अन्तर्राष्ट्रिय मञ्चमा नेपालको दोहोरो जित, प्राविधिक र व्यावसायिक क्षेत्रमा ऐतिहासिक सफलता

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेपालले अन्तर्राष्ट्रिय स्तरका दुई प्रतिष्ठित प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गर्दै विश्व मञ्चमा आफ्नो क्षमता प्रमाणित गरेको छ। भारतको इन्दौरस्थित होटल शेराटनमा सम्पन्न यी प्रतियोगितामा नेपाली पेशाकर्मीहरूले उत्कृष्ट प्रदर्शन गर्दै सम्मानित स्थान हात पारेका हुन्।

यस उपलब्धिले नेपालको प्राविधिक दक्षता, नवप्रवर्तन क्षमता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता झल्काएको छ। विश्वकै प्रतिस्पर्धात्मक टेक्निकल इनोभेसन प्रतियोगितामध्ये एक मानिने EMTECH २०२६मा नेपालको ‘टिम गुर्खाज’ विश्वविजेता बनेको छ।

१२ देशका १२० टोलीसँग प्रतिस्पर्धा गर्दै टोलीले आफ्नो प्राविधिक सीप, सिर्जनशीलता र नवप्रवर्तन क्षमताको उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेको हो।

विजेता टोलीमा सुजित कुमार दास, निरज कुमार मण्डल, बिक्रम सापकोटा र दामोदर भट्ट सदस्यका रूपमा रहेका थिए। उनीहरूको यो सफलता नेपाली इन्जिनियरिङ तथा प्राविधिक जनशक्तिको अन्तर्राष्ट्रिय स्तरको उत्कृष्ट उदाहरण बनेको छ।

यससँगै, नेपालले अर्को अन्तर्राष्ट्रिय उपलब्धि पनि हासिल गरेको छ। VECV अन्तर्राष्ट्रिय सेल्स प्रतियोगिता PROFORMERS सिजन ११ मा  २२ देशका ३५० भन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै नेपालका शैलेन्द्र चन्द ‘बस’ विधामा विजेता बनेका छन्। अत्यन्त प्रतिस्पर्धात्मक यस प्रतियोगितामा उनको प्रदर्शन प्रशंसनीय रह्यो।

यी उपलब्धिहरूले व्यक्तिगत सफलतामात्र होइन, नेपालको सेवा क्षेत्र, उपकरण प्रयोग क्षमता र सेवा प्रवाहको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्डअनुसार रहेको पुष्टि गरेका छन्।

नेपाली पेशाकर्मीहरूको मेहनत, दक्षता र सम्भावनालाई उजागर गर्ने यी सफलताहरू देशका लागि गर्वका विषय हुन्। यस्तो स्तरको प्रतिस्पर्धामा सफलता हासिल गर्नुले नेपाललाई प्राविधिक नवप्रवर्तन र व्यावसायिक उत्कृष्टताको क्षेत्रमा उदाउँदो शक्तिका रूपमा स्थापित गरेको छ।

यो ऐतिहासिक उपलब्धिले आगामी दिनमा नेपाली युवाहरूलाई आत्मविश्वासका साथ अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न प्रेरणा दिने अपेक्षा गरिएको छ।