कङ्गोमा इबोला भाइरसको प्रकोप भयावह बन्दै, मृतकको संख्या ९३० पुग्यो

दियोपोस्ट संवाददाता

काठमाडौँ । कङ्गोमा फैलिएको इबोला भाइरसको प्रकोप भयावह बन्दै गएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार प्रकोपका कारण हालसम्म कम्तीमा ९३० जनाको मृत्यु भएको छ भने देशभर दुई हजार ३४४ जनामा सङ्क्रमण पुष्टि भएको छ।

मन्त्रालयले शनिबारसम्मको विवरण सार्वजनिक गर्दै पछिल्लो २४ घण्टामा मात्रै ३७ जनाको मृत्यु भएको जनाएको छ। यो एकै दिनमा भएको उच्च मृत्युमध्ये एक मानिएको छ।

गत मे १५ मा पूर्वी कङ्गोमा घोषणा गरिएको इबोलाको यो प्रकोप हालसम्मकै तीव्र गतिमा फैलिएको संक्रमणमध्ये एक भएको अधिकारीहरूले बताएका छन्। यसपटक देखिएको ‘बुन्डिबुग्यो’ प्रजातिको इबोला भाइरस अन्य प्रकारको तुलनामा कम देखिने भए पनि यसको रोकथामका लागि हालसम्म स्वीकृत खोप वा प्रभावकारी उपचार उपलब्ध छैन।

सबैभन्दा बढी प्रभावित इतुरी प्रान्तमा सुरक्षा चुनौतीका कारण रोग नियन्त्रण र उपचारका प्रयास प्रभावित भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार प्रकोप सुरु भएयता स्वास्थ्य केन्द्र तथा उपचार टोलीमाथि कम्तीमा १२ वटा आक्रमण भइसकेका छन्।

यस्तै, तलब नपाएको विरोधमा केही स्वास्थ्यकर्मीले काम छाडेका छन्। इबोला सङ्क्रमणका कारण हालसम्म कम्तीमा ३६ जना स्वास्थ्यकर्मीको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ।

हाल ७२४ जना सङ्क्रमित आइसोलेसन तथा अस्पतालमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ। प्रभावित क्षेत्रमा रोग नियन्त्रण, सङ्क्रमितको उपचार तथा निगरानीलाई थप प्रभावकारी बनाउन प्रयास तीव्र पारिएको जनाइएको छ।