खोटाङ । खोटाङमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा स्थायी घर भई हाल सोही नगरपालिका–७ दोर्पा डेरा गरी बस्ने ३२ वर्षीय बालजीत राई रहेका छन् । घरायसी विवादको क्रममा उनले आफ्नै श्रीमती २८ वर्षीया सरीता तामाङलाई खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
घटनापछि बालजीत फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङ र प्रहरी चौकी चिउरीडाँडाबाट खटिएको प्रहरीको टोलीले उनको खोजी गर्ने क्रममा घर नजिकै रहेको जङगलमा लुकीछिपी बसेको अवस्थामा फेला पारी बुधबार बिहान पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।