारीको तर्क छ। ‘सरकारी विद्यालयमा पढेका बालबालिकाले धमाधम काम पाए भने अरूलाई पनि पढूँपढूँ लाग्छ’, उनी भन्छन्, ‘गुम्बा र चर्चले पढाइदिएका बालबालिकाले धेरै सुविधा पाउँछन्। पढिसकेपछि पनि विदेश लागिदिन्छन्। त्यसैले विद्यार्थी गाउँको स्कुल छाडेर उनीहरूकै पछि लागेका हुन्।’विहिबारको अन्नपुर्ण पोष्टमा खबर छ ।