
काठमाडौं । बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्। प्रहरीका अनुसार, हिमाली गाउँपालिका-५ अन्तर्गत कुवाडी-क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो करिब १ः२५ बजे सु.प्र.प्र. ०१-००१ ज १८७८ नम्बरको जिप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खसेर दुर्घटनामा परेको हो।
दुर्घटनामा जिप चालक हिमाली गाउँपालिका-२ नातीखोला निवासी २५ वर्षीय जनवीर बुढासहित ९ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था मध्यम र पाँच जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। सबै घाइतेलाई उपचारका लागि अस्पताल पठाउने तयारी भइरहेको छ।
दुर्घटनामा घाइते हुनेहरूमा हिमाली गाउँपालिका-२ का ४० वर्षीय धर्मलाल बुढा, ३१ वर्षीया मिजरा बुढा तथा हुम्लाको ताजाकोट गाउँपालिका-५ का ४० वर्षीय अम्मर सिंह बुढा, २० वर्षीया अस्मिता थापा, २८ वर्षीय जंग सिंह बुढा, २० वर्षीय गोरख रोकाया, २७ वर्षीय लोकेन्द्र बुढा र करिब ९ वर्षीया सुस्मा बुढा रहेका छन्।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।