नयाँ बसपार्क गेस्टहाउसमा युवती मृत फेलाः पाँच जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्टहाउसमा मृत भेटिएको युवतीको हत्या भएको हुन सक्ने भन्दै प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका-७ स्थायी घर भई हाल काठमाडौंको माछापोखरी क्षेत्रमा बस्दै आएकी २५ वर्षीया निशा सुनुवारको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले चार पुरुष र एक महिलालाई नियन्त्रणमा लिएको हो ।

काठमाडौं प्रहरी परिसरका एसएसपी दिलिप घिमिरेका अनुसार हत्या हुन सक्ने आशङ्काका आधारमा अनुसन्धान भइरहेको छ। उनले पोस्टमार्टम प्रतिवेदन आएपछि घटनाबारे थप तथ्य खुल्ने बताए।

शव आइतबार गेस्टहाउसको एक कोठामा पलङभित्र लुकाइएको अवस्थामा फेला परेको थियो। प्रहरीका अनुसार साउन ३ गते कोठा सफा गर्ने क्रममा दुर्गन्ध आएपछि गेस्टहाउसका कर्मचारीले प्रहरीलाई जानकारी दिएका थिए। त्यसपछि घटनास्थल पुगेको प्रहरीले पलङभित्र सड्न थालेको अवस्थामा सुनुवारको शव फेला पारेको थियो।

अनुसन्धानका क्रममा गेस्टहाउसको कोठा एक युवकको नाममा बुक गरिएको खुलेको छ। प्रहरीका अनुसार सुनुवार असार २८ गतेदेखि उक्त गेस्टहाउसमा आउजाउ गर्दै बसेको प्रारम्भिक तथ्यबाट देखिएको छ।

प्रारम्भिक परीक्षणमा उनको शरीरमा गम्भीर बाह्य चोटपटक नदेखिए पनि टाउकोको पछाडिको भागमा सामान्य चोट रहेको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन्।

मृतकको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राखिएको छ। पोस्टमार्टम प्रतिवेदनपछि मृत्युको कारण र घटनाको वास्तविकता थप स्पष्ट हुने प्रहरीले जनाएको छ।