बुटवलमा छाडा चौपाया आतंकः साँडेको आक्रमणबाट एक युवक गम्भीर घाइते, पाँच करङ भाँचिए

दियोपोस्ट संवाददाता  

काठमाडौँ । छाडा छोडिएका गाई गोरु र साँडेको समस्या बुटवल उपमहानगरपालिकाका लागि टाउको दुखाइको विषय बन्दै गएको छ। सडकमा जथाभावी हिँड्ने चौपायाका कारण दुर्घटना बढ्नुका साथै सर्वसाधारणको ज्यानसमेत जोखिममा परेको छ। पछिल्लो पटक बुटवलमा साँडेको जुधाइमा परेर एक जना व्यक्ति गम्भीर घाइते भएका छन्।

बुटवल उपमहानगरपालिका-११, रंगशाला मार्गस्थित सुवर्णपथमा बस्दै आएका ४० वर्षीय शैलेन्द्र बुढाथोकी साँडेको आक्रमणबाट गम्भीर घाइते भएका हुन्। मंगलबार राति करिब ९ बजे घरबाहिर देखिएका गाइलाई रोटी र तरकारीको खोस्टा खुवाउन गएका बेला दुईवटा साँडे आफूमाथि जाइलागेको उनले बताए।

‘भोकले कराएका होलान् भनेर मैले खानेकुरा लगेर दिएको थिएँ। मलाई देख्नेबित्तिकै दुईवटा साँडे ममाथि आए,’ बुढाथोकीले भने, ‘करिब १५ मिनेटसम्म दुईवटा साँडेको जुधाइमा परेँ। रातको समय भएकाले सडकमा कोही थिएनन्। दुई जना महिलाले देखेपछि उद्धार गर्नुभयो।’

साँडेको आक्रमणबाट बुढाथोकीको छाती, घुँडा, कुहिना र ढाडमा गम्भीर चोट लागेको छ। उनको दायाँ छातीमा गम्भीर चोट लाग्नुका साथै पाँचवटा करङको हड्डी भाँचिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। हाल उनको बुटवलस्थित मर्सिसिटी अस्पतालमा उपचार भइरहेको छ।

उपचारमा लाखौँ रुपैयाँ खर्च लाग्ने चिकित्सकले जानकारी दिएको भन्दै बुढाथोकीले सामान्य नागरिकका लागि यो ठूलो आर्थिक भार भएको बताए। उनले छाडा चौपायाको व्यवस्थापन गर्न नसक्दा आफूजस्ता सर्वसाधारणले जोखिम मोल्नुपरेको गुनासो गरे।

उनले घटनाको उचित छानबिन गरी उपचार खर्च तथा नियमानुसार पाउनुपर्ने राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्। साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन सार्वजनिक चौपायाको दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ।

यता, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले छाडा चौपाया नियन्त्रणका लागि निरन्तर प्रयास भइरहेको बताए। उपमहानगरपालिकाले गौशाला निर्माण गरी चौपाया राख्ने व्यवस्था गरे पनि रातको समयमा छिमेकी पालिकाबाट आउने चौपायाका कारण नियन्त्रणमा समस्या भइरहेको उनको भनाइ छ।

उपमहानगरपालिकाका कार्यपालिका सदस्य यम सुनारले साँडे स्वभावैले आक्रामक हुने भएकाले सर्वसाधारण बढी जोखिममा पर्ने बताए। ‘गौशाला निर्माण गरेर राख्दा पनि साँडेले तारबार भत्काएर बाहिर निस्कने गरेका छन्। त्यसैले नियन्त्रणमा समस्या भइरहेको छ,’ उनले भने।

छाडा चौपाया व्यवस्थापनका लागि वार्षिक करोडौँ रुपैयाँ खर्च भए पनि समस्या पूर्ण रूपमा समाधान हुन नसकेको सुनारको भनाइ छ।

यसअघि पनि बुटवलमा साँडेको आक्रमणबाट सर्वसाधारणको मृत्यु भएको घटना सार्वजनिक भइसकेको छ। गत वर्ष गुल्मीकी ४५ वर्षीया सीता पाण्डेको साँडेको आक्रमणबाट गम्भीर घाइते भई उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको थियो।

बुटवल उपमहानगरपालिकाले बुटवलकै शिवनगर सामुदायिक वनभित्र गौशाला निर्माण गरी छाडा चौपाया राख्दै आएको छ। तर पर्याप्त नियन्त्रण हुन नसक्दा सडक दुर्घटना र मानवीय क्षतिको जोखिम अझै कायम रहेको छ।

सिफारिस