
काठमाडौं । जापानको आइची-नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुद (एसियाड)को तयारीस्वरूप वैदेशिक प्रशिक्षणका लागि नेपालका राष्ट्रिय च्याम्पियन टेबलटेनिस खेलाडी संयोग कपाली र योङ्गी पौडेल दक्षिण कोरियाको सिओल प्रस्थान गरेका छन्।
अखिल नेपाल टेबल टेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनका अनुसार दुवै खेलाडी जुलाई १८ देखि अगस्ट १८ सम्म सिओलस्थित डोक्सान हाई स्कुलमा सञ्चालन हुने एकमहिने विशेष प्रशिक्षणमा सहभागी हुनेछन्।
उनका अनुसार सन् १९८८ को सिओल ओलम्पिककी स्वर्ण पदक विजेता याङ यङ्जाको निमन्त्रणामा नेपाली खेलाडीहरू उक्त प्रशिक्षणमा सहभागी हुन लागेका हुन्।
प्रशिक्षणका क्रममा संयोग र योङ्गीले दक्षिण कोरियाका उत्कृष्ट खेलाडीसँग नियमित अभ्यास गर्ने अवसर पाउनेछन्। साथै, दक्षिण कोरियाको राष्ट्रिय टेबलटेनिस टोलीका खेलाडी तथा प्रशिक्षकसँग भेटघाट, प्रशिक्षण सत्रको अवलोकन र अनुभव आदानप्रदान गर्ने अवसरसमेत प्राप्त गर्नेछन्।
उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ तथा अखिल नेपाल टेबल टेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनले सफल प्रशिक्षण र आगामी एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शनको शुभकामना दिँदै बिदाइ गरेका थिए।
आगामी एसियाडका लागि टेबलटेनिसबाट संयोग र योङ्गीसहित कुल ६ खेलाडी छनोट भइसकेका छन्। बाँकी चार खेलाडीलाई पनि वैदेशिक प्रशिक्षणमा सहभागी गराउन आवश्यक पहल भइरहेको कोषाध्यक्ष महर्जनले जानकारी दिएका छन्।