
ठगी मुद्धामा पक्राउ
काठमाडौँ । ठगी तथा आपराधिक विश्वासघातको आरोपमा मोरङका अभिषेक गिरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ। गिरी नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेका चुनावी कमाण्डरका रूपमा परिचित रहेको बताइएको छ।
सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपम शमशेर जबराका अनुसार मोरङस्थित गिरीको घरमा खानतलासी गरी उनलाई पक्राउ गरिएको हो। उनीमाथि निर्माण व्यवसायी सुभाष श्रेष्ठलाई विभिन्न व्यक्तिसँगको पहुँच र चिनजान प्रयोग गरी ठेक्का मिलाइदिने आश्वासन दिई ठगी गरेको आरोप छ।
प्रहरीका अनुसार गिरीले श्रेष्ठलाई परेको ठेक्का आरसी सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालिमार्फत सम्पन्न गराइदिने भन्दै आर्थिक लाभ लिएको तथा आपराधिक विश्वासघात गरेको आरोप पनि लागेको छ।
अनुसन्धानका क्रममा श्रेष्ठका निर्माण कार्यमा प्रयोग हुने सवारी साधनहरू गिरीले आफ्नो नियन्त्रणमा लिएको र धनीलाई जानकारी नदिई केही सवारी कवाडीमा बिक्री गरेको खुलेको प्रहरीले जनाएको छ। केही सवारी साधन कब्जामा राख्नुका साथै काठमाडौंस्थित घरजग्गा राजीनामा पास गराएको र चेकसमेत काट्न लगाएको आरोप उनीमाथि रहेको छ।
प्रहरीका अनुसार गिरी यसअघि अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दामा कैद सजाय भुक्तान गरिसकेका व्यक्ति हुन्। कारागारमा रहँदा कैदीबन्दीमाथि दमन तथा आर्थिक शोषण गरेको आरोपसमेत उनीमाथि लाग्दै आएको थियो।
कैद सजाय पूरा गरी छुटेपछि पनि उनले कारागारको आन्तरिक व्यवस्थापनमा बाहिरबाट प्रभाव पार्ने र कैदीबन्दीबाट रकम असुल्ने गरेको गुनासो आएको प्रहरीले जनाएको छ। यस्तै आरोपमा उनी यसअघि पनि पक्राउ परेका थिए भने अदालतबाट छुटेलगत्तै सीआईबीले पुनः नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि काठमाडौं ल्याएको जनाएको छ।
सीआईबीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।