
काठमाडौँ । नेपालका सविनकुमार दियालीले जोर्डनको अम्मानमा आयोजित एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा कुवेतका खेलाडीलाई पराजित गर्दै उत्कृष्ट सुरुआत गरेका छन्।
जुनियर पुरुष ६० केजीमुनिको प्रतिस्पर्धामा सविनले कुवेतका अलरामजी हसनलाई इप्पोनका आधारमा हराउँदै प्रि-क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका थिए। टिम व्यवस्थापक तथा नेपाल जुडो संघका महासचिव प्रकाशचन्द्र पाण्डेका अनुसार प्रि-क्वार्टरफाइनलमा भने सविन विश्व वरीयताको ४०औँ स्थानमा रहेका काजाकिस्तानका तुर्सिनाली अलिशेरसँग पराजित भए।
सविन बन्दी सहायता नियोग (पाम) का खेलाडी हुन्। उनलाई सूर्यनारायण श्रेष्ठले प्रशिक्षण दिँदै आएका छन्। यस्तै, जुनियर पुरुष ६६ केजीमुनि पहिलो चरणमा ‘बाइ’ पाएका विशेष विक दोस्रो चरणमा विश्व वरीयताको २४औँ स्थानमा रहेका ताजिकिस्तानका खेलाडीसँग खान्सेत्सु-वाजाका आधारमा पराजित भए। विशेषका प्रशिक्षक कविराम घर्ती मगर हुन्।
जुडो युनियन अफ एसिया (जेयुए) को आयोजनामा तथा जोर्डन जुडो महासंघको संयोजनमा सम्पन्न प्रतियोगितामा २० राष्ट्रका १७३ खेलाडीको सहभागिता रहेको थियो।