छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित ४ पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४० एम्पुल, फेनारगन ४० एम्पुल र नोफिम ४० एम्पुलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–१४ काजिपोखरी बस्ने २२ वर्षीय सुमन गुरुङ रहेका छन् । अस्थायी प्रहरी पोष्ट राम्दीबाट खटिएको प्रहरीको टोलीले बुटवलबाट पोखरातर्फ आउँदै गरेको ना.५ ख ४९६२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी सोमबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित सडकबाट अवैध लागूऔषध गाँजा ५ केजी ३ सय ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर हेटौंडा हरीहरगढी गाउँपालिका–१ घर भएका ३० वर्षीय शिसिर बम्जन रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीको टोलीले ना.५ ख ४९६२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी सोमबार दिउँसो पक्राउ गरेको हो ।

साथै दार्चुलाको शैल्यशिखर नगरपालिका–९ नायलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ करिब १ केजी ७ सय ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडी डिलाशैनी गाउँपालिका–१ नानरा बस्ने ५० वर्षीय कमल कुमार राना रहेका छन् । ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीको टोलीले जाँच गर्ने क्रममा उनले बोकेको झोलाभित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त लागूऔषधसहित फेला पारी सोमबार दिउँसो पक्राउ गरेको हो ।

यसैसाथ मोरङको विराटनगर महानगरपालिका–१६ दक्षिण गेटबाट नियन्त्रित लागूऔषध लुपिजेशिक २१ एम्पुल, एभिल २१ एम्पुल, डाईजेपाम २१ एम्पुल र फेनारगन २१ एम्पुलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी रामधुनी नगरपालिका–७ बस्ने २३ वर्षीय मनिष लिम्बु रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषधसहित फेला पारी सोमबार दिउँसो पक्राउ गरेको हो ।
यस सम्बन्धाम प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।