घुस प्रकरणबारे वडाध्यक्ष सापकोटाको खण्डन : ‘वडाबासीको आमा हुँ, मैले एक पैसा खाएको छैन’

दियो पोस्ट  

काठमाडौं, २६ भदौ । गत सोमबार अर्थात भदौ २१ गते काठमाडौं महानगरपालिका वडा नम्बर १४ का वडा सदस्य बसन्त महर्जन २ लाख घुससहित पक्राउ परे ।

खसि बजारस्थित वडा कार्यालय भवन नजिकै रहेको ‘न्यु कान्तिपुर तन्दुरी भोजनालय’बाट उनी २ लाख रुपैयाँसहित पक्राउ परेका थिए । वडासदस्य महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरि मालपोत तथा भूमि व्यवस्था कार्यालयलाई पठाइदिन्छु भन्दै सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको आरोप छ ।

वडा सदस्य महर्जनले आफू आरोपबाट उन्मुक्ति पाउन वडाध्यक्ष शोभा सापकोटाको समेत बयानमा नाम पोलेको विषयमा दियोपोस्टमा खबर प्रकाशित भएको थियो । उक्त समाचारको खण्डन गर्दै वडाध्यक्ष सापकोटाले घटनाको विवरण यसरी सुनाइन् ।

स्थानिय सरकार सञ्चालन ऐन अनुसार जन्मदेखि मृत्युसम्मका सिफारिस र कागजातहरु वडाबाटै बन्ने गर्छन् । सबै कागजातहरु वडा अध्यक्षले सही गरेपछि मात्र स्वीकृत हुन्छन् । म कहाँ आउने हरेक निवेदन मैले हेरिसके पछि प्रकृयाका लागि वडा सचिवलाई सिफारिस गर्ने चलन छ । सबै निवेदनहरु मैले केलाएर हेर्न पनि भ्याउँदिन । हाम्रो आ–आफ्नो तह र आ–आफ्नै फाँट छ । हामी सबैको आ–आफ्नै जिम्मेवारी छ । जन्म दर्ता, मृत्यु दर्ता, नाता प्रमाणित, बसाई सराई, नापी र नक्सा पास जस्ता काम वडामै हुने गर्छन ।


नियम अनुसार हुने जनताका हजारौँ सिफारिस र कागजातहरु हामीले बनाएर पठाएका पनि छौँ । उक्त काम गर्नका लागि लेखाले तोकेको निश्चित दस्तुर तिरेपछि पुग्छ । त्यसको पनि छुट्टै मापदण्ड छ । जनताका कामका लागि तोकेको दस्तुर बाहेक बढी रकम लिन मिल्दैन ।
सिफरिसका लागि कागज पत्र जुटाउने, काम गर्न मिल्छ या मिल्दैन भनेर हेर्ने, कागजात पुग्छ कि पुग्दैन भनेर हेर्ने वडा सचिवले हो । काजगात अध्ययन गरेर बस्ने फुर्सद मसंग हुँदैन । हामी त जनताकै सेवामा ब्यस्त हुन्छौँ ।


२१ गतेको घटना यो मृत्यु दर्ता र नाता प्रमाणितसँग सम्बन्धित छ । २१ नं. वडाबाट बसाई सरेर १४ नम्बरमा आएको ब्यक्तिको मृत्यु भएपछि दर्ता र मृतकसंग नाता प्रमाणित गरि जग्गामा नामसारी गर्ने बिषय रहेछ । सेवाग्राही नाता प्रमाणित गर्न कहिलेदेखि आउनु भयो भन्ने पनि मलाई थाहा छैन । सबै सेवाग्राहीलाई हामीले चिन्ने कुरा पनि भएन । उहाँ म कहाँ पनि आउनु भएको रहेछ । तर उहाँ नै हो भन्ने कुरा मैले पछि मात्र थाहा पाएँ । मैले उहाँको कामका लागि वडा सचिवकहाँ पठाएकी थिएँ ।


सचिवले सबै कागजात अध्ययन गरि सम्बन्धित फाँटमा पठाउनु हुन्छ । त्यस फाँटबाट पनि स्वीकृत भएर आएपछि पूनः सचिवले अध्ययन गरि सही गर्नका लागि मकहाँ पठाउनु हुन्छ । मैले पनि सही गरेर पठाएको हो । म त टेबुलमा बसेर काम गर्ने मान्छे हो । सबै कागज पत्र जुटाउने भनेको प्रशासनले हो । प्रशानको काम मैले गर्ने पनि होइन ।


सबै प्रकृया पुर्याएपछि मात्र हामीले मृतकसंग नाता प्रमाणितको कागज बनाएर पठाएका हौँ । त्यसको भोलिपल्ट सोही यही विषयमा वडा सदस्य बसन्त महर्जनले २ लाख घुस लिएको र अख्तियारले रंगेहात पक्राउ गरेको समाचार सुन्नमा आयो ।


जुन कुरा मलाई थाहा नै छैन । एक्कासी समाचार आए पछि म त छाँगाबाट खसे जस्तै भएँ । त्यसमा मेरो पनि नाम मुछिएको रहेछ । खाँदै नखाएको बिषले मलाई ज्यूँदै मारे जस्तै भयो । म त १४ नम्बरका जनताको आमा हुँ । कुनै आमाले आफ्ना सन्तान माथि घात गर्न सक्छ र ? मेरो परिवारको एक जना सदस्यले गल्ती गरेको छ, त्यसमा मेरो नाम मुछिएको छ, मलाई निकै नमज्जा लागेको छ ।


त्यसको भोलि पल्ट मैले सबै कगजात हेरेँ । हामीले कुन–कुन फाइलमा सही गरेका रहेछौँ त ? भनेर मैले सबै स्टाफलाई बोलाएर कागजात मगाएँ । सबै फाइल हेरेँ । मृतकसंगको नाता प्रमाणित सम्बन्धि सबै फाईल हामीसंग थियो । तर हामीले नहुने काममा सही गरेकै रहेनछौँ । त्यसपछि मलाई ढुक्क भयो । मैले कुनै कसुर गरेकै छैन । घुस लिएर काम गरेको कुनै प्रमाण छैन । साँँच्चिकै समाचारमा भनिए जस्तै मेरो गल्ती भेटिएन । मैले जानी जानी कुनै गल्ती गरेकी रहेनछु ।


यतीबेला हाम्रो वडा सदस्यलाई अख्तियारले पक्राउ गरेको छ । घुस काण्डमा उहाँ उक्राउ पर्दा मलाई नमिठो अनुभुती हुने नै भयो । त्यसमाथि झनै मेरै नाम मुछिए पछि मलाई साह्रै पीडा भयो । मैले भ्रष्ट्राचार गर्दिन र भ्रष्ट्राचार हुन दिन्न भनेर कसम खाएर आएकी हुँ । मलाई यसै कारण पनि यहाँका जनताले भोट दिएर पठाएका हुन् ।


तर मेरै वडामा यस्तो काण्ड भएछ । यसले मेरो राजनीतिक जीवनमा असर पर्न पनि सक्छ । नैतिकता र आचरण सबैभन्दा ठूलो कुरा हो । हामीले नैतिकता गुमाएर आफैलाई भोट हालेर जिताएका जनतासंग घुस लिनु सबैभन्दा ठुलो अपराध हो । जुन अपराध मैले गरेको छु भने पनि सजायको भागिदार हुनुपर्छ ।


तर वडा सदस्य बसन्त महर्जनले किन र कसरी पैसा लिनु भयो, मलाई केही पनि थाहा छैन । उहाँले म र सिंगो १४ नम्बर वडाको बदनाम गर्नकै लागि यस्तो गर्नु भएको हो भने पनि हामी यस्तो हुन दिदैँनौ ।


म महिला भएकै कारण यस्तो लाञ्छना लगाइएको हो की भन्ने पनि लाग्यो । यदी म भित्र जवानी हुन्थ्यो भने मेरो नाम अन्य परपुरुषसंग जोडिन्थ्यो होला । म त नाती नातिनीको हजुरआमा । कसैसंग मेरो नाम जोड्न नसकेर घुसको आरोप लगाइएको हो कि ? म महिला हुँ, त्यस कारण मलाई फसाउन खोजिएको हो भन्ने प्रष्ट छ ।


अब केही समयमा स्थानीय निकायको चुनाव पनि आउँदैछ । अर्को चुनावमा मलाई हतोत्साहित गर्नकै लागि अथवा मलाई अगाडी आउन नदिनकै लागि यस्तो गरिएको हो कि भन्ने पनि लाग्यो । तर मैले कुनै पनि हालतमा गल्ती गरेकी छैन ।


मैले दिन रात नभनी जनताको सेवामा खटिएकी छु । लकडाउनका समयमा समेत म एक दिन आराम नगरि जनताको घर घरमा गएर काम गरेकी छु । कोरोनाबाट मृत्यु हुनेका शव ब्यवस्थापन, होम आइशोलेसनमा बसेका बिरामीको औषधी उपचार र राहतमा रात दिन नभनी खटिएका छाँैैँ । लकडाउनमा पैसा र खाद्यान्नको अभावमा खान नपाएका सयौँ गरिब परिवारलाई खाद्यान्न तथा राहत वितरणगरि उनीहरुलाई सहयोग गरेका छाँै । कोरोना बिरुद्धको खोप ब्यवस्थापनका लागि खटिएका छौँ ।


म जनताप्रति समर्पित छु । सधै जनताकै माया र विश्वासले मलाई थप उर्जा मिलेको छ । मलाई जनताबाट घुस लिनु पनि छैन । यदि कसैले घुस लिएको र दिएको प्रमाणित हुन्छ भने प्रचलित कानुन अनुसार कारवाही होस् ।


मेरो वडालाई नमुना वडा बनाउनका लागि मैले कुनै कसर बाँकी रोखेकी छैन । वडा भवन बनाउने सवालमा पनि मैले निकै मेहनत गरेकी छु । यस्ते ठुलो भवन निर्माण गर्दा समेत हामीले एक रुपैँया घुस खाएनौँ । सबै हिसाब हामीसंग पारदर्शी र प्रष्ट छन् । आफ्नो ब्यक्तिगत जीवनभन्दा पनि जनताको हितलाई केन्द्रमा राखेर काम गरेको मान्छेलाई बिना प्रमाण घुस आएको आरोप लगाइनु कत्तिको जायज हो ?


यस्तो खालको गलत प्रचार र चरित्र हत्याले मेरो ब्यक्तिगत तथा राजनीतिक जीवनलाई असर पुग्न सक्छ । मलाई यस कुराले साह्रै चित्त दुखेको छ । दियो पोष्टमा गत हप्ता प्रकाशित समाचारप्रति मेरो गम्भिर ध्यानाकार्षण भएको छ । जुन समाचारमा मेरो समेत नाम जोडेर वडा अध्यक्षको समेत मिलेमतोमा वडा सदस्यले २ लाख घुस खाएको उल्लेख छ । उक्त घुस काण्डमा मेरो कुनै संलग्नता छैन भन्ने कुरा स्पस्ट पार्न चाहान्छु । म यस समचारको खण्डन गर्न चाहान्छु ।

वडा सचिव निर्मला सुवेदी भन्छिन्,‘ अध्यक्ष ज्यूले मैले सही नगरि ओसीमा सही गर्नु हुन्न ‘


नहुने काम होइन । हुने काम भएकाले हामीले प्रक्रिया पुरा गरेर कागज बनाएर पठाएका हौँ । मलाई त्यत्तीमात्र थाहा छ । सेवाग्राहीले नियम अनुसार राजस्व बुझाउने बाहेक बढी रकम तिर्नुपर्दैन । राजस्व नतिरी चलानी गर्ने नियम नै छैन । महानगरले कुन सिफरिका लागि कती पैसा लिने भनेर दर रेट तोकेको हुन्छ । त्यो अनलाईनबाट पनि हेर्न मिल्ने सुविधा छ । राजस्व तिरेपछि मात्र मैले ओसीमा सही गर्छु । डकुमेन्ट सहि गर्छु । त्यसपछि अध्यक्ष ज्यूले सहि गरेपछि मात्र चलानी गरेर पठाउछौँ । दस्तुर नतिरी चलानी पनि हुँदैन र ओसीमा सहि पनि हुँदैन ।


मैले बुझे अनुसार जेन्युन काम हो । हामीले जे गर्नु पथ्र्यो त्यही गरेर पठाएका हौँ । वडा सदस्यले त्यही काम गरिदिए वापत २ लाख लिनु भएको भन्ने समाचार आयो । मलाई त केही पनि थाहा छैन । उहाँले त्यही कामका लागि लिनुभयो या अन्य लेनदेनको बिषय हो, मलाई केही पनि थाहा छैन । सेवाग्राही वडा वसन्त महर्जनको आफ्नै साथी हो रे, भन्ने पनि सुनियो । त्यो पनि मलाई थाहा छैन ।


हामी त कर्मचारी हौँ । कर्मचारीले त्यस्तो बार्गेनिङ गर्ने कुरा पनि हुँदैन । अध्यक्ष ज्यूले मैले सही नगरि ओसीमा सही गर्नु हुन्न । डकुमेन्ट हेरेर मैले दिलो ज्यानले भ्याएसम्म त्यो डकुमेन्ट हेरेर, केलाएर मात्र काम गर्छु । गर्दा गर्दै कुनै स्कीप भयो भने त आफ्नो ठाउँमा छ । हामी त्यसलाई सुधार्ने प्रयास गर्छौ । तर यो केशमा चाँही हामीले जेन्युन काम गरेको हो ।

मैले गरेको भएर वडा अध्यक्ष ज्यूले बिस्वास गरेर सहि गरेर पठाउनु भएको हो । तर सदस्य ज्यूले के काममा पैसा लिनु भयो, कसरी लिनु भयो भनेर हाम्रो वडाका कुनै पनि फइलमा रेकर्ड छैन । पैसा लिएको कुनै प्रमाण नै छैन ।


उहाँहरुको पैसा सापटीको कुरा हो भन्ने पनि सुनिएको छ । तर, सापटीको कुराले सिंगो वडालाई मुछ्न नमिल्ने हो । त्यसमा अध्यक्ष ज्यूको पनि नाम जोडिएको छ । उहाँ जस्तो निश्कलंक ब्यक्तिलाई यस्तो आरोप लाग्दा हामी त चकित छौँ ।

अनलाईन पत्रिकाबाट यस्तो खालको समाचार आउँदा महिलाले नेतृत्व गरेको संस्था र सिंगो नेतृत्व माथि नै प्रश्न उठेको छ । महिलाको बदनाम गर्ने नियतबस यस्तो समाचार आएको हो कि भन्ने पनि लाग्यो ।