नेपालमा राजनीतिक दलहरू विखण्डन र विघटनको दाउमा छन् । सानाठूला सबैमा यो समस्या देखिन्छ । दलहरूले आफूले प्रतिनिधित्व गर्ने भनी दावी गर्ने सामाजिक वर्गसँगको सम्बन्ध टुटेको छ । पार्टी र समुदायबीचमा खाडल महसुस हुन्छ ।
पार्टीलाई जीवित राख्न समय–समयमा आंशिक विघटन र पुनर्गठन गर्ने साहस चाहिन्छ । महाधिवेशन मात्रले अवस्था बदल्दैन । पुराना नारा र कार्यहरू अहिले धेरैहदसम्म परिवर्तन गर्नुपर्ने आवश्यकता छ । मुद्दा र रणनीतिलाई नयाँ सन्दर्भअनुसार पुनर्लेखन गर्नुपर्छ ।
गणतन्त्र कागजमा मात्रै सीमित रह्यो वास्तविक जीवन र समाजको तलसम्म पुग्न सकेन । यसको असर जात, लैंगिक दृष्टिकोण र समुदायस्तरमा स्पष्ट छ । अहिलेका पार्टीहरू यथास्थितिवादी छन् । चालु आर्थिक प्रणालीले पूँजीपति र दलालहरूको हित मात्रै गर्छन् । जनस्तरका किसानरमजदुरहरूको हित हुँदैन । त्यसैले नीतिगत आर्थिक प्रतिस्थापन र राजनीतिक पुनर्गठन अपरिहार्य छ ।
तपाई आफैपनि माओवादीको नेता हुनु हुन्थ्यो । माओवादी आज विघटनसम्म पुग्नुको मुख्य कारण के होे ?
स्वाभाविक रूपमा कमजोरी पहिले पनि थियो, तर ०६३/६४ एउटा निर्णायक मोड थियो । त्यो मोडमा पुरानो तरिकाले अगाडि बढ्न सकिँदैनथ्यो, सशस्त्र ढंगले अघि बढ्न असम्भव थियो।
त्यतिबेला हामीसँग तीन विकल्प थिएः केही साथीले सशस्त्र बाटो निरन्तरता दिनुपर्ने ठाने, केहीले विद्यमान संसदीय व्यवस्थामा बस्ने प्रस्ताव राखे, तर सबैभन्दा जरुरी थियो तेस्रो बाटो खोज्नु निशस्त्र, तर जुझारु र सशक्त बाटो । त्यो विकल्प लागू हुन सकेन ।
त्यतिबेला मूल ध्यान सोँच, चरित्र र शिक्षा प्रणाली परिवर्तनमा हुनु पथ्र्यो । यदि ०६३/६४ मा वैज्ञानिक शिक्षा प्रणाली सुरु गरिएको भए, आज २०८२ मा पुग्दा एक वर्षको नानी पनि अहिले १८÷२० वर्षको जवान भइसक्थ्यो । उसले कम्तिमा उन्नत शिक्षा हासिल गर्न पाउँथ्यो । पाठ्यक्रममा पितृसत्तामा आधारित सोच हटाएर, अन्धविश्वासको सट्टा विज्ञान समावेश गरिएको भए, आज विज्ञान सबै क्षेत्रमा विकास भइसकेको हुन्थ्यो ।
तर व्यवहारमा के भयो भने, सडक पूर्वाधारको नाममा पैसा गडबडी गर्ने तिर बढी ध्यान गयो ।
नेतृत्व विकासको अभियानबाट सुरु भएको माओवादी किन प्रचण्ड–केन्द्रित पार्टी बनेर नेतृत्व संकटमा फस्यो र अनन्त विघटनको संघारमा पुग्यो ?
माओवादीले विकास गर्नुपर्ने प्रणाली निर्माण गर्न सकेन । जातीय मोर्चा बनाएर अध्यक्ष तोक्दा त्यसलाई जनतान्त्रिक शैलीमा सञ्चालन नगरेकोले अध्यक्ष सरदारजस्तो भूमिका ग्रहण गर्यो । हुनुपर्ने थियो फ्रम–बटम टु–टप प्रणाली, जहाँ तलका कमिटी शक्तिशाली हुने र माथिल्ला कमिटीमा आफ्ना प्रतिनिधि पठाउने । त्यो नभएको कारण नेतृत्व संकट देखा प¥यो ।
माओवादीले सिमान्तकृत समुदाय, महिलाहरू, दलित, जनजाति र लोपोन्मुख समूहका प्रतिनिधि नेता बनायो, तर उनीहरूको निरन्तर विकास र प्रणालीगत सहभागिता सुनिश्चित गर्न सकेन । माक्र्सवादले जिज्ञासा, प्रश्न र सृजनशीलता विकास गर्न सिकाउँछ, तर पार्टीभित्र वैचारिक बहस, तर्क–वितर्क र प्रश्न गर्ने संस्कृति समाप्त भयो । बैठकहरू पनि नेतामुखी बन्यो । नेता बोल्छन्, अरू सुन्छन्, प्रश्न हुँदै नहुने ।
माओवादी विचारधारा पूर्ण रूपमा स्थलित भइसकेको छ । अहिले नेपालका एमाले, माले, समाजवादी लगायत हामी सबै माओलाई नै एकपटक मान्नेहरु हौँ । सबै माओबाटै शिक्षा लिएकाहरु हौँ । माओबाट शिक्षा लिएको दावा गर्ने पार्टीहरु जो संसदीय राजनीतिमा गए र जो हिंसामा गए दुवै अहिले बिलोप भएको स्थिति छ ।
एक समय प्रचण्डको यति ठुलो प्रभाव थियो कि नेपालमा केहिले विरोध गरे पनि ठुलो हिस्साले उहाँको अनुकरण गर्थे । तर, जब मान्छे लगजरीको लाइफ बिताउन थाल्छ नि त्यो मान्छे कमजोर हुन्छ । एक हिसाबले अपाङ्ग जस्तो हुन्छ । असाध्यै सुविधामा बस्ने बानी परेपछि उ एकदिन पनि असुविधामा गएर टिक्न अड्न सक्दैन । हाम्रो पनि स्थिति त्यही भयो ।
हिजो जुन गाउँ घरमा सुकुलमा चकटीमा हामीसुत्न सक्थ्यौ, जस्तो प्रकारको खाना खान सक्थ्यौ, जस्तो ठाउँमा हामी नुवाइधुवाँई गथ्र्यौ, त्यो स्थितिबाट हामी धेरै माथि उठिसक्यौँ । सरसफाई हुनु एउटा राम्रो कुरा हो । तर, यहाँ आएर हामीले स्वच्छ र सरल जीवन कस्तो हुन्छ भन्ने देखाउन सकेनौँ ।
जनताले त नेतालाई हेरिराखेका छन् । जस्तो गान्धीले बेलायतमा पढ्दा अवश्य टाई सुट लगाएरै पढे । तर, उनले भारत आइसकेपछि चाहिँ धोती लाउन थाले । होची मिन्हको थोत्रो कोट ‘सिम्बोल’ बन्यो । माओत्तुङको ज्याकेट ‘सिम्बोल’ बन्यो । किनभने उनीहरुले आफ्नो त्यो सादगीलाई मेन्टेन गरेर साधा जीवन बिताइरहे । जसले गर्दा करोडौ करोड जनतासँग उनीहरुले कम्युनिकेट गर्न सके । तर, हाम्रो जीवन शैली एकदमै आलोच्य बन्यो । माओवादी पारदर्शी बन्नु पथ्र्यो, त्यो हुन सकेन ।
नेताहरुको बिलासिताको जीजनशैलीप्रति प्रश्न उठ्न थालेको हो । हामीले सोध्न डरायौँ । हामी चाहिँ हाम्रो पद जान्छ कि, भनेर डरायौँ । तर युवाहरुले बोल्दिए । भ्रष्ट छ नेताहरु भनेर ।
तपाईले भदौ २३ र २४ गतेको जेनजी विद्रोहलाई कसरी हेर्नुहुन्छ ?
भदौ २४ को हिंसा सबै विदेशीले गरेको भन्ने कुरा गलत हो । त्यो हिंसा वास्तवमा नेपाली जनताको आक्रोश थियो, र यसको कारण राजनीतिक पार्टीहरू हुन् । पार्टीहरू समुदायबाट टाढा भए, समुदाय असन्तुष्ट भयो र आक्रोशित भयो ।
नेताहरूलाई लागेको थियो कि पार्टीहरु हामी मिलेकै छौँ, सरकार बनाएकै छौं । कहिले कांग्रेस र एमाले, कहिले माओवादी र एमाले सबैको समझदारी भएपछि प्रतिरोध गर्ने कोही बाँकी रहँदैन । तर, जेनजी आन्दोलनले सबै पार्टीहरूलाई चुनौती दियो, नेताहरू भागाभागमा परे।
भदौ २४ को हिंसा माओवादीले गरेको होइन । नेपालका महिला, दलित, मधेसी, जनजाति, मुस्लिम र अन्य उत्पीडित वर्गले माओवादीको कुरा सुन्थे । उनीहरूलाई प्रशिक्षण र मार्गदर्शन गरेर नेतृत्वमा ल्याउनु आवश्यक थियो, त्यो माओवादीले पूरा गर्न सकेन ।
भदौ २४ गते जेनजी आन्दोलनमा केही नेताका घरहरु पनि जले । त्यो आगो जेनजी होइन अरुले लगाएको भन्छ तपाई के भन्नुहुन्छ ?
आगो लगाउने जिम्मा वास्तवमा ती केटाकेटीहरूको थिएन । यदि उनीहरूको आन्दोलन स्वतन्त्र रहन दिएको भए, २४ को विध्वंस रोक्न सकिन्थ्यो । ती दिन पनि केटाकेटीहरू जुट्थे, आन्दोलनको समिक्षा गर्थे, रणनीति तय गर्थे र माग थप्दै लैजाने थिए । महिला, मजदुर, किसान, व्यापारी, कर्मचारी, पत्रकारले समर्थन गर्दै आन्दोलन बलियो बन्दै जान्थ्यो र राजनीतिक पक्ष थपिदै जान्थ्यो ।
तर दुर्भाग्य, सरकारले सुरुमा नै बालबालिकालाई गोली हानी आन्दोलन दबायो । त्यसले प्रतिहिंसा जन्मायो, जसमा को–को सहभागी भए, के–के भयो, त्यो सरकारले छानविन गर्नुपर्ने विषय हो ।
त्यसैले यो आगो न्यायपूर्ण कारणले लिइएको छैन् । सिंह दरबारमा आगो किन लाग्यो ? नेतृत्वमा जिम्मेवार वर्गले कस्तो चरित्र निर्माण गर्यो ? आगो लगाउने, उफ्रिने मानिसहरू सम्भ्रान्त वर्गका होइनन्, यी सबै आधारभूत वर्गका हुन् । ती वर्गमा नेगेटिभ विचार कसरी पैदा भयो भन्ने गम्भीर अध्ययन आवश्यक छ ।
प्रचण्डले एकीकृत समाजवादी लगायतका दलहरुसँग एकता गरिसक्नुभयो । यो एकताको बारेमा तपाईको धारणा के छ ?
त्यो एकता हाम्रो मर्मअनुसारको छैन् । जेनजी पुस्ताका नानीहरूको सबैभन्दा ठुलो माग भ्रष्टाचार नहोस् भन्ने थियो, तर देशको मुख्य रोग नै भ्रष्टाचार हो। भ्रष्टाचारको मुद्दा लागेका व्यक्तिसँग एकता भयो । जेनजी आन्दोलनको सन्देश उपेक्षित रह्यो।
अब नयाँ विचार र नयाँ सोचको आधारमा मात्र एकता गर्नु उपयुक्त हुन्छ । पुराना पार्टीहरूले फेरि गडबडी गरेर जनतालाई बेवकुफ बनाउने छुट छैन् । एकीकृत अभियान र आन्दोलन अघि बढाउँदा, विगतका गल्ती स्वीकार गर्नुपर्छ र दोहोरिन नदिन प्रतिज्ञा गर्नुपर्छ ।
जनताको अगाडि आफैलाई धुनु, आत्मालोचना गर्नु, नयाँ विचार प्रस्तुत गर्नु यही संगठनको नयाँ सिद्धान्त र एकीकृत आन्दोलन सृष्टिको सही बाटो हो ।
(दियो विशेष संवादमा राम कार्कीले राखेका कुरामा आधारित)
भिडियाे :