काठमाडौँ । नेत्रबहादुर चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी कास्कीका ३८ जना नेता तथा कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्। पार्टीको कार्यदिशा र नेतृत्वप्रति असन्तुष्टि जनाउँदै उनीहरुले पार्टी परित्याग गरेका हुन् ।
सामूहिक रूपमा पार्टी परित्याग गर्नेमा केन्द्रीय प्रतिनिधि समिति सदस्य गौमती गुरुङ, खुशीमान गुरुङ, पूर्व जिल्ला सेक्रेटरी सन्तोष परियार, युवा नेता युवराज थापा, जिल्ला सचिवालय सदस्य कमल खड्का, केश घलेलगायत विभिन्न तहका ३८ जना नेता तथा कार्यकर्ता रहेका छन्।
संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमा उनीहरूले विगत १३ वर्षदेखि पार्टीका विभिन्न तहमा रहेर जिम्मेवारी निर्वाह गरेको, जेल, हिरासत तथा विभिन्न आन्दोलनका मोर्चामा सक्रिय भूमिका खेलेको उल्लेख गरेका छन्। पार्टीको निर्देशनअनुसार कहिले निर्वाचन बहिष्कार तथा खारेजी आन्दोलनमा सहभागी भएको र कहिले निर्वाचनमा भाग लिएर पार्टी नीति कार्यान्वयन गरेको भए पनि आन्दोलनले अपेक्षित परिणाम हासिल गर्न नसकेको उनीहरूको निष्कर्ष छ।
विज्ञप्तिमा पार्टीले रणनीतिक संयुक्त मोर्चा तथा समाजवादी मोर्चामार्फत वामपन्थी सहकार्यको प्रयास गरे पनि त्यसले ठोस निष्कर्ष दिन नसकेको र अन्ततः ती मोर्चाबाट पार्टी बाहिरिएको उल्लेख गरिएको छ।
पार्टी परित्याग गर्ने नेता–कार्यकर्ताले वर्तमान राजनीतिक परिस्थिति योजनाबद्ध रूपमा कम्युनिष्टविरोधी बन्दै गएको, नेपालको वाम आन्दोलन इतिहासकै रक्षात्मक अवस्थामा पुगेको दाबी गरेका छन्। यस्तो अवस्थामा कम्युनिष्ट शक्तिबीच एकता, सहकार्य र पुनर्गठन अपरिहार्य रहेको उनीहरूको भनाइ छ।
उनीहरूले पार्टीभित्र एकता र पुनर्गठनको बहस उठाउनेहरूप्रति नेतृत्वले पूर्वाग्रही व्यवहार गरेको आरोपसमेत लगाएका छन्। केन्द्रीय सचिवालय सदस्य उमा भूजेल र पोलिटब्युरो सदस्य चन्द्रबहादुर खड्का ‘असल’ माथि गरिएको कारबाहीलाई त्यसको उदाहरणका रूपमा प्रस्तुत गर्दै उनीहरूले नेतृत्व बहसबाट पन्छिएको टिप्पणी गरेका छन्।
यही निष्कर्षका आधारमा कास्की जिल्लामा कार्यक्षेत्र रहेका आफूहरू आजकै मितिदेखि पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त भएको घोषणा गरेका छन्।
