काठमाडौं । विभिन्न स्थानमा अवैध लागूऔषधसहित ५ जना पक्राउ परेका छन् । कैलाली, गोदावरी नगरपालिका–२ बाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने २० वर्षीय वीरेन्द्र वड र २४ वर्षीय बिनोद दियाल रहेका छन् । वडलाई खैरो हेरोईन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम र दियाललाई खैरो हेरोईन जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्रामसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा कैलालीबाट खटिएको प्रहरीको टोलीले उनीहरूको घर तलासी गर्दा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ कुमाई चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १० मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–४ बस्ने ३० वर्षीय सागर गुरुङ र ३७ वर्षीय रविन्द्र सिंह थापा रहेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी बुधबार दिउँसो पक्राउ गरेको हो ।
साथै बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाह चेकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–१२ बस्ने १९ वर्षीय ज्ञानेन्द्र टमटा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाबाट खटिएको प्रहरीको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी बुधबार राति पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।