काठमाडौं । नेपालमा फोटोन मोटरको आधिकारिक वितरक एमएडब्लू वृद्धिले शहरी दिगोपनतर्फ महत्वपूर्ण पहल गर्दै ललितपुर महानगरपालिकालाई ११ वटा कस्टमाइज गरिएको फोटोन टीएम इलेक्ट्रिक वेस्ट कलेक्सन गाडी हस्तान्तरण गरेको छ। नेपालमै पहिलो पटक फोहोर व्यवस्थापनका लागि विद्युतीय सवारी प्रयोग गरिएको यो कदमले व्यावसायिक ईभीको उपयोगिता ढुवानी र सडक सेवा बाहेक अन्य क्षेत्रमा पनि विस्तार गर्न सकिने संकेत दिएको छ।
यो पहल सामान्य सवारी आपूर्ति मात्र नभई, शहरको वास्तविक आवश्यकता अनुसार समाधान विकास गर्ने क्षमताको उदाहरणका रूपमा लिइएको छ। ललितपुर महानगरपालिकाका लागि उपलब्ध गराइएका यी गाडीहरू विशेष रूपमा फोहोर संकलनका लागि डिजाइन गरिएको बताइएको छ । जसले संस्थागत आवश्यकता अनुसार ईभी समाधान विकासमा एमएडब्लू वृद्धिको दक्षता राखेको छ ।
यी गाडीहरूको प्रयोगले दैनिक कार्यसम्पादनमा सकारात्मक प्रभाव पार्न थालेको बताइएको छ । फोहोर संकलन कार्यमा खटिने जनशक्ति तीनजनाबाट दुईजनामा झार्न सफल भएको भन्दै कार्यक्षमता समेत बढेको र यसले फोहोर व्यवस्थापन क्षेत्रमा महिलाहरूको सहभागिता बढाउँदै लैङ्गिक समावेशीतालाई पनि प्रवर्द्धन गरेको छ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शहरलाई प्रदूषणमुक्त बनाउने लक्ष्यअनुसार विद्युतीय सवारीको खोजी गरिएको र फोटोनले त्यसको भरपर्दो समाधान दिएको उल्लेख गर्दै खुशी व्यक्त गरे ।
एमएडब्लू वृद्धी कमर्शियल भेहिकल प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत अनिल बरालका अनुसार, ईभीमा आधारित फोहोर व्यवस्थापनको अवधारणालाई व्यवहारमा उतार्न पाउनु कम्पनीका लागि गौरवको विषय हो। उहाँले स्वच्छ र हरित नेपाल निर्माणमा कम्पनी प्रतिबद्ध रहेको पनि बताए ।
हाल एमएडब्लू वृद्धिको देशभर १४ भन्दा बढी बिक्री तथा सेवा केन्द्र तथा १७० भन्दा बढी फास्ट चार्जिङ स्टेसनको सञ्जाल रहेको छ, जसले ईभी पूर्वाधार विस्तारमा सहयोग पुर्याएको छ। ललितपुरमा सुरु गरिएको यो पहलले विद्युतीय व्यावसायिक सवारी अहिलेको व्यवहारिक आवश्यकता भएको स्पष्ट पारेको छ।
एमएडब्लू वृद्धि कमर्शियल नेपालमा व्यावसायिक सवारी साधन आपूर्तिमा संलग्न कम्पनी हो, जसले गुणस्तरीय सवारी तथा विश्वस्तरीय सेवा प्रदान गर्दै आएको छ।