छात्रामाथि अमर्यादित व्यवहार गरेको आरोपमा शिक्षकसहित तीन जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । मोरङको सुन्दरहरैँचा नगरपालिका-१० स्थित सुकुना माध्यमिक विद्यालयमा छात्रामाथि अमर्यादित व्यवहार गरेको आरोपमा शिक्षकसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुन्दरहरैँचा-१० निवासी ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैँचा-२ निवासी ३० वर्षीय किशोरलाल गच्छदार र सुन्दरहरैँचा-१२ निवासी ३५ वर्षीय अबिरल मास्के रहेका छन्।

घटनापछि विद्यालयले आरोपितहरूलाई निलम्बन गरेको छ भने सुन्दरहरैँचा नगरपालिकाले निष्पक्ष छानबिन गरी कानुनी प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनीहरू विद्यालयका शिक्षक तथा कर्मचारी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएका गुनासा तथा प्राप्त उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको हो। अनुसन्धानका क्रममा अन्य व्यक्तिको समेत संलग्नता पुष्टि भए कानुनबमोजिम कारबाही गरिने उनले बताए।

घटनापछि सुन्दरहरैँचा नगरपालिकाले विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीद्वारा जारी विज्ञप्तिमा आरोपित शिक्षक तथा कर्मचारीलाई तत्काल निलम्बन गरी निष्पक्ष छानबिन गर्न विद्यालयलाई निर्देशन दिइएको उल्लेख गरिएको छ।

नगरपालिकाको निर्देशनपछि विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको संयुक्त बैठकले आरोप लागेका प्रदीप भट्टराई, भीमप्रसाद नेपाल र अबिरल मास्केलाई अनुसन्धान नसकिँदासम्म निलम्बन गर्ने निर्णय गरेको विद्यालयले जनाएको छ। विद्यालयका अनुसार नेपाल संगीत प्रशिक्षक, मास्के शिक्षक तथा भट्टराई विद्यालय बसका चालक हुन्।

सामाजिक सञ्जालमा केही छात्राले शिक्षक तथा कर्मचारीबाट अनुचित व्यवहार भएको दाबी गर्दै आफ्ना अनुभव सार्वजनिक गरेपछि आइतबारदेखि घटना सार्वजनिक भएको थियो। त्यसयता नगर बाल सञ्जाल, कानुन विद्यार्थी समाजलगायत विभिन्न संघसंस्थाले निष्पक्ष छानबिन, पीडितको सुरक्षा तथा दोषी प्रमाणित भए कडा कानुनी कारबाहीको माग गरेका छन्।