पर्वत, वैशाख १५ । पर्वतमा निजी विद्यालय छाडेर सरकारी विद्यालयमा भर्ना गराउनेको सङ्ख्या बढ्दै गएको छ ।
जिल्लाका विभिन्न विद्यालयमा कार्यरत शिक्षक, अभिभावक र विभिन्न स्थानीय तहका जनप्रतिनिधिले पनि निजीबाट बालबालिकालाई छुटाएर सरकारी विद्यालयमा भर्ना गराउन थालेका हुन् । अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेपछि जलजला गाउँपालिका–९ बनौका जनप्रतिनिधि र शिक्षक तथा अभिभावकले आफ्ना बालबालिका सामुदायिक विद्यालयमा भर्ना गरिएको छ । बनौले सरकारी निकायमा आवद्ध भएका र जनप्रतिनिधिले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गराउनुपर्ने निर्णय गरेको थियो ।
वडाध्यक्ष गौबहादुर पुनले आफ्नी छोरीलाई निजी विद्यालबाट छुटाएर शनिबार स्थानीय बनौ माविमा भर्ना गराउनुभयो । उहाँ मात्र होइन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बरबहादुर पुर्जाले पनि आफ्ना दुई छोरीलाई कक्षा १ र कक्षा ४ मा भर्ना गराउनुभयो । त्यस्तै वडा सदस्य पार्वती सर्किनीले दुई छोराछोरी, विव्यस सदस्य टीकाराम पुर्जा, शिक्षिका गौमाया पुर्जा, मनकुमार गर्वुजा, सविता फगामीलगायतले पनि आ–आफ्ना बालबालिकालाई गाउँमै रहेको र केही सदरमुकाममा रहेको निजी विद्यालयबाट छुटाएर गाउँमै सामुदायिक विद्यालयमा लगेका छन् ।
वडाध्यक्ष गौबहादुर पुनले राज्यको भर्ना अभियानलाई सघाउ पु¥याउन र सरकारी निकायमा आवद्ध व्यक्ति सरकारी विद्यालयप्रति उत्तरदायी बन्नुपर्छ भन्ने मान्यता राखेर सबैले सामुदायिक विद्यालयमा भर्ना गराएको बताउनुभयो । उहाँले गाउँमा रहेको एक मात्र मावि बनौ माविमा अङ्ग्रेजी माध्यमबाट पढाइ शुरु गर्ने, तल्लो तहमा निजी विद्यालयजस्तै नर्सरी, केजी र मन्टेश्वरी विधिबाट पढाइ सञ्चालन गर्न थालेपछि निजी विद्यालय छाड्नेको सङ्ख्या बढेको बताउनुभयो । उहाँले आफ्नो विद्यालयमा मात्र ८८ विद्यार्थी नयाँ भर्ना भएको जानकारी दिनुभयो ।
निजी विद्यालयबाट सामुदायिक विद्यालयमा विद्यार्थी स्थानान्तरण गर्ने अभिभावक तथा शिक्षकलाई शनिबार एक कार्यक्रमका बीच दोसल्ला र अबिर लगाएर सम्मान गरिएको वडाध्यक्ष पुनले जानकारी दिनुभयो ।
यस्तै सदरमुकाम कुश्माबजारमा रहेको शिवालय नमूना माध्यमिक विद्यालयका शिक्षक तथा अभिभावकले पनि आफ्ना बालबालिकालाई आफँैले अध्यापन गराउने विद्यालयमा स्थानान्तरण गरेका छन् । उनीहरूले गत आइतबार सामुदायिक विद्यालयमा सामूहिक रूपमा भर्ना गराएका हुन् ।
निजी विद्यालयमा अध्ययन गरेका विद्यार्थी एसइई उत्तीर्ण भएपछि उच्च शिक्षामा कमजोर हुने र अन्य व्यवहारिक रूपमा समेत घुलमिल हुन नसक्ने भएकाले सामुदायिकमै पढाउनु उपयुक्त हुने शिक्षक आनन्द शर्माले जानकारी दिनुभयो ।
यता नारायण माध्यमिक विद्यालय कुश्माले निजी विद्यालय छाडेर आउने विद्यार्थीलाई कक्षा ९ मा प्रवेश परीक्षासमेत लिएको छ । वर्षेनी कक्षा ८ को पढाइ सकेर कक्षा ९ मा भर्ना हुन आउनेका लागि प्रवेश परीक्षा लिने र उत्तीर्ण हुनेलाई मात्र भर्ना गराउने गरिएको प्रधानाध्यापक अम्विका लोहनीले जानकारी दिनुभयो । उक्त विद्यालयमा एक हजार २०० विद्यार्थी छन् । विगत वर्षभन्दा यस वर्ष सामुदायिक विद्यालयमा जाने विद्यार्थीको सङ्ख्या बढेको निजी विद्यालयले जनाएका छन् ।
रैथाने बाली संरक्षणमा बागलुङ र पर्वतका कृषक
परम्परागत र रैथाने बालीनालीको संरक्षणका लागि पर्वतमा अभियान थालिएको छ । कृषि ज्ञान केन्द्र पर्वतको सक्रियतामा खेतीबालीमा विषादी निरुत्साहित गर्दै रैथाने बालीको संरक्षण गर्ने अभियान शुरु गरिएको हो ।
जैविक (अर्गानिक) उत्पादन जिल्ला सङ्घ गठन गरेर बालीनाली संरक्षणमा सक्रियता बढाएको कृषि ज्ञान केन्द्रका प्रमुख बासुदेव रेग्मीले जानकारी दिनुभयो । पर्वत र वागलुङ जिल्लाका अर्गानिक उत्पादक कृषक समेटेर अर्गानिक उत्पादक जिल्ला कृषक सङ्घ गठन गरिएको हो ।
वागलुङ जिल्लाका १० स्थानीय तहका अगुवा अर्गानिक कृषक र पर्वत जिल्लाका सात स्थानीय तहका अगुवा कृषकको भेलाले १९ सदस्यीय समिति गठन गरेको छ ।
ग्रामीण भेगमा पाइने पुराना जातका बाली तथा अन्नको उत्पादन बढाउन र रासायनिक मल र विषादी प्रयोग हटाउँदै प्राङ्गारिक मलखाद प्रयोग गरेर उत्पादन बढाउन समिति गठन गरिएको समितिका अध्यक्ष ऋषिराम भुसालले बताउनुभयो । बालीनालीमा पुरानै चक्र फर्काउन समितिले स्थानीय हावापानीमा पाइने बालीनाली पहिचान र प्रवद्र्धन गराउन पहल गर्ने भुसालले बताउनुभयो ।
बागलुङ जिल्लाका निसीखोला, काठेखोला, ढोरपाटन, गलकोट, जैमुनीजस्ता विकट बस्तीमा उत्पादन हुँदै आएको अन्नपातको पहिचान र त्यसको पुरातन प्रवद्र्धन पद्धति कायम राख्न अर्गानिक समितिको आवश्यक रहेको ज्ञान केन्द्र प्रमुख वासुदेव रेग्मीले बताउनुभयो ।
यस्तै पर्वतका उच्च भेगीय वस्तीहरूमा उत्पादन हुने आलु, फापर, उवा, जौ, ढकायो, कोदो, धान, जुनेलो, पिडालु, मकै जस्ता रैथाने उत्पादनलाई संरक्षण गर्न पनि समिति सक्रिय रहने समितिका पदाधिकारीहरूले प्रतिबद्धता गरेका छन् ।
समितिमा १७ स्थानीय तहलाई समेटिने गरी १९ सदस्य कायम गरीएको छ । पाँच सल्लाहकारसमेत राखिएको छ । समितिको अध्यक्षमा ऋषिराम भुसाल, उपाध्यक्षमा नरुमती पुन, सचिवमा चीरनकुमार घर्तीमगर, कोषाध्यक्षमा थानेश्वर भुसाल रहनुभएको छ ।
समितिले पर्वत र वागलुङ जिल्लामा हुने रैथाने बाली प्रवद्र्धन गर्ने निर्णयसमेत गरेको छ । बालीनाली प्रदर्शन पनि गर्ने र रैथाने बाली संरक्षण र प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने ज्ञान केन्द्रले जनाएको छ । समितिको पाँच वर्षे कार्यकाल रहेको छ । रासस