जग्गा विवादमा चक्कु प्रहार, एक जनाको मृत्यु

दियोपोस्ट संवाददाता  

काठमाडौँ । रौतहटको ईशनाथ नगरपालिका-३ औरैयामा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ। जग्गाको स्वामित्वको विषयलाई लिएर भएको विवादका क्रममा चक्कु प्रहार हुँदा स्थानीय बुटन साहको मृत्यु भएको हो।

मंगलबार राति करिब ८ बजे स्थानीय रामबहादुर साह, बुटन साह तथा रामऔतार साह र उनका छोरा रामेश्वर साहबीच जग्गाको विषयमा भनाभन सुरु भएको थियो। भनाभनले उग्र रूप लिएपछि उनीहरूबीच कुटपिट भएको र विवादकै क्रममा रामेश्वर साहले बुटन साहमाथि चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ।

चक्कु प्रहारबाट बुटन साहको ढाडमा गम्भीर चोट लागेको थियो। उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो। तर, राति करिब ९ बजे उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त गौतमका अनुसार घटनामा संलग्न भएको आरोपमा रामेश्वर साह र उनका बुबा रामऔतार साहलाई नियन्त्रणमा लिइएको छ।

घटनाका क्रममा रामबहादुर साहको टाउकोमा समेत चोट लागेको प्रहरीले जनाएको छ। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।