औषधि खरिद अनियमितता आरोपमा सिभिल अस्पतालका ८ कर्मचारीविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

दियोपोस्ट संवाददाता  

काठमाडौँ । काठमाडौंको मीनभवनस्थित निजामती (सिभिल) अस्पतालमा औषधि खरिद तथा मौज्दात व्यवस्थापनमा अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जना कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले अस्पतालको फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी अधिकृत दीपा ढुङ्गाना, फार्मेसी सहायक लवेन्द्र कुँवर, वरिष्ठ फार्मेसी सहायक दिनेश पन्त, फार्मेसी सहायक दीपक सापकोटा, स्टोर किपर तथा वरिष्ठ फार्मेसी सहायकहरू विनोद पोखरेल, शर्मिला श्रेष्ठ, केशव राज न्यौपाने र सन्दीप तिवारीविरुद्ध मुद्दा दायर गरेको हो।

आयोगकका अनुसार ती कर्मचारीहरूले औषधि आपूर्तिकर्तासँग मिलेमतो गरी अस्पतालमा औषधि आपूर्ति नगरे पनि बिल तथा कागजात मिलाएर भ्रष्टाचार गरेको पाइएको छ। कर्मचारीहरूले कम्प्युटर प्रणालीमा औषधि मौज्दात देखाए पनि वास्तविक रूपमा अस्पतालमा औषधि नभित्र्याएको अख्तियारको दाबी छ।

अनुसन्धानका क्रममा अस्पतालको स्टोर तथा भर्‍याङमुनि करोडौँ रुपैयाँ मूल्य बराबरका औषधि म्याद गुज्रिएर फालिएको अवस्थामा भेटिएको थियो। तर ती औषधिहरू कम्प्युटर प्रणालीमा भने मौज्दातकै रूपमा देखाइएको पाइएको आयोगले जनाएको छ।

महालेखा परीक्षकको प्रतिवेदनले समेत अस्पतालको फार्मेसीमा औषधि खरिद, बिक्री र बाँकी मौज्दातको सन्तुलन परीक्षण नगरिएको तथा लेखापरीक्षणका क्रममा कैफियत औँल्याइएको थियो।

अख्तियारका अनुसार म्याद सकिन लागेका औषधिहरू आपूर्तिकर्तालाई फिर्ता गरी सोधभर्ना लिनुपर्नेमा कर्मचारीहरूले उल्टै आपूर्तिकर्ताको धरौटी रकम फिर्ता गरिदिएका थिए। यसबाट सार्वजनिक सम्पत्तिमा हानि–नोक्सानी पुगेको आयोगको भनाइ छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा अस्पतालका कार्यकारी निर्देशकले म्याद गुज्रिएका औषधि फिर्ता गर्न दिएको जिम्मेवारी पूरा नगरी कर्मचारीहरूले नक्कली प्रतिवेदन तयार पारेको र सरकारी सम्पत्तिको हिनामिना गरेको उल्लेख छ।

अख्तियारले प्रतिवादी कर्मचारीहरूसँग जनही २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ ३७ पैसा बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।

सिफारिस