भीमदत्तनगर, ६ जेठ । चालु आर्थिक वर्षमा कञ्चनपुरमा गहुँ उत्पादनमा वृद्धि भएको छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार गत वर्षको भन्दा यस वर्ष पाँच हजार मेट्रिक टन बढी गहुँ उत्पादन भएको हो । एकतीस हजार ३४३ हेक्टर क्षेत्रफलमा गहुँखेती गरिँदै आएको बताउँदै जिल्ला कृषि विकास कार्यालयका कृषि प्राविधिक कलकबहादुर सिंहले यस वर्ष कुल ७५ हजार ४३९ मेट्रिक टन गहुँ उत्पादन भएको जानकारी दिए ।
गत वर्ष ७० हजार ७०० मेट्रिक टन गहुँ उत्पादन भएको थियो । “उत्पादन बढे पनि गहँु लगाउने क्षेत्रफलमा कमी आएको छ,” उनले भने। त्यसैगरी कार्यालयले धानबालीको बेर्नाका लागि धानको बीउ किसानलाई वितरण गरिरहेको छ ।
उन्नत र मूल गरी हालसम्म ३५ क्विन्टलभन्दा बढी बीउ अनुदानमा वितरण गरिएको छ । उन्नत बीउ ७५ प्रतिशत र मूल बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको प्राविधिक सिंहले बताए ।