‘शेरसिहं बिक’ एक अलिखित कथा !

रीता बुढाथोकी

यतिबेला सामाजिक संजालमा ‘हेर्ने कथा’को ‘हराएका वर्षहरु’मा देखाइएको प्रकाश उर्फ काले तामाङको कथा निकै चर्चित छ । कथाले मानवीय संवेदनाको लहर छचल्काइरहेको छ । कथा निकै मार्मिक छ । हेर्ने जो कोहीलाई ‘काले तामाङ्ग’को कथाले छुन्छ । कथा हेर्नेहरु धेरैले आँसु बगाए । आँसु मेरो पनि थामिएन । कथा हेर्दै गर्दा कैयौँ पटक रोएछु ।

काले तामाङको कथा हेरिसकेपछि हाम्रै गाउँ घरतिर वर्षौ देखि गुमनाम रहेका र परिवारको सम्पर्कमा नभएका अरु पनि काले तामाङहरु हुन सक्ने बिषयमा सोच्न बाध्य भएँ ।

हाम्रो घरमा पनि एक जना दाजु बस्थे । उनको नाम थियो शेरसिहं बिक । उनी सानैमा कर्णाली मुगुबाट आएका । उनले आफ्नो पुरै जिन्दगी हाम्रो घरमा बिताए । हेर्ने कथामा प्रस्तुत गरिएका काले तामाङको भन्दा निकै फरक तर रहस्यमयी कथा शेरसिहं बिकको पनि छ ।

को हुन शेरसिहं बि.क?

शेरसिहं बिक २०२० बैसाख ७ गते कर्णालीस्थित मुगु जिल्लाको ‘रवा’ भन्ने ठाउँमा जन्मिएका हुन् । गरिबी र अभावले गाँजेको दुर्गम बस्तीको एक दलित परिवारमा जन्मेका उनले सानै छँदा आमा गुमाए । उनका बुवा कुमार सिहं बिक पनि उनी सानै छँदा मरे । उनका दुई जना दाजु र एक दिदी थिइन् ।

आमा–बुवा गुमाए पछि शेरसिहंको जीवन निकै कष्टकर बन्यो । पेटभरि खान नपाएर कुपोषित बनेको शरिर ! त्यसमाथि कडा परिश्रम गर्नु पर्ने भएकाले उनी दिनदिनै गल्दै गएका थिए । दाजु–भाउजुको दिनहुँको कुटाई त छैदैँछ । त्यसकारण उनी कैयौँ रात घर बाहिर बस्थे ।

बरफिला हिउँदका रातहरु निकै कष्टकर थिए । घर वरपरका पाखा-पखेरा हिउँले सेताम्ये भइसकेका थिए । मानिसहरु राडी, पाखी र कम्बल ओडेर चिसो छल्थे । उनी भने एकसरो लुगामा लुगलुग काँप्दै घर नजिकैको स्कुल वरपर घुरिहन्थे । चरचरी फुटेका पैतालाप्रति कसैको दयाभाव थिएन । पुष माघको जाडोले कठ्याङ्ग्रीएका हात खुट्टाले प्रेम खोजिरहेका थिए । भोको पेटको भाव उनका निर्दोष आँखाले बोलिरहेका हुन्थे । एवंप्रकारले उनको जीवन निकै कष्टकर थियो ।

स्कुलका शिक्षक शिक्षिकाले खाजा खाँदै गर्दा उनी स्कुलको ढोका बाहिर उभिएर हेरिरहन्थे । केही दयावान मास्टरले उनलाई बोलाएर केही खानेकुरा दिन्थे । खानेकुरा पाए पछि उनी खुसीले फुरुंग हुन्थे र खाना टिपेर भागिहाल्थे । त्यसैले पनि उनी प्राय स्कुल वरपर देखिन्थे ।

एकदिन स्कुलमा नयाँ आएका मास्टरले उनलाई बोलाएर उनको अवस्थाका बारेमा सोधे । उनले आफ्नो घरको अवस्थाका बारेका मास्टरलाई सुनाए । मास्टरलाई उनीप्रति निकै दया लाग्यो । र मस्टरको माया पाएर उनी मास्टरसंगै बस्न थाले । स्कुलमा नयाँ आएका भनिएका मास्टर मेरो बुवा हुनु हुन्थ्यो ।

शेरसिहं बिक कसरी अर्घाखाँची आइपुगे?

मेरो बुवा शिक्षक हुनु हुन्थ्यो । २०४२/४३ साल तिरको कुरा हो । त्यतिबेला उहाँ जगिरको शिलशिलामा मुगु पुग्नु भएको थियो । मुगु जिल्लाको ‘रवा’स्थित ‘प्रभात माध्यमिक बिद्यालय’मा बुवाको सरुवा भएको थियो । त्यसक्रममा बुवाले शेरसिहं बिकलाई सोही बिद्यालयमा भेट्नु भएको थियो ।

१०/११ वर्षको बालक, पढ्न नगई सधै आफुले पढाउने स्कुलको वरीपरि देखिरहने भएकाले बुवालाई उक्त बालक प्रति जिज्ञासा भयो । उनको वास्तकिता थाहा पाएपछि बुवालाई उनीप्रति निकै दया पलायो । त्यसपछि बुवाले शेरसिहंलाई आफु बस्ने डेरामा ल्याउनु भयो । त्यो दिनदेखि उनी बुवासंगै बस्न थाले ।

केही महिना उनी बुवाकै डेरामा बसे । बुवाको २ महिना लामो हिउँदे बिदा सुरु भयो । उहाँ बिदामा अर्घाखाँचीस्थित घर फर्किने क्रममा शेरसिहंले आफु बुवासंगै अर्घाखाँची जाने रहर ब्यक्त गरे । तर, उनलाई अर्घाखाँची लिएर जान बिभिन्न कठाई थिए । बुवाले उनलाई धेरै सम्झाउने प्रयास पनि गर्नु भयो । तर शेरसिहंले मानेनन् ।

उनी बुवाको खुट्टा समाएर रुन थाले । ‘सर मलाई पनि हजुरको घर लिएर जानुस, म यहाँ बस्दिन । यहाँ बसेँ भने मलाई दाई भाउजुले कुटेर भोक भोकै मार्छन् ।’ उनले कुनै पनि हातलमा बुवासंगै अर्घाखाँची जाने ढिपी गरे । शेरसिहंको जिद्धीका अगाडी बुवाको केही लागेन । उनको परिवारसंग सल्लाह गरेपछि बुवाले शेरसिहंलाई अर्घाखाँची लिएर जानु भयो ।

त्यतीबेला दुर्गममा मोटरबाटो थिएन । मुगुको गमगडीबाट सुर्खेतसम्म टुईनेटर बिमान चल्थ्यो । मौसमको भर थिएन । प्रतिकुल मौसमका कारण कैयौँ दिनसम्म प्लेन ठप्प हुन्थे । प्लेन चढ्न नसक्नेहरु कैयौँ दिन पैदल हिँडेर गन्तव्यमा पुग्थे ।

‘रवा’बाट गमगडी पुग्न करिब २ घण्टा पैदल हिँड्नु पथ्र्यो । शेरसिहंलाई संगै लिएर २ घण्टाको पैदल यात्रापछि बुवा गगमगडी पुग्नु भयो र सुर्खेतका लागि २ वटा टिकट लिनु भयो । दुबै जना प्लेनमा बसिसकेपछि केही बेरमा प्लेन उढ्न सुरु गर्यो । पहिलो पटक प्लेन चढ्दा उनी निकै डराए । उनी डरले आत्तिएका थिए । उनले आकाशमा उडिरहेको प्लेनबाट बाहिर निस्किने बाटो खोजिरहेका थिए ।

घरि झ्यालतिर हात पुर्याउथे, घरि डोका भएतिर जान खोज्थे । उनी डराएर त्यसो गरिरहेका छन् भन्ने थाहा पाएर प्लेनका स्टाफले उनको हात बाँधिदिएको प्रसंग बुवाले पछिसम्म हामीलाई सुनाउनु हुन्थ्यो । यो सुनेर हामी निकै हाँस्थ्यौ । हामी हाँसेको देखेर शेरसिहं खुब रिसाउँथे । उनलार्ई फकाउन बुवाले देउडा गाउनु हुन्थ्यो । देउडा सुन्नेबित्तिकै उनको मुहार उज्यालो हुन्थ्यो । उनी खुसी भई जुरुक्क उठेर नाच्न थाल्थे । ‘मान्छे जहाँ जाओस, आफ्नो संस्कृति र कलासंग मात्र रमाउँछ’ भन्ने यो एउटा गतिलो उदाहरण पनि थियो ।

एवंप्रकारले शेरसिहं बिक अर्घाखाँचीस्थित हाम्रो घरमा आइपुगे । आफ्नो छोरासंगै घरमा आएको नयाँ बालकलाई देखेर हजुरबुवाले निकै माया देखाउनु भयो । उनको वास्तबिकता थाहा पाएपछि हजुर बुवाले भन्नु भएको थियो, ‘मेरा ६ भाई छोरा छन्, आजदेखि ७ भाई भए । अब देखि यो केटो मेरो कान्छो छोरा भयो ।’ हाम्रो घरमा आएको दिनदेखि उनी हाम्रो परिवारको नयाँ सदस्यको रुपमा स्वीकार गरिए ।

हजुरआमा र हजुरबुवाले उनलाई निकै माया गर्नु हुन्थ्यो । उनलाई माया गरेर बोलाउने नाम धेरै थिए । कसैले ‘बाबु’ भनेर बोलाउँथे । कोहीले ‘बाबुराम’ पनि भन्ने गर्थे । कोहीले भने ‘साना’, ‘कान्छा भाई’ यस्तै यस्ते भनेर बोलाउथे । आमाहरुले उनलाई माया गरेर ‘शेरु’ भनेर बोलाउनु हुन्थ्यो । हामी ‘शेरु दाई’ भन्थ्यौँ । घरका सबै सदस्यको मायामा उनले आफ्नो परिवार बिर्सिसकेका थिए । दाजु भाउजुको त नामै लिदैनथे । गाउँ जाने कुरा गर्दा उनी भक्कानिएर रुन थाल्थे ।

उनलाई दुखी बनाउनु छ भने उनलाई कसैले घर जाने कुरा गर्दिए पुग्थ्यो । दुर्गमका मान्छेहरु सुगममा बस्न थालेपछि घर फर्किन खोज्दैनन् । त्यसमाथि बाउ आमा नभएको, गरिबी, अभाव र सधै हेला अपमानमा बाँचेको मान्छेलाई घर फर्किन मन नलाग्नु स्वभाविकै पनि हो । शेरसिहं पनि घर फर्किन खोजेनन् ।

उनी हाम्रै घरमा हुर्किए । हामी पनि उनीसंगै हुर्कियौँ । उनी नहँदा घर नै शुन्य जस्तै लाग्थ्यो । उनी हाम्रो घरका एक महत्वपूर्ण सदस्य बनिसकेका थिए ।

समय बित्दै गयो । उमेर परिपक्व हुन थाल्यो । उनमा शारीरिक परिवर्तन भए । तर, उनको ब्यवहारमा भने खासै परिपक्वता आएन । परिपक्व उमेरमा पनि उनको बानी ब्यबहार बच्चाको जस्तो थियो । जिद्धी गर्ने, सानो कुरामा रुने र छिट्टै खुसी पनि भइहाल्ने, कुनै पनि कुराको निर्णय लिन नसक्ने, हरेक कुरामा फकाउनु पर्ने जस्ता कारणले उनको ब्यवहारमा परिपक्वता नआएको प्रष्ट देखिन्थ्यो ।

हजुरबुवाले उनलाई पढाउन निकै कोशिस गर्नु भयो । तर उनले पढ्न मानेनन् । बरु हजुरबुवासंग गोरु चराउन जंगल जान पाउँदा खुसी हुन्थे । आमाहरुसंग घाँस काट्न जान पाउँदा रमाउथे । उनको जीवन यसैमा रमाएको थियो ।

उमेर अनुसार परिपक्व नभएको प्रति हजुबुवाले सधै दुखेसो ब्यक्त गर्नु हुन्थ्यो । हजुरबुवा र बुवाहरुबीच बेलाबेलामा उनको बिवाह गराईदिने, घर बनाईदिने र उनलाई गरिखान पुग्ने जग्गा उपलब्ध गराएर उनको गृहस्थी जीवन अगाडी बढाइदिने बिषयमा कुरा हुने गथ्र्यो । तर, पछिसम्म पनि उनको ब्यवहारमा भने परिवर्तन आएन ।

मान्छेले केही वाध्यता, बिवसता, या अन्जानमा घर छोड्छ । उनले पनि यस्तै कारणले घर छोडे । उनले घर छोडेको वर्षौ भएको थियो । एक दिन हिउँदे बिदामा घर आएको बेला बुवाले उनलाई मुगु फर्किन आग्रह गर्नु भयो । उनका दाई बिरामी रहेछन् । भाउजुले दाइलाई छोडेर अन्तै पोइल गइछन् । त्यसैले पनि दाईको स्याहार सुसारका लागि उनी आफ्नो गाउँ फर्किनु पर्ने वाध्यता थियो । तर, उनी आफ्नो गाउँ ‘रवा’ फर्किन मानेनन् ।

बुवाले उनलाई धेरै सम्झाउनु भयो । ‘आफु जन्मेको ठाउँमा एकपटक जानु पर्छ । तिम्रो दाई एक्लै छन् । दाइले पनि निकै सम्झेका छन् । हिँड कान्छा, अर्को बिदामा घर आउँदा मसंगै फिर्ता आउनु ।’ बुवाले उनलाई निकै बेर फकाउनु भयो । बुवाको कुरा सुनेर उनी डाको छोडेर रुन थाले । उनी रोएको देखेर हामी पनि रोयौँ । त्यसपछि बुवाले उनलाई गाउँ फर्किने कुरामा थप दबाव दिनु भएन ।

बुवा मुगुमा रहुन्जेल शेरसिहंका परिवार बुवाका माध्यमबाट उनका बारेमा जानकार थिए । बुवाले आफु घर आएका बेला उनका साथीभाई, घर परिवार र आफन्तका बारेमा सुनाउनु हुन्थ्यो । बुवाले उनका गाउँका कुरा गर्दा उनी मख्ख पर्थे । तर, घर जाने कुरा गर्यो कि रुन सुरु भइहाल्थ्यो । त्यसैले पनि उनलाई घर फर्काउन दवाब दिनु भएन ।

अर्घाखाँचीमा उनले एक किसिमको स्वतन्त्र जीवन जिइरहेका थिए । उनीमाथि कसैको दवाव थिएन । उनलाई केही गुमाउनु र केही प्राप्त गर्नु पनि थिएन । कमाएर कसैलाई पाल्नु थिएन । उनी सबैखाले जिम्मेवारीबाट मुक्त थिए । अझ भनौँ एक किसिमको स्वतन्त्र र उन्मुक्त दुनियाँमा रमाएका थिए । आफ्नै लयमा सलल बगिरहेको खोला जस्तै अत्यन्तै सरल र सहज थियो उनको जीवन ।

उनी केही न केही बोलेर सबैलाई हसाईरहन्थे । मनमा छलकपट नभएको, निस्वार्थ भाव भएको मान्छे, त्यसैले पनि उनलाई गाउँलेहरु निकै माया गर्थे ।

उनी गाउँभरिको खबर बुझ्दै हिड्थे । कहाँ धारा बिग्रेको छ? गाउँमा को बिरामी भयो? कसले बच्चा पायो? छोरा जन्मियो कि छोरी? कसको बिहे कोसंग हुँदैछ? कसको मृत्यु भयो? कसका श्रीमान श्रीमतिबीच झगडा भयो? को–को लाहुरे आए? गाउँमा के घटना भयो? आदि इत्यादीको बारेमा उनी जानकारी राख्थे । एका बिहानै छेडाठाँटी बजारमा पुगेर समाचार सुन्थे र त्यही समाचार गाउँभरि सुनाउँदै हिँड्थे ।

उनी हातमा कागजको टुक्रा लिएर पत्रिका पढेको शैलीमा घटनाको बिवरण सुनाउँथे । पढ्न नजान्नेहरु उनले साँच्चिकै समाचार नै पढेका होला भनेर पत्याउँथे पनि । उनको यो शैली धेरैले रुचाए । केहीले मजाकको पात्रका रुपमा पनि लिए । तर, यसमा उनको निर्दोषपना प्रष्टै झल्किन्थ्यो ।

उनी तिहारमा देउसी भैलो खेल्ने क्रममा मारुनी बनेर कम्मर मर्काएर नाच्थे । उनको नाच बेग्लै खालका भएकाले पनि उनको नाच धेरैले रुचाउँथे । उनी बाँसुरी बजाउन खुबै रहर गर्थे । तर, वाँसुरीमा लय मिलाउन जान्दैनथे । तर पनि उनीसंग २/४ वटा बाँसुरी भएकै हुन्थे ।

२०५९ सालताका बुवाको अर्घाखाँचीस्थित सरस्वती माबिमा सरुवा भयो । शेरसिहं घर नफर्कने अड्डी लिएपछि बुवाले २०६३ साल फागुन ११ गते ४३ वर्षको उमेरमा अर्घाखाँचीबाटै उनको नागरिकता बनाइदिनु भयो । तर, ४३ वर्षको उमेरसम्म उनको बिवाह भने हुन सकेन । उनले गृहस्थी जीवन भन्दा पनि फिरन्ते जीवन रोजे ।

२०७४ साल भदौताका उनी नराम्रोसंग बिरामी परे । कुनै पनि औषधी उपचारले उनलाई भेटेन । र ५४ वर्षको उमेरमा उनको मृत्यु भयो । बुवाले आफ्ना साथीमार्फत उनको मृत्यु भएको खबर उनको परिवारसमक्ष पुर्याउनु भयो । त्यतीबेलै थाहा भयो, शेरसिहंको मृत्यु हुनु भन्दा तीन दिन अघि मात्रै उनका दाजुको पनि गमगडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको रहेछ । यसरी शेरसिहं बिकले आफु जन्मेको गाउँ, परिवार र आफन्तलाई कहिल्यै नभेटी मरे ।

संसारमा यस्ता कैयौँ मानिस छन्, जो गुमनाम जन्मिन्छन् र गुमनाम नै मर्ने गर्छन् । शेरसिहं बिक पनि गुमनामै मरे ।

तर, उनले अर्घाखाँचीलाई निकै प्रेम गरेर मरे । उनी सबैको आँखाको नानी भएर मरे । अहिले पनि शेरसिहं बिकलाई अर्घाखाँची र त्यहाँको माटोले सम्झिरहन्छ । उनी हाम्रो दिलमा छन् । हामी सधै सम्झिरहने छौँ शेरु दाई…..