बीपी स्वास्थ्य प्रतिष्ठानमा बिचौलियाको काम गर्दै आएका १२ जना पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौँ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएका बिरामी र आफन्तलाई प्रभावमा पार्दै निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने तथा आर्थिक चलखेल गरी निजी अस्पतालमा पठाउने गरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोस्ट घोपाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार पक्राउ पर्नेमा सप्तरीका ३७ वर्षीय रञ्जितकुमार चौधरी, राजविराज-६ की २७ वर्षीया रबिना मण्डल, भोजपुर आमचोक-८ का ३५ वर्षीय हस्त श्रेष्ठ, धरान-१५ का २० वर्षीय सागर पोखरेल, मोरङ लेटाङ-३ का २९ वर्षीय सान्बिन किराती र धरान-६ का २३ वर्षीय मनिष बुढाथोकी रहेका छन्।

त्यस्तै उदयपुर चौदण्डीगढी-५ का ४० वर्षीय उमेशकुमार चौधरी, धरान-१७ का ३५ वर्षीय धिरोज निरौला, इटहरी-२ का ३१ वर्षीय रोहित मेहता, धरान-११ का १८ वर्षीय विनोद भट्टराई, झापा दमक-१ का ४३ वर्षीय प्रवीण पोखरेल र सुनसरी हरिनगर गाउँपालिका-४ का २७ वर्षीय दीपक राम पनि पक्राउ परेका छन्।

प्रहरीका अनुसार उनीहरूविरुद्ध मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय सुनसरीबाट १० दिनको म्याद थप अनुमति लिएर इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान अघि बढाएको छ।

अनुसन्धानका क्रममा पक्राउ परेका दीपक रामको साथबाट विराटनगरस्थित आर्या न्युरो अस्पतालका दुई थान भिजिटिङ कार्ड बरामद भएको प्रहरीले जनाएको छ। यस्तै, उनीहरूको साथबाट बरामद मोबाइल फोनको प्रारम्भिक परीक्षण गर्दा विभिन्न सरकारी अस्पतालमा उपचाररत बिरामीका प्रेस्क्रिप्सन, डिस्चार्ज कागजात, बिरामीको नाम, उमेर र रोगसम्बन्धी विवरण अन्य व्यक्तिलाई पठाइएको अभिलेख फेला परेको छ।

मोबाइलबाट एम्बुलेन्स चालकहरूको नाम र सम्पर्क नम्बर उल्लेख भएका कागजातका तस्बिरसमेत भेटिएको प्रहरीले जनाएको छ। बरामद सामग्रीले अस्पतालमा सक्रिय बिचौलिया समूहको सम्भावित सञ्जाल, बिरामीका व्यक्तिगत विवरण सङ्कलन र निजी स्वास्थ्य संस्थासँगको सम्भावित समन्वयबारे थप अनुसन्धान गर्न आधार मिलेको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेका सबैमाथि इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको छ।

प्रहरीले उपचारका लागि प्रतिष्ठान आउने बिरामी तथा आफन्तलाई बिचौलियाको प्रलोभनमा नपर्न आग्रह गरेको छ। कुनै पनि शङ्कास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई जानकारी गराउन समेत अनुरोध गरिएको छ।

बिरामीलाई निजी मेडिकलबाट सस्तो औषधि उपलब्ध गराइदिने भन्दै प्रभावमा पार्ने तथा अन्य स्वास्थ्य संस्थामा पठाउने गतिविधि भइरहेको सूचनापछि प्रहरीले निगरानी बढाएको थियो।

सिफारिस