काठमाडौं । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्व गृहमन्त्री बालकृष्ण खाँड र पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई दोषी ठहर गरेको छ। झण्डै तीन वर्षसम्म चलेको न्यायिक प्रक्रियापछि न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार फैसला सुनाएको हो।
अदालतले रायमाझीलाई ठगी, सङ्गठित अपराध तथा राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको छ। खाँड पनि सोही प्रकरणमा दोषी ठहर भएका छन्। यद्यपि, लिखत किर्तेसम्बन्धी कसुरमा भने केही सीमित प्रतिवादी मात्रै दोषी ठहर भएका छन् भने अन्यले उक्त अभियोगमा सफाइ पाएका छन्।
यस प्रकरणमा अधिकांश प्रतिवादीहरू दोषी ठहर भएका छन् भने केही अभियुक्तले प्रमाण नपुगेको आधारमा सफाइ पाएका छन्। पूर्व उपप्रधानमन्त्री रायमाझीका छोरा सन्दीप रायमाझीसहित ६ जनाले अदालतबाट सफाइ पाएका छन्।
जिल्ला अदालतका अनुसार दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ हुने छ। सजाय निर्धारणपछि कसुरअनुसार कैद र जरिवानाको अन्तिम फैसला हुनेछ।
यो मुद्दा २०८० सालमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभन देखाई करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा दर्ता गरिएको थियो। मुद्दामा पूर्वमन्त्री, उच्च सरकारी अधिकारी तथा बिचौलियासहित ३० भन्दा बढी व्यक्तिविरुद्ध ठगी, सङ्गठित अपराध, लिखत किर्ते र राज्यविरुद्धको कसुरमा अभियोग लगाइएको थियो।
यस फैसलालाई नेपालको पछिल्लो समयकै चर्चित भ्रष्टाचार तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामध्ये एक महत्वपूर्ण न्यायिक निर्णयका रूपमा हेरिएको छ। अब सजाय निर्धारणपछि दोषी ठहर भएका व्यक्तिहरूले कानुनबमोजिम उच्च अदालतमा पुनरावेदन गर्ने अधिकार राख्नेछन्।