काठमाडौं । विभिन्न स्थानमा सवारी दुुघर्टना हुँदा ५ जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका–२२ पुम्दिभुम्दीस्थित सडकमा ग.१ ख ३२८७ नम्बरको बस र ग.२३ प ३६८६ नम्बरको स्कुटर एकआपसमा ठक्करबाट दुर्घटना हुँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही महानगरपालिका–२५ हेम्जा बस्ने ४६ वर्षीय तुल्सी प्रसाद त्रिपाठी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका स्कुटरमा सवार १ जनालाई गण्डकी मेडिकल कलेज पोखरामा उपचारको लागि पठाइएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी काठमाडौंको चन्द्रागिरी नगरपालिका–३ खरिबोटस्थित सडकमा बा.५५ प १५३२ नम्बरको मोटरसाइकल र बा.४ ख ११२० नम्बरको आइचर एकआपसमा ठक्करबाट दुघर्टना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेका धादिङ धुनबेशी नगरपालिका–७ घर भएका ४५ वर्षीय उत्तम कुमार भट्ट रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्र्र्र्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको हो । आइचर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
साथै रुकुम(पश्चिम)को सानोभेरी गाउँपालिका–९ खारखोलास्थित सडकमा रा.१ त ३७९० नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१४ बस्ने १८ वर्षीय हेमराज वली रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनाको मिसन अस्पताल चौरजहारिमा उपचार भइरहेको छ र १ जनालाई थप उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँकेमा पठाइएको छ ।
यसैगरी ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ र आठराई त्रिवेणी गाउँपालिका–५ को सिमानास्थित सुन्तले भन्ने स्थानमा को.२ त ७८७७ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरका सह चालकको बिहीबार राति घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा फक्तालुङ गाउँपालिका–३ सिवा बस्ने २० वर्षीय सन्दिप तामाङ रहेका छन् । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
साथै सिरहाको धनगढीमाई नगरपालिका–१० स्थित सडकमा ना.६ ख ९८१४ नम्बरको ट्रकले प्रदेश–२–०१–००१ प ३०२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको बिहीबार राति घटनास्थलमै मृत्यु भएको छ । मृत्यु पर्नेमा सोही नगरपालिका–१० बस्ने ३५ वर्षीय दिपक थापा रहेका छन् । उक्त मोटरसाइकल र ना.१ ज ३८२३ नम्बरको म्याजिक एकआपसमा ठक्कर हुँदा मोटरसाइकल पल्टिएको अवस्थामा उक्त ट्रकले मोटरसाइकललाई ठक्कर दिई दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई जानकी पोलीक्लिनिक धनगढी हुँदै थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर पठाइएको छ । प्रहरीले ट्रकका सहचालकलाई नियन्त्रणमा लिई हाल फरार ट्रक चालक र म्याजिक चालकको खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।