शुक्लाफाँटा निकुञ्जमा च्याउ टिप्न गएका सबै भेटिए

दियोपोस्ट संवाददाता

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका सबै १७ जनाको उद्धार भएको छ । आइतबार अपराह्नदेखि हराएका उनीहरूलाई सोमबार मध्यान्ह १२ बजे उद्धार गरिएको हो ।

आइतबार बिहान खाना खाएर जङ्गली च्याउ खोज्न गएका स्थानीय १७ जनाको महिलाको समूह बाटो बिराएर जङ्गलमै हराएका थिए । महिलाका परिवारका सदस्यहरूले आइतबार साँझ ९ बजे प्रहरी र स्थानीय प्रशासनलाई खबर गरेपछि नेपाली सेना, नेपाल प्रहरी लगायतको टोलीले खोजी सुरु गरेको थियो ।

आइतबार रातभर खोज्दा पनि नभेटिएका उनीहरूमध्ये ३ जनालाई सोमबार बिहान नेपाली सेनाले उद्धार गरेको थियो । बाँकी १४ जना महिलाहरू हराइरहेकामा सोमबार मध्यान्ह १२ बजे फेला पारिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले दियोपोष्टलाई बताए ।

प्रमुख जिल्ला अधिकारी कोइरालाका अनुसार हराएकामध्ये ३ जनालाई सोमबार बिहानै नेपाली सेनाले उद्धार गरेकामा बाँकी १४ जना महिलाहरू मध्यान्ह १२ बजेको आसपास सम्पर्कमा आइपुगेका हुन् ।

आइतबार पानी परेको कारण बाटो बिराउँदा उनीहरू हराएका थिए ।

राति अबेरसम्म पनि परिवारको सम्पर्कमा नआएपछि नेपाली सेना र नेपाल प्रहरीलाई खबर गरिएको थियो । त्यसपछि सेना र प्रहरीले उनीहरूको खोजी कार्य सुरु गरेको थियो ।

आइतबार रातिको खोजमा उनीहरू फेला नपरेपछि सोमबार बिहानैदेखि ड्रोनसमेतको प्रयोग गरेर खोजी सुरु गरिएको थियो । खोजीकै क्रममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका सहसेनानी सुमन केसीको टोलीले सोमबार बिहान शुक्लाफाँटा निकुञ्जभित्र जङ्गलमा बेल्डाडी गाउँपालिका–२ की लक्ष्मी थापामगर, सीता चौधरी र मञ्जु राना क्षेत्रीलाई उद्धार गरी परिवारको जिम्मा लगाएको थियो । उनीहरूलाई निकुञ्जभित्रको लल्लेरी पोस्टबाट करिब चार किलोमिटर टाढा फेला पारिएको थियो ।

सोमबार मध्यान्ह सम्पर्कमा आएका महिलाहरु पनि सकुशल रहेको प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए । उनीहरू रातभर एकै स्थानमा रुखमुनि ओत लागेर बसेका थिए । उनीहरू सबै सकुशल रहेको र आफूले भर्खरै भेट गरी फर्किएको प्रजिअ कोइरालाले बताए ।