
काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका-१९ का १४ जना महिला सम्पर्कबिहिन भएका छन् । आइतबार बिहान करिब ११ बजे च्याउ टिप्न गएको उनीहरु सम्पर्कविहीन भएका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार भीमदत्त नगरपालिका-१९ को दशरथ टोलका ती महिलाहरू दुई समूहमा विभाजित भएर च्याउ टिप्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जतर्फ गएका थिए। उनीहरूमध्ये एक समूहमा ९ जना र अर्को समूहमा ५ जना रहेका थिए।
निकुञ्जको मालुमेला पोस्टबाट जंगल प्रवेश गरेका सम्पर्कविहीन महिलाहरूमा सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार रहेका छन्।
डीएसपी रावतका अनुसार उनीहरूको खोजी कार्य तीव्र रूपमा जारी रहेको छ।